• चैत्र २८ २०८१, शुक्रबार

निःशुल्क शिक्षा दिने निजी विद्यालय

कार्तिक १३ २०७८, शनिबार

काठमाडौँ । हाम्रो देशमा शिक्षा क्षेत्रमा जोड्दार रुपमा उठ्ने गर्छ कि निजी विद्यालयहरुले चर्को शुल्क असुलेर अभिभावकहरुको ढाड सेकेका छन् । नेपाल सरकारले बनाएको नीति समेत नमानेर विभिन्न बहाना बनाउँदै कोरोना महामारीले विद्यालय बन्द रहेको समयमा समेत विद्यार्थी तथा अभिभावकहरुबाट चर्को रकम असुलेर निजी विद्यालयका संचालकहरुले गैह्रजिम्मेवार व्यवहार देखाएको भनेर समेत समाचारहरु बाहिर आए ।

समाजवादी संविधान भएको देश नेपालमा निजी विद्यालय हुनुलाई नै अनौठो मानिएको छ भने ती विद्यालयहरुले आफूखुशी र मनपरी असुल्ने गरेको नाजायज शुल्कबाट आम अभिभावक पीडामा रहेका छन् । यसरी निजी विद्यालयले चर्को रुपमा उठाउने शुल्कको हाम्रो देशमा कहिलेकसो विरोध समेत हुने गरेको देखिन्छ । यस्तो विरोध गर्नेमा विभिन्न विद्यार्थी संगठनहरु देखापर्ने गर्दछन् । बेला बेला निजी विद्यालयले लिने चर्को शुल्कको विरोध गर्ने विद्यार्थी संगठनहरु भने उनीहरुबाटै चन्दा लिएर चुप लाग्ने गर्छन् भनेर आरोप लगाउने मानिसहरु पनि नभएका होइनन् ।

मसरुर आधारभूत विद्यालय
मसरुर आधारभूत विद्यालय

तर नेपालमा त्यसरी अभिभावकको ढाड सकेर शुल्क असुलल्ने निजी विद्यालयहरुको भीडमा एउटा फरक विद्यालय देखा परेको छ, जसले नेपाल सरकारबाट एकसुको अनुदान नलिएर भएपनि आम जनताका छोराछोरीहरुलाई निःशुल्क रुपमा गुणस्तरीय आधारभूत शिक्षा प्रदान गरिरहेको छ । त्यसरी निजि स्तरबाट संचालित भएर पनि आम जनताका छोरा छोरीलाई बिना शुल्क शिक्षा प्रदान गरिरहेको विद्यालयको नाम हो, श्री मसरुर आधारभूत पब्लिक विद्यालय ।

कहाँ छ त यो विद्यालय ?

तराईको दुर्गम गाउँ, पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ को नेपाल भारतको सीमाना नजिकैको प्रसौनी भाटा गाउँमा यो विद्यालय अवस्थित रहेको छ । २०६१ सालमा तत्कालिन रुपमा प्राथमिक विद्यालयको रुपमा कक्षा १ देखि ५ सम्म पठन पाठन सुरु गरेर स्थापना भएको यो विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित रहेको छ । नेपाल सरकारमा दर्ता भएर २०६१ सालबाट सञ्चालनमा आएको मसरुर आधारभूत पब्लिक विद्यालयमा अहिले कक्षा ८ सम्म पठन पाठन भइरहेको छ । पूर्णतः नेपाल सरकारको शैक्षिक पाठ्यक्रम लागु भएको यस विद्यालयले विद्यार्थीबाट एक रुपैयाँ पनि शुल्क नलिएर पढाउने काम गरेको छ भने नेपाल सरकारबाट पनि यसलाई कुनै बजेट उपलब्ध हुँदैन ।

कसरी स्थापना भयो यो विद्यालय ?

तराईंलाई तुलनात्मक रुपमा नेपालको सुगम ठाउँको रुपमा लिइने भएपनि प्रसौनी भाटा गाउँ तराईको अरु स्थानको तुलनामा दुर्गम र पिछडिएको जस्तो देखिन्छ । साविक प्रसौनी भाटा गाउँपालिका रहेको सो गाउँमा एउटा गतिलो विद्यालय नहुनु केही वर्ष पहिलेसम्म अभिसाप जस्तै देखिन्थ्यो । प्रसौनी भाटा गाउँमा एउटा सरकारी प्राथमिक विद्यालय रहेको भएपनि त्यसमा न पुरापुर शिक्षक हुन्थे न त सरकारले त्यो विद्यालयलाई पठन पाठन हुन र गर्न लायक नै बनाउँथ्यो ।

