दिनरात पहल गर्दा पनि केही सिप नलागेपछि अन्ततः एमाले उपाध्यक्ष भीम रावलले पार्टी एकता कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् । एमाले विभाजित भै नेकपा एमाले र एकीकृत समाजवादी पार्टी निर्माण भैसकेपछिको अवस्थामा तेस्रो धारका नाममा एमाले प्रवेश गरेका रावल समूहले रावलको राजीनामासँगै पार्टी एकताको त्यो त्यान्द्रोको सहारा लिन बन्द गर्न पुगेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल एमालेमा नआई अर्को पार्टी खोलिसकेकाले ‘पार्टी एकताको किनिङकिनिङ घण्टी नबजाइरहन र आआफ्नो स्थानमा रहेर काम गर्न’ चर्को स्वरमा निर्देशन दिएपछि रावलले पार्टी एकता संयोजकबाट राजीनामा दिन पुगेका हुन् ।
एमाले दुई कित्तामा विभाजनभई फुटको अवस्थामा पुगेका बेला केपी ओली पक्ष र माधव नेपाल पक्षलाई एकै ठाउँमा ल्याउने सोचसहित तात्कालीन तेस्रो धारका रुपमा रहेका भीम रावलदेखि योगेश भट्टराईसम्मका १० जना युवा नेताहरुको पहलमा यो कार्यदल निर्माण हुन गएको थियो ।
एमालेभित्र सिर्जित आन्तरिक अन्तरविरोध समाधानार्थ ओली र नेपालको मौखिक सहमतिमा १०–बुँदे पार्टी एकताको आधार तयार गरिएको पनि थियो । त्यसपछि पनि ओली र नेपालका बीचमा निकै खटपट चल्दै गएपछि एकता तुहिन गयो । त्यस लगत्तै माधव नेपाल समूहले एकीकृत समाजवादी पार्टी निर्माण गरेको हो ।
पार्टी एकता कार्यदलले सिफरीश गरेको लिखतमा उल्लेख नगरिए पनि ओली अध्यक्ष र नेपाल कार्यबाहक अध्यक्षसहित अध्यक्ष द्वय रहने गरी पार्टी एकता गर्ने सहमति गरिएको कुरा कार्यदलबाट राजीनामा दिंदै गर्दा रावलले फेरि पनि दोहर्याएका छन् ।
माधव नेपाल एकतामा नआएपछि भीम रावल आफू नै कार्यवाहक अध्यक्ष बन्ने मनसाय राखेको कुरा सार्वजनिक रुपमा आउन थालेपछि यो रावलका लागि निल्नु न ओकल्नु हुन गएको थियो । रावलको एकताको भाव पनि त्यसैमा निहित रहेको अभिव्यक्त हुँदै आएको देखिन्थ्यो ।
रावलले भन्दै आएको ‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि स्थायी कमिटीमा मैले कुरा उठाएपछि म संयोजकमा रहने निर्णय भएको’ भन्ने आशयलाई आधार मान्दा उनले पार्टी एकताको कुरा जारी राखेमा ‘म कार्यवाहक अध्यक्ष हुन सक्छु’ भन्ने मनसाय लुकेको अनुमान लगाउन पनि गाह्रो पर्दैन ।
तर पार्टी अध्यक्ष ओलीले यो मनसाय नबुझ्ने कुरै थिएन । उनका लागि यो मनसाय महसुस हुनु भनेको ‘हम ने ठगे सारा दिल्ली, हम को ठगे घरके बिल्ली’ जस्तै थियो । त्यसैले पनि उनले ‘माधव नेपाल आउँछन् कि भनेर पो एकताको कुरा गरिएको हो, अब एकताको औचित्य केका लागि’ भनेर तीखो प्रतिप्रश्न पनि गरेका थिए ।
माधव नेपाल एकतामा नआएपछि रद्दीको टोकरीमा परिरहेको कार्यदलको संयोजकबाट राजीनामा दिनुको विकल्प रावलसँग बाँकी थिएन पनि । उही पार्टीमा बसेर पार्टी एकताका कुरा रावलले निकै कस्सिएर गरे पनि अन्य नौजना भने ‘तैं चूप मैचूप’ रहेका छन् ।
कुरा उठाएर आफूहरु छुच्चो हुने तर कार्यवाहक रावलले पड्काउने जस्तो देखिएपछि तेस्रो धारमा देखा परेका युवा नेताहरु बोल्नै छाडेका थिए । अर्को कुरा मंसीरे महाधिवेशनमा निर्वाचित हुनु पनि छ । कतै न कतै ठाउँ त राख्नुु पर्यो पनि ।
मंसीरमा पार्टी महाधिवेशन पनि आइपुगिसके पछि यसको तयारीमा छन् सबै नेता तथा कार्यकर्ता । भीम रावलले आफ्नो घाँटीमा रहेको पार्टी एकतारुपी कौछोको माला मिल्काउनु पनि थियो । शायद उनले उपयुक्त समय पनि अहिले नै ठानेको हुनु पर्छ ।
अर्कोतिर एकताका रहरलाग्दा र भरपर्दा देखिएका युवा नेताहरु अहिले ‘चरम अवसर’को खोजीमा लागेको खुलासा उनीहरुकै आचरणले सिद्ध गरिसकेको छ । आफ्नै पार्टी अध्यक्ष ओलीको सरकार ढलाउँदा ‘ओलीसँग वैचारिक र नीतिगत विममति रहेको’ हल्ला गर्ने यी युवा नेताहरु माधव नोलको पंक्तिमा खुलेर लामबद्ध भएका थिए ।
तर जब माधव नेपालले अर्को पार्टी निर्माण गर्नुपर्ने स्थिति सिर्जना भयो, तब माधव नेपाललाई संकटपूर्ण भीरको टुप्पोमा एक्लै छाडेर एकताको नाम जप्दै रातारात ओलीतिर कुदेका थिए । यस्तो तात्कालिक राजनीतिक तथा मनोवैज्ञानिक पृष्ठभूमिमा रहेका रावल लगायतका नेताहरु मंसीरे महाधिवेशनमा अध्यक्ष ओलीको तारो बन्न सक्ने पनि देखिएको छ ।
एमाले र एकीकृत समाजवादी स्पष्ट रुपमा विभाजित भएपछि अब एक अर्काको नेता तथा कार्यकर्ता तानातान र हानाहानको अवस्था र अन्तरविरोध नै रहेन । तरलताको अवस्था नरहेकाले अवसरको खोजीमा बीचबीच खेल्ने परिस्थिति पनि रहेन ।
त्यसैले कार्यदलको संयोजक र एकताको रटान फालेर नुहाइधुवाई गरी महाधिवेशनका लागि रावलले तयारी गरिरहेको छनकका रुपमा पनि उनको राजीनामालाई लिन थालिएको छ । जे होस्, रावल खेमा र पार्टी अध्यक्ष ओलीका लागि कार्यदलको लुतो औपचारिक रुपमै फालिएपछि आनन्द हुन गएकोमा भने दुविधा छैन । कार्यदलको संयोजकले राजीनामा दिइसकेपछि ‘न रहेगी बाँस और न बजेगी बाँसरी !’