काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक पार्टीसँग सहकार्य गरेर अघि बढ्ने कुरामा जोड दिएका छन् । देउवाले उक्त कुरा शुक्रवार चितवनको नारायणी नदीतटमा उद्घाटित एमाले १०औं महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा बताएका हुन् ।
उनले देश र जनताका स्वार्थसँग जोडिएका सबै कुराको हल संवाद र सहकार्यबाट मात्र गरिने र त्यसका लागि सरकार तथा आफ्नो पार्टी नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले सबै काम दलहरुका बीचमा संविधानतः गर्न सकिने कुरामा जोड दिए ।
तर प्रधानमन्त्री देउवाले यिनी कुराहरु बोलिरहँदा उपस्थित सहभागीले हुटिङ गरिरहेका देखिन्थे । केही असजिलो महसुस गरिरहेका एमाले अध्यक्ष ओलीले हुटिङ नगर्न र शान्त रहन अतिथि स्थानबाटै हातले संकेत गरिरहेका थिए ।
उता हुटिङको आवाज चर्को हुँदैजाँदा प्रम देउवा केही अत्तिएका पनि देखिन्थे । फिल्डमा भएका स्वयम् सेवकले स्थिति नियन्त्रणमा लिएपछि भने देउवाले ढुक्कताका साथ छोटो शुभकामना मन्तव्य सिध्याएका थिए ।