काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओलीसत्र चलिरहेको टिप्पणी गरेका छन्।
आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले उक्त टिप्पणी गरेका हुन्।
नेता थापाले भने, ‘बन्द सत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो। त्यो पनि बन्दसत्र होइन, एक प्रकारले ओलीसत्र नै चलिरहेको थियो। मैले बिहान जे भनेको थिएँ, कि नारायणीको किनारमा त्यहाँ कोही पनि मानिस स्वतन्त्र भएका छैनन्। त्यहाँ प्रतिस्पर्धा चलिरहेको छ। त्यो प्रतिस्पर्धामा भाग लिन्नँ भनेर एकजना उठेछन्, भीम रावल। भीम रावलले झन्डै भकुराइ र पिटाइ खाएर अहिले हाम्रो प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको छ। विधिवत् रूपमा नेपाल कम्युनिष्ट पार्टी एमालेमा हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ।’