• मंसिर ११ २०८१, मंगलवार

कांग्रेसमा युवा पुस्ता : बहस र यथार्थता

मंसिर ९ २०७८, बिहीबार

नेपाली कांग्रेसमा युवा पुस्ता आगमनको बहस सुरु भएको छ । १४ औं महाधिवेशनको सम्मुखमा यो बहस सञ्चार माध्यममा बढी चलिरहेको छ । यसले सम्बन्धित पार्टीभित्र पनि बहसलाई प्रवेश हुने सहज वातावरण निर्माण गरिदिएको छ ।

नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी हो । यसले आफूलाई नेपालको सबैभन्दा ठूलो र पुरानो पार्टीका रुपमा पनि उभ्याउँदै आएको छ । तथापि यो पार्टीभित्र युवा अनुहार भने ओझेलमा पर्ने गरिरहेका छन् ।

हरेक वर्षको हिउँदमा रुखको पात झर्ने र चैतबैसाखमा मुना पलाउँदै असारसम्म नयाँ पातसहित भरिपूर्ण भैसक्ने गर्दछ । यतिबेलासम्म काण्ड पनि केही ठूलो हुने, हाँगाबिँगा र डाँठ पनि बढ्ने प्रक्रियामा हुन्छन् ।

यसको अर्थ हो, हरेक जीवित कुरामा नयाँको आगमन जरुरी छ । तर नेपाली कांग्रेस पार्टी जति पुरानो छ, त्यसमा पुरानो नेताहरुले नयाँलाई ठाउँ नदिने गरिरहेका छन् । चारपाँच दशकसम्म पनि एउटै पद ओगटेर बसिरहेका छन् ।

यो अवस्थामा कि त नेपाली कांग्रेस बूढो भएर ढल्नु जरुरी हुन्छ कि त नयाँलाई समावेश गर्दै समयसापेक्ष बनाएर अघि बढाउनु पर्ने हुन्छ । शायद नेपाली कांग्रेस पार्टीमा गगन थापा लगायतका युवा पंक्तिले उठाएको कुराको चुरो यसैमा निहित छ होला ।

विगतको सापेक्षतामा यसपालीको महाधिवेशनमा नेपाली कांग्रेसमा युवा प्रतिनिधिको आगमन केही बढी नै छ । यिनमा नेतृत्व परिवर्तनको आकांक्षा पनि देखिने गरेको छ । महाधिवेशन प्रतिनिधिमा ५० देखि ६० प्रतिशतको हाराहारीमा युवा निर्वाचित भएर आएका छन् ।

 

अग्रजको अनुभवका आधारमा अनुजले काम गर्ने भन्ने सदाशयताका साथ युवाहरु अघि बढ्न खोजेको देखिन्छ । यस्ता अग्रज प्रतिनिधिहरुमा ४० वर्षदेखि ७० वर्षसम्मका केवल ३७ प्रतिशतको हाराहारीमा रहेका छन् । किशोर किशोरीहरुको प्रवेश र लगाव पनि केही रहरलाग्दो हुँदै गएको देखिएको छ ।

तर युवा पुस्ताका लागि केही चुनौती सामुन्ने छन् । यीमध्ये पहिलो चुनौतीमा विचार सिद्धान्तको खडेरी रहेको छ । वीपीको सोच र सिद्धान्त नयााँ परिवेशमा लागु हुन सक्छ वा अरु कुनै ? यसका बारेमा बहस र तर्कवितर्क जरुरी छ । सिद्धान्तसहित नयाँ पुस्ता आयो भने त्यसमा नयाँपन पनि आउन सक्छ, होइन भने श्राद्ध गर्दाका बखत बिरालो बाँध्ने परिपाटीले नेपाली कांग्रेसलाई अवश्यंभावी पतनको दिशामा डोर्याउने देखिन्छ ।

अर्को चुनौती भनेको २००७ सालको परिवर्तनसँगै वैधानिक रुपमा स्थापित नेपाली कांग्रेस आजका दिनसम्म आइपुग्दा यसले दशकौंको समय मात्र पार गरेको छैन, बरु हजुरबाजेदेखि पनातीसम्मको ५ पुस्ताको पुस्तान्तरणको खाडल पनि निर्माण गरेको छ ।

 

यो खाडल अहिले बूढो पुस्ताकै सापेक्ष पछिल्लो वा कम बूढो पुस्तामा नेतृत्व हस्तान्तरणसँगै भरिदै जाने देखिन्छ । यो क्रमले कम्तिमा पनि ४ वा पाँचवटा अरु महाधिवेशनको माग गर्छ ।

त्यो भनेको अबका दिनदेखि अरु १५ देखि २० वर्षको समय हो । के यति लामो समयमा क्रमभंगता ल्याउने गरी छोटो समयमै युवा नेतृत्व आउन सक्ला ? यो सांगठनिक रुपान्तरणको जटिल समस्या पनि हो ।

यो आफैमा विचार सांगठनिक प्रक्रियासँग जोडिएकाले पार्टी आन्तरिक प्रजातान्त्रिकरणको प्रक्रिया पनि हो । प्रजातन्त्र मन्त्र होइन, जो जपेपछि मुक्ति पाइहालियोस् । कांग्रेसमा प्रजातन्त्र छ भन्ने बित्तिकै प्रजातान्त्रिक प्रक्रिया पूरा भैहालोस् । बरु यो त विधिगत रुपमा चल्ने प्रक्रिया हो, यसका लागि पुराना नेताहरुले झस्केलाबाट तला चढ्ने रबैया अपनाउन लाज मान्नु पर्छ ।

जे होस्, नेपाली कांग्रेसमा पुरानाका लागि पुरानै चुनौती र नयाँका लागि नयाँ चु्नौती छन् । पुरानाका लागि ठाउँ ओगटिरहने बानी र परंपराको चुनौती हो भने नयाँमा आउने चुनौती भनेको विचार र संगठनमा नेपाली कांग्रेसलाई नवीन बनाउने चुनौती हो । युवाहरुमा छोटो समयममै नेतृत्व धान्न सक्ने परिपक्वता आओस् ।