काठमाडौँ। नेपाली काँङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।
दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा नेपाली काँङ्ग्रेस काठमाडौँ महानगरपालिका– ८ वडा इकाइ समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल आयल निगमको व्यवस्थापनका सबै पक्षलाई सूक्ष्म विश्लेषण गरी फजूल खर्च घटाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिए ।
आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गर्नुभयो ।
देशलाई वेथितिबाट पार लगाउन काँङ्ग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएको तर्क गर्दै उनले जनचाहनाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिए । “इन्धनको मूल्यवृद्धिले जनतालाई राहत होइन, आहत पारेको छ,” उनले भने ।
पटक–पटक पार्टीको १४ औँ महाधिवेशनको तिथि सारिएकामा रोष प्रकट गर्दै नेता सिंहले पछिल्लो समयमा घोषित मितिमा नै महाधिवेशन सम्पन्न गर्नैपर्नेमा जोड दिए । विधि र पद्धतिअनुसार पार्टी सञ्चालन नभएकोमा चिन्ता व्यक्त गर्दै उनले ‘व्यक्ति होइन विचारलाई मानेर अघि बढ्न पार्टी कार्यकर्तालाई आग्रह गरे।
इकाइ सभापति आशमान सङ्गतले तल्लो तहदेखि नै इमानदार नेतालाई नेतृत्वमा पुर्याउनु समयको माग भएको विचार व्यक्त गर्दै पार्टीको छविमा आँच आउने गतिविधि नगर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि पार्टीपङ्ति एक ढिक्का हुनुपर्नेमा जोड दिए ।