• मंसिर १५ २०८१, शनिबार

स्वीडेनको पहिलो महिला प्रधानमन्त्री, जसले किन दिइन् नियुक्त भएको केही घण्टामै राजीनामा

मंसिर ९ २०७८, बिहीबार

एजेन्सी । स्वीडेनकी नवनियुक्त पहिलो महिला प्रधानमन्त्री मग्डालेना एन्डर्सनले कार्यभार सम्हालेको केही घण्टमै पदबाट राजीनामा दिन बाध्य भएकी छन् ।

दुई पार्टीको गठबन्धनमा प्रधानमन्त्री बनेकी उनले ग्रिन पार्टी गठबन्धनबाट बाहिरिएसँगै राजिनामा दिएकी हुन् । तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन्। ​५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन्।

एन्डर्सनले सभामुखले पुनः आफूलाई एकल पार्टीको सरकार प्रमुखको रुपमा नियुक्त गर्ने विश्वास व्यक्त गरेकी छिन्। स्वीडेनमा अन्य पार्टीबाट बलियो समर्थन पाएको पार्टीको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ।

यसअघि गठबन्धनले ल्याएको बजेट संसदमा अस्वीकृत भएको थियो। यससँगै ग्रिन पार्टीले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो। स्वीडेनमा बजेटमा सहमति जुटाउन नसकेका ग्रिन पार्टी, सेन्ट्रल पार्टी र लेफ्ट पार्टीले पनि प्रधानमन्त्रीमा एन्डर्सनलाई सहयोग गर्ने बताएका छन्।

बजेटमा भने उनीहरुको बीचमा सहमति जुट्न सकेको थिएन। जसको कारण विपक्षीले ल्याएको खर्चको प्रस्ताव पारित भएको छ।

स्वीडेनमा अब नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु भएको छ। संसद्ले एन्डर्सनलाई नै निरन्तरता दिन सक्ने बताइएको छ।