काठमाडौं । ओलीको चर्चा भैरहँदा भीम रावलको पर्चा आएपछि एमाले स्वयम् सेवकहरुले यस्तो काम गर्न निर्देशन नभएको भन्दै भीम रावलका पर्चा वितरकहरुलाई गेटबाट महाधिवेशन परिसरभित्र छिर्न दिएका छैनन् ।
महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा भव्यताका साथ सम्पन्न भएपछि सौराहको तारे होटलमा हुन गैरहेको बन्द सत्रमा भने केही किचलो निम्तिएको छ । भीम रावल र घनश्याम भुसालसहितले पार्टी विधानमा उल्लेख भएबमोजिम निर्वाचनमा प्रतिस्पर्धा गर्न दिनुपर्ने कुरामा अड्डी लिएपछि विवाद निम्तिएको हो ।
सर्वसम्मतको प्रयास :
यसलाई हल गर्ने गरी पार्टी नेतृत्व सर्वसम्मतले चयन गर्ने उद्देश्यसहित गोदावरी पार्टी विधान संशोधन गर्न अध्यक्ष ओलीले गरेको प्रस्ताव केन्द्रीय समितिले पारित गरिसकेको छ । यसले सर्वसम्मतिको बाटो खुलाएको भनेर ओलीले उक्त अभ्यास गरिरहँदा अध्यक्ष उमेदवारका दाबेदार भीम रावलका प्रचारकहरुले भीम रावलका पक्षमा ‘अध्यक्ष पदमा मेरो उमेदवारी किन ?’ भनी लेखिएको पर्चा वितरण गरिरहेका छन् ।
अहिले उमेदवारीको प्रक्रिया त सुरु भैसकेको छैन तर ओलीको पक्षमा ‘ओभर ह्वेल्मिङ मेजोरिटी’ देखा परेपछि ओली नै स्वतः अध्यक्ष हुन्छन् भन्ने सोचको विकास सबैमा देखिएको छ । यसै बेलामा पार्टीभित्र प्रजातान्त्रिक प्रतिस्पर्धालाई रोक्न वा न्युनीकरण गर्न कसैले पनि नसक्ने भन्दै विधानतः व्यवस्था गरिएको उक्त प्रक्रिया १० औं महाधिवेशनमा पनि लागु हुनुपर्ने माग रावल पंक्तिको रहेको छ ।
महाधिवेशनमा प्रचार निषेध :
महाधिवेशन सर्वसम्मत बनाउन प्रयास रहने छ भन्ने संकेत महाधिवेशन आयोजक समितिले निर्माण गरेको आचार संहितामा पनि प्रष्टै देखिएको थियो । त्यहाँ यो आशयलाई भद्र रुपमा ढाकिएको थियो, ‘महाधिवेशनलाई तडकभडकरहित बनाउने’ भन्ने चादरले ढाकेर ।
तडकभडक नबनाउने भन्ने नाममा कसैको पनि प्रचारका लागि बनाइएको पर्चा, पम्प्लेट र पोस्टर महाधिवेशन हलमा निषेध गरिएको थियो । तर अध्यक्ष केपी ओलीको तस्वीरहरु भने आधिकारिक रुपमा महाधिवेशन हल र यसका वरपर छ्यापछ्याप्ती रहेका छन् । उता अध्यक्ष पदका अर्का दाबेदार भीम रावलको फोटो भएको पर्चा भने प्रतिबन्धमा परेको छ ।
निर्वाचन मण्डल बनिसकेकाले ओली अध्यक्ष रहेनन् :
एमाले पार्टी अहिले बन्द सत्रबाट गुज्रिइरहेको छ । पहिलेको पार्टी संरचना सबै बिघटित अवस्थामा छन् । पार्टी अध्यक्ष केपी ओली पनि एउटा प्रतिनिधिको हैसियतमा छन् ।
