नेपालमा पछिल्लो समयमा गर्भपतनको दरमा बृद्धि हुँदै गएको छ । यसका पछाडि विविध कारणहरुले काम गरिरहेका छन् । त्यसमा पनि लिंग पहिचानपछिको गर्भ पतनले स्थान पाउँदा जन्मपछि हुने र गरिने लिंगीय विभेद गर्भभित्रै छिरेर अत्याचार गरिरहेको छ ।
यस अतिरिक्त आमा कमजोर हुँदा, प्राकृतिक प्रकोपका कारण र रोगव्याधीका कारण हुन जाने गर्भपतन पनि कम डरलाग्दा छैनन् । तिनको प्रतिशत मात्रा पनि धेरै नै रहँदै आएको छ ।
पछिल्लो अनुसन्धानमा नेपालमा हरेक वर्ष हुने गर्भपतनमध्ये १५ प्रतिशत प्राकृतिक गर्भपतन रहेको खुल्न आएको छ । यस्तो खाले गर्भपतन देख्दा प्राकृतिकजस्तो देखिए पनि तिनका पछाडि पनि धेरै कारणहरु रहेका छन् ।
यसमा आमामा आन्तरिक रोग भएका कारण हुनसक्ने अनुमान गरिएको छ । तर त्यसको पनि हरेक केस विशेष खोजी र अनुसन्धान हुन जरुरी रहेको स्वास्थ्य विदहरुको दाबी छ । यसमा वंशानुगत रोग हुन सक्ने पनि आशंका रहेको छ ।
यसका साथै कुठाउँ वा अव्यवस्थित गर्भ बसाइ पनि कारण हुन सक्छ । यसका साथै गर्भ रहेको बच्चामा खराबी र तथा कमजोरी पनि हुन सक्छ ।
यी सबै कारणहरुलाई नकारात्मक बल पुर्याउन चिनी रोग वा सुगरले काम गरिरहेको हुन्छ । यसका लागि गर्भधारण गर्नुभन्दा पहिलेका केही दिनहरुमा आवश्यक जाँच गर्नु गराउनु जरुरी हुन्छ । हरेक मासिक धर्म आउनु र आएपछिको अवस्थामा स्वास्थ्य चौकीमा पुगी नियमित जाँच गराउनु जरुरी हुन्छ ।
प्राकृतिक गर्भपतनमध्ये केही उपचार गर्न सकिने र केही गर्न नसकिने खालका हुने जनस्वास्थ्यविदहरुले बताउँदै गर्दा सबै नेपाली आमा स्वास्थ्य जाँचको पहुँचमा हुन सक्ने वातावरण तीनै तहका सरकारले निर्माण गर्नुपर्छ ।