सिङ्गै प्रसौनी भाटा गाविसका जनताका छोराछोरी प्राथमिक स्तरको शिक्षा आर्जन गर्न पनि अरु गाविसहरुमा रहेका विद्यालयमा जानुपर्ने बाध्यता रहेको थियो । यस्तो बाध्यतालाई हटाउन त्यो मुस्लिम बाहुल्य गाउँमा मुस्लिम अगुवाहरु विद्यालय स्थापना गर्न लागिपरे । जनताका छोरा छोरीहरुले शिक्षा आर्जन गर्न पाउन् र गरिब विद्यार्थीहरुले निशुल्क रुपमा त्यो अवसर प्राप्त गरुन् भन्ने ती मुस्लिम युवा अगुवाहरुको धारणा थियो । उनीहरुको आवश्यकता पुर्ती गर्न आयो एउटा मुस्लिम संगठन अहमदिया संघ नेपाल । अहमदिया संघ नेपालको लगानी र पहलमा त्यो गाउँमा विद्यालय स्थापना भयो ।

एउटा व्यवस्थित विद्यालय

सो गाउँमा विद्यालय स्थापना भएपछि गाउँका जनताका छोराछोरीले गाउँमै आधारभूत शिक्षा प्राप्त गर्ने अवसर पाए । अहमदिया संघ नेपालले यस विद्यालयलाई संचालन र व्यवस्थापन गर्ने पुरा जिम्मेवारी लियो । संघले विद्यालयको लागि जग्गा खरिद गर्यो भवन बनायो । शिक्षकहरुका लागि आवास समेत निर्माण गर्यो र गर्यो गाउँका मुस्लिमहरुले (प्रार्थना) नमाज गर्ने मस्जिद पनि निर्माण । ‘सबैलाई माया गर, कसैलाई घृणा नगर’ भन्ने वाक्यंशलाई आफ्नो आदर्श नारा बनाएको अहमदिया संघले प्रसौनी भाटा गाउँमा एउटा व्यवस्थित विद्यालय निर्माण गरेर गाउँको मुहार नै बदलिदिएको छ ।

मसरुर आधारभूत विद्यालयको बोर्ड
मसरुर आधारभूत विद्यालयको बोर्ड

गाउँले जनताले आफ्ना छोराछोरी पढाउने विद्यालय पाएका छन् भने आफूले नमाज गर्ने मस्जिद पनि । पहिले प्रसौनी भाटाबाट गाउँका बालबालिकाहरु आधारभूत शिक्षा लिन वरिपरिका गाउँमा जान्थे भने मसरुर आधारभूत विद्यालय त्यहाँ स्थापना भएर गुणस्तरीय शिक्षा त्यही हुने भएपछि वरिपरिका गाउँका विद्यार्थी समेत अहिले सोही विद्यालयमा शिक्षा आर्जन गर्न आउने गरेको अहमदिया संघ नेपालका राष्ट्रिय सरदार मोहन मोइन रावत बताउँछन् ।

निजि विद्यालय तर पूर्ण निशुल्क

हाल कक्षा १ देखि ८ सम्म अर्थात् आधारभूत स्तरको पठन पाठन भइरहेको सो विद्यालयमा अहिले जम्मा ३४५ विद्यार्थीहरुले शिक्षा आर्जन गरिरहेको प्रधानअध्यापक साजद हुसेन गदी बताउँछन् । सो विद्यालयमा विद्यार्थीबाट कुनैपनि शुल्क नलिइने बरु विद्यार्थीहरुलाई विद्यालय पोसाक, किताब र गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कापी र कलम लगायत अरु आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइने प्रधान अध्यापक हुसेनले जानकारी दिए ।

विभिन्न स्रोतहरुबाट आर्थिक जोहो गरेर विद्यालय सञ्चालन गरिरहेको अहमदिया संघका केन्द्रिय अध्यक्ष करुल हुदा अन्सारी रहेका छन् भने सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ईस्राइल अहमद रहेका छन् । यस विद्यालयलाई एक प्राविधिक धारको माध्यमिक विद्यालय बनाएर तराईका दुर्गम ठाउँका विद्यार्थीलाई उच्च शिक्षाको ढोकासम्म पुर्याउने भविष्यको लक्ष्य र योजना रहेको राष्ट्रिय सरदार रावतले बताए ।

स्थलगत रिपोर्ट