तर संस्थागत प्रचारबाट उनका फोटोहरु हटाइएका छैनन् । यति मात्र होइन, उनले अहिले पनि ‘डिफ्याक्टो’ अध्यक्षका रुपमा आफू र आफ्ना गतिविधि चलाइरहेका छन् । जब कि यो काम अहिले अध्यक्ष मण्डलको हातमा आएको छ । तर अध्यक्षमण्डल निष्प्रभावी र निस्कामको अवस्थामा देखिएको छ ।
‘नयाँ सिद्धान्त’ आएको अध्यक्ष मण्डलको स्वीकारोक्ति :
बन्द सत्रको हलमा प्रवेश गरेको पहिलो दिनमै अध्यक्ष ओलीले महिला, दलित, जनजाति, भूगोल लगायतका क्लष्टर बनाएर केन्द्रीय कमिटीको नामावली पठाउन नेताहरुलाई निर्देशन गरेका थिए । केहीले नाम पठाइसके, अरु केहीले पठाउने तयारीमा छन् तर बाँकी केहीले तयारी नै गरेका छैनन् ।
यो क्लष्टर लिष्टमा कसैले सहमति नजनाएपछि मात्र मनोनयन दर्ता गरेर निर्वाचनमा जाने तयारी रहेको देखिएको छ । यसलाई एमाले महाधिवेशन हलभित्र विकसित ‘नयाँ सिद्धान्त’ भनेर सहभागीहरुले टिप्पणी गरिरहेका छन् ।
महाधिवेशन निर्वाचन समिति संयोजक विजय सुब्बाका भनाइमा ‘पहिले ३०१ जनाको नाम ल्याउने, त्यसलाई हलले पारित गर्ने र निर्वाचन समितिले त्यसैलाई निर्वाचन भएको भनेर नाम घोषणा गर्ने गरी नयाँ थ्यौरी विकास गरिएको र त्यसैलाई स्वीकार गरी गतिविधि अघि बढिरहेको छ ।’
अनौठो निर्वाचन :
सामान्यतया निर्वाचनमा मनोनयन दर्ता, उमेदवारको सूची सार्वजनिक, दाबी विरोधको सूचना, उजुरीमाथि छानबिन र अन्तिम नामावली प्रकाशन गर्ने परिपाटी हुन्छ । त्यपछि उमेदवारले मत माग्ने, प्रचार प्रसार गर्ने र प्रतिस्पर्धामा जाने ढोका खुल्छ । अन्तिममा मतदानमा गएर विजयी भएकाहरुको नामावली घोषणा गरी निर्वाचन प्रक्रिया टुंगिन्छ ।
तर क्लस्टरका आधारमा केन्द्रीय समितिको चयन गरी त्यसैलाई निर्वाचित भएको घोषणा अध्यक्ष मण्डलले गर्ने भनेपछि यसलाई अनौठो थ्यौरीका रुपमा व्याख्या गर्न थालिएको छ । यो नामावली घोषणपछि बन्दसत्रमा सहभागीहरुले ताली बजाएर पास गर्ने प्रस्ताव आएको छ ।
केन्द्रीय समितिको बनोट :
नेकपा एमालेको केन्द्रीय समितिमा ३०१ जना सदस्य रहने व्यवस्था गरिएको छ । पहिले २२५ जना रहेको गोदावरी विधानको व्यवस्थालाई महाधिवेशनस्थल पुग्दासम्म बढाएर ३०१ जना बनाइएको हो । पदाधिकारीमा पनि १९ जना रहने छन् । जसमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् ।
लहरो तान्दा पहरो गर्जदै :
प्रत्यक्ष निर्वाचन नै गर्नु पर्ने माग सुन्ने र सम्बोधन पर्ने स्थिति पैदा भएमा एमाले १० औं महाधिवेशनमा लहरो तान्दा पहरो गर्जिने स्थिति देखा पर्ने भएको छ । त्यसो त निर्वाचनमा गएन भने एमाले एक ढिक्का भएर महाधिवेशनबाट फर्कनसक्ने स्थिति पनि देखा परिरहेको छैन ।