ऐनाको पछाडीको भागमा किन रातो रङग पोतिएको हुन्छ ?
ऐनाको पछाडी पोतिएको रातो रङ्ग वास्तवमा एक प्रकारको पारोमर्करिक अक्साइड हो । उक्त पारोले गर्दा ऐना हेर्न हुने बन्दछ, अन्यथा अनुहार नदेखिने साधारण पारदर्शक ग्लास जस्तै हुन्छ । पारो ऐनामा पोतेपछि यसले प्रकाशलाई परावर्तन गरिदिन्छ र प्रकाश परावर्तन भएकाले नै हामी ऐनामा आफ्नो अनुहार देख्न सक्छौँ ।
कुहिरो कसरी लाग्छ ?
हावामा रहेका ठण्डा कणहरुमा पानीको वाफ चिसिएर जम्मा हुन गयो भने कुहिरो बन्दछ । हावाको सापेक्षित आद्र्रता संतृप्त अवस्था भन्दा अलिकति मात्रै बढे पनि कुहिरो बन्न सक्दछ ।
पानीको थोपा आकारमा किन गोलो हुन्छ ?
द्रवले आफ्नो सतह क्षेत्रलाई सानो भन्दा सानो राख्न चाहन्छ । एउटा खास आयतनका लागि गोल सतहको क्षेत्र सबैभन्दा सानो क्षेत्र हुन्छ । यसकारण द्रवको सानो थोपाले सधैँ गोलाकार लिन खोज्छ । गुरुत्वको असरले गर्दा द्रव चेप्टो बस्न जान्छ तर द्रव थोरै मात्रामा हुँदा सर्फेस टेन्सनको असरले गुरुत्वको असरभन्दा बढी हुन्छ । त्यसकारण पानीको थोपा आकारमा गोलो हुन्छ ।
सिस्नुले किन पोल्दछ ?
सिस्नुका हाँगा र पातमा ससाना रौँजस्ता काँडाहरु हुन्छन् । यी काँडाहरुको टुप्पो तिखो र फेद फक्रेको थैलीजस्तै हुन्छ । यस्ता थैलीमा फर्मिक एसिड भन्ने एक प्रकारको अम्ल हुन्छ । हलुको ढङगले मात्र छोयो भने पनि काँडाको टुप्पो हाम्रो छालामा छिर्छ, काँडा भाँचिन्छ र हाम्रो छालामा टाँसिएर आउँछ । काँडामा भएको फर्मिक एसिड हाम्रो छालामा पस्दछ र हामीलाई पोलेको अनुभव हुन्छ ।
सूर्यमुखी फूल किन सूर्यतिरै फर्किन्छ ?
सूर्यमुखी फूलमा अक्सिन भन्ने एक प्रकारको हर्मोन हुन्छ । यसले बिरुवाको कोषहरुलाई तन्किन वा लम्बिन मदत गर्दछ । अक्सिन सूर्यको प्रकाश परेको ठाउँबाट सरेर अझेल भएतिर आउँदछ । बिहान पूर्वबाट सूर्य उदाउँदा फूलको डाँठमा भएको अक्सिन घाम नभएपट्टी वा पश्चीतिर जम्मा हुन जान्छ र त्यसतर्फका कोषहरु बढी लम्बिन थाल्छन् । त्यसैले फूल स्वतःपूर्वतिर ढल्कन जान्छ । सूर्य सर्दै जाँदा त्यहीक्रमले अक्सिन पनि सर्दै जान्छ र सूर्यमुखी फूल सधैँ सूर्यतिर फर्किरहेको हुन्छ ।
स्त्री जातिमा दाह्री जुँगा आउँदैन तर पुरुषहरुमा आउँछ, कारण के होला ?
मानिसको उमेर बढ्दै गएपछि कपाल वृद्धि हुने प्रक्रियालाई लैङ्गिक ग्रन्थीले नियन्त्रण गर्न थारल्छ । यो ग्रन्थीलाई एडरेनल ग्लाण्ड भनिन्छ । एडरेनल ग्लाण्डले केटाहरुमा र केटीहरुमा भिन्नभिन्नै प्रकारको रस (हर्मोन) पैदा गर्दछ, जसलाई क्रमशः पुरुष हर्मोन (इन्ड्रोजीन) र महिला हर्मोन (ओईस्ट्रोजीन) भनिन्छ । एन्ड्रोजीनले दाह्री–जुँगा र शरीर रौंको विकास गर्न मद्दत गर्दछ तर तालुको रौं वृद्धिमा भने प्रतिकुल असर पार्दछ । ओइस्ट्रोजीनले तालुको कपाल बढाउन मद्दत गर्छ तर दाह्री–जुँगा र शरीरका रौं भने बढ्न दिँदैन । यसैले स्त्री जातिमा दाह्री–जुँगा आउँदैन, तर पुरुषहरुमा आउँछ ।