• मंसिर १५ २०८१, शनिबार

नाराको पछि दौडेको देश

मंसिर १२ २०७८, आईतवार

नाराको पछि दौडेको देश, सुन्दर छ नेपाल
नेताका बानी व्यहोरा हेर्दा चड्किन्छ कपाल ।

कसैले भने स्विट्जरल्याण्ड हुन्छ दुईचार वर्षमा
होला कि ! भनि पर्खेर बसे नेपाली हर्षमा ।

पाँच वर्षपछि सहरमा हेर्दा फोहोरका थुप्रा छन्
गाँउको स्थिति के सुधार भयो ? खरका छाप्रा छन् ।

देश हो कृषि प्रधान हाम्रो, तैपनि खान पुग्दैन
आयात नब्बे, निर्यात नौ तैपनि पुग्न सक्दैन ।

नारा छ आत्मनिर्भर गर्ने स्वरोजगारको
हजारौं दैनिक विदेश जान्छन् यो देश शुन्य भो ।

वृद्ध र वृद्धा निरिह निर्धा मात्र छन् देशमा
ती माथि शासन गर्दछन् भ्रष्ट नेताको भेषमा ।

नारा छ अर्को समृद्ध नेपाल र सुखी नेपाली
महँगी बढ्यो चरमचुली जनता कंगाली ।

बाजेको चिनो खड्करो खायो डाडुले तानेर
ढ्वाङ माथि चढी कुर्लन्छ नेता समृद्धी ठानेर ।

सानालाई ऐन ठूलालाई चैन भ्रष्टलाई भकारी
जनताका नाउँमा जनता चुस्ने झुसिलो डकारी ।

ललिता, लाउडा, सुनका बोरा सत्तरी करोड खेल
यही देशमा हुन्छन् प्रकरण ठूला नेताले गर्ने झेल ।