बेलायतस्थित ग्लास्गोमा कात्तिक १५ र १६ गते भव्यताका साथ जलवायु सम्मेलन हुँदैछ । २६औं राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
यति बेला नेपालको सन्दर्भलाई पनि जोडेर हेरिनु पर्छ, यो सम्मेलनलाई । आजभन्दा ठीक १२ वर्ष अघि सन् २००९ डिसेम्बरमा डेनमार्कको कोपनहेगनमा १५औं राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन भैरहँदा नेपालले कालापत्थरमा मन्त्रिपरिषद बैठक सम्पन्न गरेको थियो ।
नेपालको उद्देश्य थियो, पग्लेर कालापत्थरमा परिणत हुँदै गरेको हिमालयतिर उक्त सम्मेलनको ध्यान जाओस् । पग्लिइरहेको हिमालय त्यसको एक महत्वपूर्ण इस्यु बनोस् । किनकि, जलवायु परिवर्तनबाट हिमश्रृंखला अबका दिनमा हिउँविहीन हुने देखिएका छन् ।
हिमालयमा हिउँ पग्लँदै जानु तर बेमौसमी वर्षाका कारण बाढीपहिरो र डुुबानबाट नेपालले ठूलो क्षति बेहार्नुजस्ता अचम्म लाग्ने घटना जलवायु परिवर्तनकै कारण हुन गएका छन् । यस्ता घटना अन्य देशमा पनि घटिरहेका छन् ।
यति मात्र होइन, कतै बेमौसमी वर्षा भैरहँदा अन्त कतै भने चट्याङ पर्ने, खडेरी पर्ने र डढेलो लाग्नेजस्ता विपद दोहोरिइरहेका छन् । यसले पर्यावरणमा निकै ठूलो असर निम्त्याइरहेको छ ।
मौसम कतिबेला परिवर्तन हुन्छ र के हुन्छ भन्ने कुरा मौसमविदले समेत पूर्वानुमान गर्नसक्ने अवस्था छैन । मात्र यति भनिन्छ कि जलवायु परिवर्तनकै कारण यी सबै घटना हुन गएका हुन् ।
विश्व तापमानमा वृद्धिसँगै नेपालमा हुने औसत जलवायुमा निकै ठूलो हेरफेर हुन गएको छ । यसको असर प्राकृतिक रुपमा निर्मित हिमालदेखि तराईसम्मका मानिस, तिनका क्रियाकलाप, जीवजन्तु, वन–वनस्पति र कृषिलगायत विभिन्न क्षेत्रमा देखा परिरहेको छ ।
जलवायु परिवर्तनका कारण जुनसुकै बेला पनि निम्तन सक्ने समस्यासँग मुकाबला गर्नका लागि तयार रहनु पर्ने मानसिक तथा भौतिक तयारीका लागि सोच बनेको देखिदैन ।
देशमा यसको बारेमा बहस र तयारी नगरिएको बेलामा ग्लास्गो सम्मेलनमा पुगेका प्रधानमन्त्रीले के यी सबै कुरा समस्याका रुपमा उठाउने र तिनको खोजीमा वैश्विक प्रयत्न गरिने गरी उठाउन सक्लान् भन्ने बहस पनि चलिरहेको छ ।
प्रम देउवाको नेतृत्वमा पुगेको २० सदस्यीय जम्बो टिमले के यी सबै कुरामा ध्यान दिएको होला ? यो अझै खुलेको छैन । हरेक अन्तर्राष्ट्रिय सम्मेलन नेपालका लागि समस्या समाधानका थलोभन्दा पनि विदेश भ्रमणको अवसरका रुपमा देखिने गरेका छन् ।
अहिलेको ग्लास्गो सम्मेलन पनि नेपालका लागि विदेश भ्रमणको रमझम मात्र हो कि वास्तविक समस्याको उजागर र समाधान, त्यो पनि हेर्न बाँकी छ ।
यसपालि ग्लास्गो सम्मेलनमा सहभागी हुन पुगेका प्रम देउवा त्यहाँ पुगेर पृथ्वी तात्दै गएको कुरा सुनेर मात्र आउने हुन् कि आफू पनि तातेर नेपालका समस्या राख्ने हुन् ती आफैमा स्पष्ट छैनन् ।
नेपालको उत्तरी क्षेत्रमा पूर्वपश्चिम फैलिएको हिमालयको हिउँ पग्लँदै जाँदा त्यहाँ रहेका हिमतालमा पानीको मात्रा बढ्नगई ताल फुट्ने जाने जोखिम निकै बढेर गएको छ । बाढी, पहिरो र डढेलोका कारण वन, कृषिसहित सिंगो नेपाली जनजीवनमा नकारात्मक असर परिरहेको छ ।
नेपालजस्ता देशहरुले वायुमण्डलमा नगन्य मात्रामा कार्बन उत्सर्जन गर्ने गरे पनि विश्वका विकसित र अतिविकसित देशहरुले गरिरहेका असिमित कार्वन उत्सर्जनका कारण ठूलो दण्ड वा क्षति भोगिरहेका छन् ।
विश्व तापमान घटाउन सकिने संभावना कमै छ । बरु हरितगृह ग्यास उत्सर्जन गरेबापत विकसित र अतिविकसित देशहरुले नेपालजस्ता कम विकसित देशहरुलाई दिनुपर्ने क्षतिपूर्तिबारे ग्लास्गो सम्मेलनमा जोडदारपूर्वक उठाउन सके नेपालका लागि बढि हितकारी हुने देखिन्छ । वर्षेनी पग्लदै गैरहेको हिमालयको समस्या पनि यसै विषयसँग जोडिएर आएको छ ।