• मंसिर १२ २०८१, बुधबार

जनचाहना र सत्ताको विकल्प

मंसिर ११ २०७८, शनिबार

हामीले सोचे जसरी परिवर्तनले गति लिन सकेन । पार्टीभित्रका अन्तर विरोध र अन्तर पार्टीबिचको खुट्टा तान्ने पद्धतिले राष्ट्रिय स्वार्थको अपेक्षा नै कलुषित भयो । नेतृत्वले नै जनताको स्वार्थ भन्दै कुर्सीको स्वार्थलाई रोजे ।
स्वार्थ नमिलेपछि टुक्रिने र आफू हिरो बन्ने नाममा अर्कालाई खुइल्याउने अनि जनतालाई भेडो बनाउने होडबाजीमा भुइँमान्छेहरू अनावश्यक खेलौना बनिरहेका छन् ।

सोझाको दिमाग भुट्ने पद्धतिले विकासको मार्गमा बाधा पुगिरहेको यथार्थतिर ध्यान नजानु हामी जनताको कमजोरी हो । हामीले स्वार्थको लडाइँमा समर्पित भएर साथ दिनुको तुक देखिँदैन बरु प्रतिवाद नगरिनु चाहिँ कमजोरी भयो ।
उल्टो घुम्ने घडीको सुई : विगतलाई हेर्दा सबैको दिमागमा अस्थिर सरकार भएका कारणले समस्या भयो भनियो । त्यहाँ पनि घडीको सुई सुल्टो घुमेन । तब ‘नौ महिने सरकार’ पद्धतिलाई दोष दिइँदै गइयो ।

संविधान नबनेको कुरालाई लिएर पनि निकै समय होहल्ला भए । संविधान पनि दश महिनासमम्ममा जन्मनुपर्ने बच्चा पन्ध्र महिनामा जन्मे जसरी सारै कठिनले मात्रै आयो । यसलाई जनवर्गीय संविधानको संज्ञा दिइयो ।

राजतन्त्रको वकालत तब त बिस्तारै–बिस्तारै बिर्सँदै गइएकै थियो पनि । तत्पश्चात् अझ भनौँ– स्थिर सरकार त्यसमा पनि बहुमतको सरकार बनेपछि जनताले छाती ढक्क फुलाएर भन्न पाएका थियौँ, ‘अब त घडीको सुई सुल्टो घुम्ला नि त ।’
भन्नलाई त ‘परिवर्तन छुमन्तर गरेर हुने हो र, बिस्तारै भइरहेको छ नि’ भन्दा पनि हुन्छ । अर्थात्, ‘लोकतन्त्रमा पार्टी–पार्टीबिच अन्तरविरोध त भइहाल्छ नि’ भन्ने तर्क बोक्नेको पनि कमी छैन तर यदि कथम्कदाचित जनताले विकल्पमा उही सडकबाट फालेको राजतन्त्रलाई सडकबाटै ल्याए भने पनि दुई धार हुने त पक्का छ ।

वर्तमान प्रधानमन्त्रीले पूर्वराजालाई चुनावी मैदानमा लड्ने हो भन्ने खालको अभिव्यक्ति दिइनुले पनि यो बहस आवश्यक देखिन्छ । यदि राजतन्त्रको पक्षमा रहेका पार्टीहरूले भनेजस्तो हुने हो भने पनि त अस्थिर र असन्तुष्टि कायमै रहन्छ ।
यो पनि अन्तिम विकल्प र अन्तिम सत्य होइन । आजको नेकपा एमाले, नेकपा एस र माओवादी केन्द्र हिजो एकै ठाउँमा हुँदा अर्थात् लगभग बहुमतको बाम सरकार निर्माण हुँदा जनताको मुहारमा छाएको खुशी अनायासै स्खलित भयो ।
केवल राजनीतिक स्वार्थ नै यसको कारण हो । यो केवल व्यक्तिगत स्वार्थका लागि नेताहरूले बाँधेको गुटको परिणाम हो अनि त्यही गुटलाई बोक्ने नेतालाई चाप्लुसी गरेर साथ दिने अवसरवादी कार्यकर्ताको कारणले हो ।

