काठमाडौँ । अयोध्याका राजा रामको रातबाट लडाइँमा मारिएका लंकाका राजा रावण आफ्नो समयका चर्चित एवं प्रतापी राजा थिए । उनी विद्वान, आयुर्वेदका ज्ञाता, धुरन्धर पण्डित हुनुका साथै ज्योतिष विज्ञानका जानकार पनि रहेका थिए । भनिन्छ, राम–रावण युद्धमा रामले विजय प्राप्त गरेका हुनाले रामायण सिर्जना भयो । यदि सो युद्धमा रावणको विजय हुन्थ्यो भने रामायणको सट्टामा रावणायण लेखिने थियो ।
हुन पनि हो आजसम्मका लेखकहरुले जित्नेकै गुनगान लेखेर विभिन्न ग्रन्थहरु निर्माण गरेका छन् । जो वीर छ, उसले युद्धमा विजय पाउने हो । तर कुनै युद्धमा विद्धानले पनि हार खान सक्छ भन्ने कुराको उदाहरण राम–रावण युद्धले देखाएको छ । विभिन्न शास्त्रहरुमा बर्णन गरिए अनुसार पनि अयोध्याका राजा रामभन्दा तत्कालिन लंकाका राजा रावण सम्पन्न, प्रतापी र विद्धान नै रहेको बुझिन्छ ।
रावण एक धार्मिक राजा पनि रहेका थिए । उनी शिवका भक्त थिए । उनले शिव ताण्डव स्तुत्र, शिव संगीत आदिको रचना गरेका थिए । उनले ऋषि बुवा र राक्षस आमाबाट जन्म लिएका थिए । जन्ममा भएको यस्तो संयोगले गर्दा नै हुनुपर्छ उनमा ऋषि बुवाको जस्तो ज्ञान र आमाको जस्तो राक्षसीपन समेत रहेको थियो ।
आफ्नो समयमा देश र समाजमा रावणले जोतिष विज्ञान र आयुर्वेदको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए । भनिन्छ अरु वैज्ञानिक आविष्कार समेत रावणले सम्पन्न गरेका थिए । तत्कालिन समयमा लंका समृद्धिको नमुना रहेको थियो भन्ने कुराको उदाहरण त नेपाली समाजमा चलेको एउटा उखानले पनि प्रमाणित गर्छ । भनिन्छ पनि, ‘लंकामा सुन छ, कान मेरा बुच्चै ।’
राम–रावण लडाइँको समयमा अयोध्या भन्दा लंका धेरै विकासित रहेको कुरा विभिन्न तथ्यहरुले बताउँछन् । कतिसम्म भने उही जुगमा राजा रावणसँग पुष्पक बिमान रहेको थियो । अरु मुलुकमा जाँदा राजा रावणले त्यै बिमान प्रयोग गरेर यात्रा गर्थे । अयोध्याकी रानी सीतालाई हरण गर्दा पनि राजा रावणले त्यै पुष्पक बिमान नै प्रयोग गरेको पौराणिक कथाहरुमा वर्णित छ ।
तर राजा रावणको बिनास हुनुको एउटै कारण रहेको छ । त्यो हो, उनको मुख्य समस्याको रुपमा रहेको घमण्ड र अहंकार । आफूमा रहेको त्यै घमण्ड र अहंकारको कारण उनले धेरै पापकर्म गरेका थिए भनेर पनि भन्ने गरिन्छ ।
