• मंसिर १४ २०८१, शुक्रबार

वडा अध्यक्षहरुले मेयरकै घर अगाडि थुपारे फोहोर

कार्तिक १४ २०७८, आईतवार

जनकपुरधाम। थुप्रिदै गएको फोहोर उठाउन चासो नदिएको भन्दै जनकपुरधाम उप महानगरपालिकाका वडा अध्यक्षहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मेयरको घर अगाडि फोहोर थुपारेका छन् ।

वडा नम्बर १, २, ३, ४, ५, ७ र १० नम्बर वडाका अध्यक्षले फोहोर ट्याक्टरमा राखी मेयर साहको घर अगाडि राखेका हुन् ।

‘हामीले पटक–पटक भन्दा पनि फोहोर व्यवस्थापनमा मेयरले कुनै चासो राख्नुभएको छैन्’ वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले भने, ‘यसतर्फ कुनै ध्यान नदिई मेयर चाडपर्वको समयमा काठमाडौं जानुभएको छ ।’

उपमहानगरपालिकाको बिभिन्न ठाउँमा थुपारिएको फोहोरले दुर्गन्ध फैलिएको भन्दै उनीहरुले आइतबार फोहोर ट्याक्टरमा लोड गरी मेयर लालकिशोर साहको घर अगाडि थुपारेका छन् । दीपावलीजस्तो पर्व नजिकिँदा समेत फोहोर उठान मेयरले ध्यान नदिएको वडा अध्यक्षहरुको गुनासो छ ।

गत असारमा नगरसभा भएपछि बोर्ड बैठक बसाउन नमानेको भन्दै वडाअध्यक्ष साहले भने, ‘हामीले बोर्ड बैठक बसौंभन्दा पनि मान्नुभएको छैन् ।’

फोहोरको थुप्रो बढ्दै गएको सन्दर्भमा कुरा गर्दा पनि चासो नलिएको र अहिले फोन गर्दा नउठाएकाले समेत बाध्य भएर आफूहरु फोहोर मेयरको घर अगाडि राखेको साहले बताए ।

उनका अनुसार उपमहानगरपालिकाको फोहोर व्यवस्थापन गर्न तीन दिनको अल्टिमेटम दिइएको छ । ‘यो अवधिमा फोहोर नउठाइए हामी पुनः आन्दोलनमा उत्रनेछौं’ उनले भने ।

अहिले जनकपुरधामको पिडारी चोक, रमानन्द चोक, जानकी मन्दिर अगाडि, प्रादेशिक अस्पताल अगाडिसहित विभिन्न ठाउँमा फोहोर थुप्रिएको छ । फोहोर बढ्दा समेत व्यवस्थापन गर्न ध्यान नदिँदा जनकपुरधाम दुर्गन्धित बनेको छ ।