• मंसिर १३ २०८१, बिहीबार

१० प्रतिशत शौच अझैं पनि खुल्ला ठाउँमा

मंसिर ९ २०७८, बिहीबार

काठमाडौँ। सिंगो देशलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि देशका १० प्रतिशत घरमा अझै पनि चर्पी निर्माण गरिएका छैनन् । पक्की र कच्ची गरी निर्माण गरिएका चर्पीहरुमा यी १० प्रतिशतमा कच्ची पनि छैनन् ।

यी घरपरिवारले खुला रुपमा दिसा गरिरहेका छन् । यसलाई लिएर पटकपटक कुरा उठेका पनि छन् । कतै त सरकारका विभिन्न तहहरुले गाउँलेले सामुहिक रुपमा भए पनि प्रयोग गरुन् भन्ने उद्देश्यले सामूहिक चर्पी निर्माण गरिदिए पनि उनीहरु प्रयोग गर्न तयार छैनन् ।

आनीबानीमा परिवर्तन आवश्यक :

 

किन अप्ठेरो महसुस गर्छन् स्थानीय जनताले चर्पी प्रयोगमा ? यसको सरल जवाफ छ, आनीबानीमा परिवर्तन नआउनु । यसका लागि केही जनचेतनामूलक कार्यक्रमको आवश्यकता छ ।

सामाजिक रुपमा बानीव्यहोरा परिवर्तन गर्न हामीले सामाजिक रुपमै अभियानहरुको थालनी गर्नुपर्छ । चर्पी प्रयोगका लागि अभियानकर्ता आफैले सिकाउनु पर्छ ।

जंगल वा बाहिरफेर जाँदा थोरै पानी लाग्ने, दिसा बगाउनु नपर्ने, पालो कुर्नु नपर्ने र लागेको बानीमा सन्तुष्ट हुने गरेको देखिन्छ । कतिपयले त सुख्खा ट्वाइलेटमा दिसा गर्ने र त्यो थोरै पानीले नबग्ने हुँदा काठले कोट्याएर ट्वाइलेट नै फाोहर बनाएको पनि देखिन्छ ।

पानी खपतको त्रास :

 

ट्वाइलेटमा गाई र भैसीले खानेभन्दा पनि बढी पानी खपत हुने भएपछि यो झन्झट उठाउन नचाहेको पनि देखिन्छ । बाहिरफेर ट्वाइलेट जाँदा काठ, ढुंगा र पातले दिसा पुछ्ने गरेका मानिस हातले दिसा धुन घिनाउने गरेको पनि पाइन्छ ।

यावत बानी सुधारका लागि सचेतना फैलाउने अभियन्ताहरु यस्ता गाउँमा हप्तौं पाल टाँगेर बस्नु पर्ने हुन्छ । तब मात्र आनी बानीमा सुधार आउने देखिन्छ ।

सार्वजनिक सौचालयको अभाव :

 

 

जति आदर्शका कुरा गरे पनि हामी सुध्रन समय लाग्ने देखिन्छ । राजधानी सहर काठमाडौंमै सार्वजनिक शौचालय छैनन् । मानिसलाई या त होटलमा चिया खाने निहुले जानु पर्छ, या त पर्खाल वा गाडीको ओत लागेर सौच गर्नुपर्छ ।

यो बाध्यताको अन्त्य काठमाडौं महानगरपालिकामा नै हुन सकेको छैन । काठमाडौं भित्रि सहरमा रहेको चक्रपथमा जहाँ सामान्य ओतलाग्ने झाडी भेटिन्छ, गाडी चालक र सहचालक गाडी बन्द गरेर खुर्र दगुर्दै सौच गरेर गाडी चलाउन आउँछन् । यात्रुहरु पिसाब च्यापेर निकै कठिनाइपूर्ण यात्रा गरिहेका हुन्छन् ।

महंगा शौचालय, सर्वसाधरणका पहुँचविहीन :

कतै कतै सार्वजनिक सौचालय भए पनि त्यहाँ महंगो पैसा लिने गरेको छ । पिसाब गरेको ५ रुपैयाँ र दिसा गरेको १० रुपैयाँलाई सामान्य मानिएको छ ।

तर नेपालीको सरदर हैसियत रु १ मा पिसाब र रु २ मा दिसा गर्ने रहेको छ । जनताको क्रय शक्तिको यो अनपातलाई ख्याल गर्ने हो भने हालको दिसापिसाबको क्रय दर पाँच गुणा महंगो छ ।

दिनभरमा सरदर पाँच पटक पिसाब गर्ने मानिसले रु २५ खल्तीमा छुट्टै सरजाम गर्नुपर्छ । यो एक महिना पुग्दा प्रति एकजनाको खर्च ७५० हुन आउँछ ।

त्यो परिवारमा ३ जना मात्र भए पनि एक महिनामा २,२५० त पिसाबको पैसा चुक्ता गर्दा मात्र लाग्ने हुन्छ । त्यसैले पनि मानिस नांगो सडक छेउँमा अर्कातिर मुन्टो फर्काएर पिसाब गरी ‘५ रुपैयाँ त बचाइयो’ भनी सन्तुष्टि लिने गरेको देखिन्छ ।

सबैको पहुँचयोग्य सार्वजनिक सौचालयको आवश्यकता :

माथि उल्लेख गरिएका समस्यालाई हल गर्नका लागि जनताको क्रय शक्तिलाई केन्द्रमा राखिनु पर्छ । यसका साथै सर्वसाधरणको पहुँचयोग्य दुरीमा चर्पी निर्माण गरिनु पर्छ । यसका बारेमा जनमुखी सोच बनाएर सरकारले जनसेवाका रुपमा सार्वजनिक सौचालय निर्माण र बिस्तार गर्नुपर्छ ।