काठमाडौं । नेपालमा वित्तीय क्षेत्र बढ्दै गर्दा देशको अर्थतन्त्र भने क्रमशः ओह्रलो लागिरहेको छ । सहकारी, वैंक तथा संयुक्त वैंकिङ प्रणालीले देशभर जालो फिजाइँरहँदा देशको अर्थतन्त्र झन् परनिर्भर हुँदै गैरहेको छ । यो आर्थिक असन्तुलनलाई लिएर अर्थविदहरुले गहिरो चिन्ता व्यक्त गरिरहेका छन् ।
यसका दुईवटा मुख्य कारण रहेका छन् । पहिलो हो, देशमा उत्पादनको मात्रा घट्दै जानु र दोस्रो हो, वैदेशिक लगानी बढ्दै जानु र विदेशमा उत्पादित उपभोग्य कुराहरुको निकै ठूलो मात्रामा उपभोग गरिदै जानु । स्वदेशी उत्पादनमा कमी आउनु भनेको स्वतः विदेशी उत्पादनमा भर पर्नु हो ।
नेपालले आफूले गर्ने उत्पादन पनि गर्न छाडिसकेको छ । आजका दुई दशक अघि खाद्यान्न निर्यात गर्ने देश नेपाल आज छिमेकी देशबाट कराडौं रासीको खाद्यान्न आयात गरिरहेको छ । यसका साथै शिक्षा तथा स्वास्थ्यका लागि नभइ नहुने अत्यावश्यक कुराहरुमा त नेपाल विदेशी उत्पादनमा भर पर्नु पर्छ नै ।
त्यस अतिरिक्त कम्प्युटरजस्ता प्रविधियुक्त सामानमा नेपाल आफूले केही पनि गर्न सक्ने अवस्था नै छैन । यसमा देशको ठूलो रासी खर्च हुने गरेको छ । यसका साथै आधुनिकीकरणले नेपालमा सौन्दर्य प्रसाधनका सामान प्रयोगमा बढोत्तरी ल्याएको छ । नसोचेको विशाल रासी यसैमा खर्च हुने गरेको छ ।
नेपालमा पछिल्लो समयमा साहु र ऋणिबीच हुँदै आएको परंपरागत लेनदेनमा निकै ठूलो परिवर्तन आएको छ । यसले जनतालाई सहकारी तथा वैंकमार्फत् आर्थिक कारोवार गर्ने बनाएको छ । हेर्दा व्यवहारमा वैंक र सहकारी खुल्नु सेवा र सुविधाको कुरा हो । तर वैकिङ क्षेत्रमा हुने गरेको विदेशी लगानीले देशको अर्थतन्त्रमा ठूलो नकारात्मक असर पारिरहेको छ ।
विश्व उदारीकरण सँगसँगै अन्तर्राष्ट्रिय आर्थिक निगमले वैंकमार्फत् विश्वभर आफ्ना आर्थिक सञ्जालको बिस्तार गरेपछि कमविकसित तथा विकासशील देशहरुका साथै कतिपय औद्योगिक देशहरु पनि स्वदेशी अर्थतन्त्र धराशायी हुँदै गएकोमा चिन्ता व्यक्त गरिरहेका छन् ।
नेपाल पनि यही हालतमा छ । श्रम गर्ने उत्पादक शक्ति विदेशी भूमिमा छन् । त्यति मात्र होइन, दक्ष जनशक्ति पनि अब क्रमशः विदेशिने क्रममा छन् । यसले देशमा उत्पादन गरिने काम झन् पछि झन् साँगुरिँदै जाने र पूर्णरुपमा विदेशीको मुख ताक्नु पर्ने अवस्थामा धकेल्ने देखिएको छ ।