रावणको यो विद्धता र वैज्ञानिकतासँग स्वयम् राजा राम पनि परिचित थिए । आफूले हानेको बाण लागेर राजा रावण ढलिसकेपछि रामले आफ्ना भाइ लक्ष्मणलाई रावणकहाँ गएर ज्ञान सिकेर आउन भनेर अह्राए । तर राजकुमार लक्ष्मणले यस्तो पापीसँग पनि के नै ज्ञान होला र दाजु भनेर सोधेपछि रामले लक्ष्मणलाई भनेका थिए, ‘हेर लक्ष्मण, रावण धेरै ज्ञानी छन्, यिनलाई तीनै लोकमा कसैले पनि जित्न सक्दैनथ्यो, उनले जीवनमा अहंकार र घमण्ड लिएर धेरै पाप गरेको हुनाले मात्र हामीले हराउन सकेका हौँ, युद्धमा हारे पनि उनी धेरै विद्वान छन्, उनीबाट सुनेको ज्ञानले हामीलाई अगाडीको यात्रामा धेरै सहयोग मिल्नेछ ।’
रामले यति भनिसकेपछि लक्ष्मण बाण लागेर ढलेका रावणछेउ गए । मृत्युलाई कुरेर छटपटाइरहेका राजा रावण आफ्नो अन्तिम समयमा राजकुमार लक्ष्मणलाई आफूछेउ देखेर केही उपदेश दिए जो यस प्रकार रहेका छन् ।
रावणले अन्तिम सास फेर्नुभन्दा पहिले लक्ष्मणलाई दिएका १२ उपदेश :
१) आफ्नो शत्रुलाई कहिल्यै पनि कमजोर नसम्झनु । आफ्नो शत्रुलाई कमजोर सम्झने गल्ती गरेको हुनाले नै मैले तिमीहरुसँगको युद्ध हारेको हुँ, र अहिले मेरो यो गति भयो ।
२) आफ्नो भाइ, आफ्नो साथी र इष्टमित्रलाई कहिल्यै पनि दुश्मन नबनाउनु । आफ्नो भाइलाई दुश्मन बनाएको हुनाले मेरो विनास भयो ।
३) यदि जीवनमा कुनै काम गर्नु छ भने त्यो कामलाई कहिल्यै ढिला नगर्नु । यदि ढिला गर्यो भने शुभ काम पनि अशुभमा बदलिन सक्छ । आफू रामको शरणमा आउन ढिला गरेकाले आफू मृत्यु नजिक पुगेको उनको भनाइ थियो ।
४) जीन्दगीमा सधैं जितिन्छ भन्ने छैन । परस्थितिअनुसार हार पनि व्यहोर्नु पर्छ ।
५) मानिसमा आयुर्वेद, रसायन र जडीबुटीको ज्ञान हुनुपर्छ । जडिबुटीको माध्यमबाट मानिसको उपचार या शारीरिक समस्या आफैले समाधान गर्न सकिन्छ ।
६) हामीले आफ्नो काँधको जिम्मेवारी पूरा गर्नुपर्छ ।
७) आफ्नो शक्तिलाई कायम राख्नुपर्छ । शक्तिलाई कहिल्यै खण्डित गर्नु हुँदैन ।
८) मानिस लगनशील हुनुपर्छ । मानिसले जीवनमा लिएको लक्ष्यलाई पूरा गर्न सधैं तत्पर हुनुपर्छ ।
९) मानिस आफूसँग जे छ, त्यसमा खुसी हुनुपर्छ । लोभ, लालच, घमण्ड र अहंकारबाट टाढा रहनुपर्छ । लोभले मानिसलाई राक्षस बनाउँछ । त्यसकारण आफ्नो आवश्यकतालाई हामीले कहिले पनि लोभ बनाउनु हुँदैन ।
१०) आफ्नो गोप्यकुरा कसैलाई पनि भन्नु हुँदैन, चाहे त्यो जतिसुकै नजिकको व्यक्ति होस् । जीत हात पार्नलाई युद्ध नीति त झन् धेरै गोप्य राख्नुपर्छ । आफूले आफ्नो युद्ध नीति आफ्ना भाइ विभीषणलाई सुनाएको कारणले नै आफूले युद्धमा हारेको उनको निष्कर्ष थियो ।
११) आफ्नो सच्चा मित्र त्यो हो, जसले साथीका गुण, वैगुन साथीकै अगाडी नै व्यक्त गर्न सक्छ ।
१२) आफ्ना अग्रजहरुलाई सधैं सम्मान गर्नुपर्छ ।