• मंसिर ११ २०८१, मंगलवार

नेताप्रधान बन्दै एमाले : महाधिवेशन हलभित्रै शक्ति सन्तुलनको गृहकार्य

मंसिर ११ २०७८, शनिबार

महाधिवेशनको बन्दसत्रमा प्रवेश गरेको एमाले अहिले भिन्न आन्तरिक शक्ति सन्तुलनको गृहकार्यमा जुटिरहेको छ । यो शक्ति सन्तुलन पहिले एमाले नेतृत्वलाई बोध भएको देखिएको थिएन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमालेको वृत्त र त्यसमा पनि ‘केपी बा आई लभ यु’ को पंक्ति मात्र आफुसँग रहेको भ्रममा परिरहेका देखिन्थे ।

माधव नेपालको पंक्ति भिन्न हुँदाका बखत पार्टी एकताका लागि संयोजकको भूमिका खेलेका भीम रावलका पंक्ति र माधव नेपाल छोडेर एमालेमा एकताका लागि आएका युवाहरु र माओवादी केन्द्रका पंक्तिलाई सामान्य सम्बोधन मात्र गरे पुग्नेमा ओली विश्वस्त थिए ।

तर महाधिवेशनको स्थलसम्म पुग्दा उपस्थित कार्यकर्ता र प्रतिनिधिहरुले उनलाई साच्चिकै एमालेभित्र पार्टी एकताको समय आएको र त्यो पनि यही १० औं राष्ट्रिय महाधिवेशन नै भएको गम्भीरताको बोध गराएपछि ओलीले पार्टीभित्र आफूले अनुमान गरेभन्दा भिन्न शक्ति सन्तुलन रहेको र त्यसको सम्बोधन गरिनु पर्ने कुराको बोध गरे ।

पार्टीको विधान महाधिवेशन गरिसकेपछि विधानतः सबै कुरा लिएर जाने त्योभन्दा एकइञ्च पनि वरपर नगर्ने सोचमा रहेको ओली महाधिवेशन स्थलको जनताको सुझाव र चेतावनीले गम्भीर गृहकार्यमा लाग्न बाधय भए । तर एमालेमा ‘ओलीपछि को हुने’ भन्ने प्रश्न आफैमा गम्भीर बनेर आइसकेको छ । यसले ओली पक्षधर पनि सुवास नेम्वाङ पक्षधर र ईश्वर पोखरेल पक्षधरमा विभाजित गराएपछि कसले कसलाई हराउने भन्ने ‘इगो’ चरम बनेर गएको छ ।

यसले गर्दा पार्टीभित्र सर्वसम्मति होला नै भन्ने देखिदैन । बरु एकपछि अर्को गरी लम्बेथान बसाइको प्रक्रिया जारी रहने देखिन्छ । महाधिवेशन स्थालमा बसेको केन्द्रीय समितिको वैठकले यसको समाधानका लागि पदाधिकारी तथा केन्द्रीय समिति सदस्य संख्या बढाउने निर्णय एकमतले गरेको छ ।

पछिल्लो केन्द्रीय समितिको निर्णय अनुसार केन्द्रीय समिसित २२५ बाट ३०१ पुर्याइएको छ । अहिले एमालेले महाधिवेशन स्थलभित्रै तीन कुराहरुमा हेरफेर ल्याएको छ : पहिलो, पार्टी विधान संशोधन, दोस्रो पदाधिकारीको संख्या बढाउने र तेस्रो केन्द्रीय समिति विस्तार गर्ने ।

एमालेले अबका दिनमा ‘पिरामिड आकार’को सांगठनिक संरचना भन्दा पनि ‘अम्ब्रेला आकार’को संरचनामा जाँदै छ । यसलाई लिएर राजनीतिक विश्लेषकहरुले ‘नेताहरुको व्यवस्थापन’ को संज्ञा दिएका छन् ।

विश्लेषकका तर्कअनुसार एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा पनि केन्द्रीय समिति भनेको ‘नेताहरुको व्यवस्थापन’ नै रहेको थियो । एमालेसँगको एकताहुँदाका बखत माओवादी केन्द्र त ७ हजारजनाको केन्द्रीय आयोजक समितिसम्म बन्न पुगेको थियो । यो धङधङीले एमालेलाई अहिले पनि छाडेको छैन । यसले एमाले नीतिमुखी होइन, नेतामुखी बन्दै गएको देखाएको छ ।

यति बेला एमाले एकपटक फेरि चिप्लिएको छ । नीति बनाएर महाधिवेशनसम्म पुग्दा त्यसलाई संशोधन गरी नेता प्रधान बनाउने तर्फ महाधिवेशनको दिशा सोझ्याएको छ । एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा र प्रशस्तीले एमाले ‘नेता’ बनाउन नलागेर ‘देवता’ बनाउनतिर लागेको भन्ने टिप्पणी जनस्तरमा आउन थालेको छ । वौद्धिक मानिसले एक पटक युद्धकालमा तात्कालीन माओवादीले भन्ने गरेको ‘प्रचण्डपथ’को पुनरावृत्ति एमालेमा हुन थालेकोसम्म आँकलन गर्न पनि भ्याइसकेका छन् ।

कसैकसैले त ‘चीनका सी जिन पिङको सिको त गर्दै छैन एमालेले’ पनि भनिरहेका छन् । तर पनि एमाले नेताहरु चीनको अन्धानुकरण नगर्ने र नेपाली विशिष्टताअनुसार चल्ने कुरा सार्वजनिक गरिरहेका छन् । अहिलेको एमालेको विचारलाई लिएर जनस्तरमा गाइड गर्ने नेतृत्वको संख्या अपुग भएकाले आकस्मिक निर्णय गरिएको बताएका छन् ।

विचारअनुसार संगठन निर्माणका लागि ‘सशक्त टिम’को आवश्यकता रहेको एमाले नेतृत्वको स्पष्टिकरण रहे पनि जनता तथा अन्य राजनीतिक वृत्तमा यो कडा टिप्पणीको विषय बनिरहेको छ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार यो ‘उपयुक्त व्यक्तिलाई उपयुक्त ठाउँ’मा जिम्मा दिनका लागि गरिएको उपयुक्त गृहकार्य हो । अर्का नेता निरज पाण्डेका अनुसार यो ‘संगठनात्मक कामका हिसाबले उपयुक्त होमवर्क’ पनि हो ।

तर महाधिवेशन हलमा भने विगतको पाँचौ महाधिवेशनमा बहुदलीय जनवाद र नौलो जनवादका बीचमा विवाद आउँदा महाधिवेशन हल निकै बिष्फोटक बनिसकेको थियो । तात्कालीन पार्टी महासचिव मदन भण्डारीले आखिरमा सर्वसम्मत बनाएर सबैलाई समेटेर लगेको विगतको निर्णायक छायाँले दशौं महाधिवेशनलाई साफसँग लखेटिरहेको छ । तर यसपाली भने एमालेभित्रको विवाद विचारको नभई नेता र नेतृत्वमा अभिव्यक्त हुन गएको छ ।