यसर्थ अबको परिवर्तनका लागि गुटगत राजनीतिको विपक्षमा रहेर गुटरहित राजनीतिको समर्थन गर्दै  विकास तर्फ लम्कनु जनताको पनि दायित्व हो । विकास र समृद्धिबाहेक अरू स्वार्थको तहमा साथ नदिनु जत्तिको उत्तम कुरा अरू केही होइन । यो आम जनता र पार्टीको झण्डा बोक्ने कार्यकर्ताको हातमा छ ।

अहिलेको राजनीतिक लडाइँ, माओवादी द्वन्द्व, जेलनेलका कुरा र हाम्रा अहिलेका त्यागको कथाको तुकसँग हिजोको इतिहासलाई तुलना गर्नै मिल्दैन । बलभद्र, भीमसेन, अमरसिंह जस्ता हस्तीको रचेको इतिहास राष्ट्रिय स्वाभिमानको किस्साभित्र पूर्णतः समर्पित थियो ।

उनीहरूले राजा महाराजा हुनका लागि होइन सुन्दर अखण्ड नेपाल निर्माणार्थ बलिदानी दिए । एउटा इतिहास ग्रेटर नेपाल अर्थात् विशाल र सुन्दर नेपाल निर्माणको राष्ट्रिय स्वार्थमा केन्द्रित थियो ।

जतिसुकै इतिहासलाई गालीगलौज गरे पनि हिजोको लडाइँ राष्ट्र र स्वाधीनताको रक्षाका लागि थियो । तिनमा राष्ट्रिय स्वार्थ समर्पण भाव थियो अनि रत्तिभर पनि व्यक्तिगत स्वार्थका लागि सोचेनन् । तब त्यहाँ गुटगत स्वार्थ कमजोर बन्न पुग्यो ।
आजको राजनीतिक माहोल जति धेरै दुर्गन्धित भएर डुङ्डङ्ती गन्हाएको छ हिजोको त्याग त्यसको विपरीत सलोटयोग्य छ । यसर्थ इतिहासले आजको नेतृत्वलाई प्रश्न गरेर भन्ने छ- राजतन्त्र कि लोकतन्त्र भन्ने बहस चलाउने काम गुटगत राजनीतिका कारणले नै उब्जिएको हो ।

वास्तवमा छातीमा हात राखेर भन्ने हो भने राजतन्त्रको वकालत गर्ने जनतालाई असचेत, अन्धविश्वासी, अज्ञानी भन्ने संज्ञा दिनु पनि लोकतन्त्र विरोधी विचार त होइन ?! संविधानमा राजतन्त्रको समर्थनलाई अपराध मान्नुपर्छ भन्ने कुराभन्दा पनि जनताको सार्वभौकिताकै बढी चर्चा छ ।

यसको अर्थ समर्थन वा पक्ष–विपक्षको कुरा कदापि नभएर एउटा चिन्तनको भाष्य त हो नि । जनताले न्यायका लागि विकल्प खोज्दा निबन्धकार भैरव अर्यालले महापुरुषको खोजी गर्दागर्दा थाके जसरी सोच्दा यो चिन्तन ब्युँतिएको हो ।

लोकतन्त्र र राजतन्त्रको बहसभित्र उनिएर आएका विचारमध्ये ठीक र बेठीकको तर्कलाई भन्दा कारक पक्षलाई हेरिनु आवश्यक छ । परिवर्तन जादुको छडी त होइन तर ५० वर्षअघिको चीन र आजको चीनलाई हेरौँ ।

२० वर्षअघिको जापान र आजको जापानलाई नै हेरौँ न । विकासका लागि व्यवस्था मात्रै होइन भिजन पनि चाहिन्छ । सत्ता परिवर्तन भयो तर पात्र परिवर्तन भएन । पात्रभित्रको सोच पनि त परिवर्तन भएन नि ।

अनि जनताको आशा आखिर सुख, शान्ति र समृद्धि होइन र ? जनता आज शिक्षा, रोजगार र स्वास्थ्यको सहुलियत नपाएको प्रताडनामा छ । विश्वव्यापीकृत परिवर्तनको बाटो समात्न नसक्ने नेतृत्वको सोचभित्र अनावश्यक सजाय भोग्न विवश छ ।
आखिर समस्या कहाँ छ ?

