काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो आफू प्रधानमन्त्री हुँदा खुट्टा तान्नेहरुले आज प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेको बताएका छन् । आफ्नै पार्टी नेकपा एमालेको १०औं महाधिवेशनको शुक्रवार नारायणी नदी किनारमा उद्घाटित सत्रलाई संबोधन गर्दै ओलीले यस्तो कुरा बताएका हुन् ।
नेपाली सत्ता र सरकारमा सधैं शान्त र चैनपूर्वक काम गर्न कसैले नपाएको प्रसंग उप्क्याउँदै ओलीले सरकारमा पुगेकाहरुलाई खुइल्याउने, तान्ने र पछार्ने खेल जहिले पनि चलिरहेको कुरामा जोड दिए । आफूले कुनै कुनामा बसेर सरकार विरुद्ध गरिने षड्यन्त्र छोडी खुल्ला रुपमा आउन भने पनि पछाडिबाट खुट्टा तान्ने प्रवृति नरोकिएको बताए ।
आफू सरकारमा हुँदा संसद बिघटन गरिएको कुरा सही थियो भन्ने पुष्टि गर्न खोज्दै ओलीले थपे– ‘सरकारविरुद्ध धेरै खेल हुन थालिसकेपछि स्वच्छ निर्वाचनमा जाऔं भनेर निर्वाचनको प्रक्रिया थालनी गरिएकोलाई अन्यथा व्याख्या गरियो ।’
‘हतार हतारमा मेरो नेतृत्वको सरकारलाई हटाइयो, तर जे समस्या त्यति बेला थिए, अहिले पनि ती समस्या ज्युँकात्युँ छन्’ भन्दै ओलीले आफूहरुले ‘यिनै कुराहरुलाई आगामी निर्वाचनमा एजेण्डाका रुपमा लिएर जाने’ कुरामा जोड दिए ।
अहिले देउवा सरकारले कुनै पनि काम गर्न सकिरहेको छैन । त्यसको कारण हिजो आफूलााई काम गर्न नदिनेहरुले नै आज देउवालाई काम गर्न नदिएकाले भएको ओलीको ठोकुवा रहेको छ ।