आज निबन्धकार अर्यालले जसरी महापुरुषको खोजीमा जनताले सडकबाट विकल्पको उद्घोष गर्दै त छैनन् ? कि त जादुको छडी बोक्ने मान्छे साँच्चै नै खत्रक्क आउनुपर्ने भयो नत्र कोभन्दा को राम्रो भन्दै गर्दा जनताले बरु त राजतन्त्र नै ठीक भन्ने बित्तिकै ‘तँ अन्धविश्वासी, तँ प्रतिगामी, तँ पुरातनवादी’ भन्नु पनि त अलोकतान्त्रिक होला नि !

किनभने, जनताको स्वतन्त्रता, हक र जनताकै अधिकारको सत्ता चयनभित्र न्यायको मियो दर्बिलो हुन्छ । यसको अर्थ राजतन्त्रको पक्षमा वा विपक्षमा तर्क नभएर यो समीक्षामा आधारित एउटा चिन्तन भएकाले अहिलेका शीर्ष नेतृत्वले नै सोच्नुपर्छ ।

जनता विकास चाहन्छ अनि नेताले विकास गर्छु भन्छ तर रोक्छचाहिँ कसले ? बहस कुन ठीकभन्दा पनि चाहिएको चीज र भनिएको अनि गरिएको सन्दर्भले पटक्कै मेल नखाएको मात्रै हो । हिजै हामी कुर्सीका लागि जे पनि गर्छौँ भनेको भए त जनताले राजा नै ठीक भनिहाल्थे नि ।

तब फेरि यहाँसम्मको बहस जरुरी हुने थिएन । समाजको उल्टो सुई पनि सोचगत तहमा ओर्लिएर उल्टो घुम्दै छ । समयले समाजलाई बदल्ने कुरालाई मात्रै उपलब्धि मान्ने हो भने विकास र विनासका तहमा सोच र शैलीले बढी प्रभाव पार्छ । आखिर डर केमा हो ? विकासको बाधक को हो ? यसर्थ समाजले निर्धारण गरिदिएको सत्य र व्यक्तिको चाहना पनि अलग हो ।

यदि आइहालेमा पनि आज देखिएको परिवर्तनले हिजोकै जस्तो तानाशाही राजतन्त्रलाई पक्कै ल्याउन सक्दैन भन्नेचाहिँ पक्का हो । राजतन्त्रको पक्षमा लागेर बोलिरहेका नेता र पार्टी एक भए भने त्यो नेतृत्व पनि त दह्रो बन्दैन भन्न मिल्दैन ।

अर्कोतिर संसारमा मुसलमान राष्ट्र छन्, ईसाई राष्ट्र छन् भने समावेशी पहिचान सहितको हिन्दू राष्ट्र भएको एकमात्र मुलुक किन नबनाउने भन्ने कुरामा पनि बहस हुने होला । यद्यपि राष्ट्रिय अखण्डता, पहिचानको रक्षा र साम्प्रदायिक विखण्डनरहित समाजका विषयमा हुने आजका बहसभित्र स्वच्छता नहुनु अर्थात् स्वार्थ लुकिरहनु नै सबैभन्दा ठूलो समस्या हो ।

चाहे प्रतिगामी भनियोस् या अन्य आरोप लगाइयोस् तर ‘अग्रगामी भनिएकाले कुनचाहिँ ऐँस गरेनन् र’ भन्ने प्रश्नले समस्या बढेको होइन र ?! जनताको हक र हितका बारेमा सोच्ने गरी सुधारिएको सोच जनताभित्र उब्जिनु पटक्कै अनौठो कुरा होइन ।
एउटा सत्य– जनताको चाहनाभन्दा उत्तम विकल्पचाहिँ अर्को कुरा हुनै सक्दैन । अब गुण र गाम्भीर्यताले प्रभाव र प्रहार गर्न सक्छ नै । जनता अब धेरै नै बाठा भइसकेको कुरालाई बुझ्नु आवश्यक छ ।