• मंसिर १३ २०८१, बिहीबार

अदालतमा देखिएको समस्‍या अदालत आफैंले समाधान गर्नुपर्छ : नेम्वाङ

कार्तिक १३ २०७८, शनिबार

काठमाडौँ। नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतमा अहिले देखिएको समस्यामा राजनीतिक दलहरुले हस्ताक्षेप गर्न नहुने बताएका छन् । शनिबार संसद भवन नयाँ बानेश्वोरमा बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले अहिलेको समस्या अदालतमा आफैंले समाधान गर्नुपर्ने बताए।

‘कहिले काँही कतिपय अवस्थामा दलहरूले यति चाँहि नगर्नुहोस् भनेर न्यायाधीशहरुलाई भन्नुपर्ने हुन्छ । कतिपय यस्ता कुरा (अहिले देखिएको समस्या) अफ्ठ्यारो पारेको पनि हुनसक्छ । अहिले त्यस विषयमा चर्चा गर्न चाहिनँ,’ उनले, ‘अहिलेको यो पृष्ठभूमिमा अहिलेको विषयको सन्दर्भमा अहिले न्यायपालिका आफैं एउटा निष्कर्षमा पुग्नुपर्छ । न्यायपालिका आफैंले समस्या समाधान गर्नका लागि पहल गर्नुपर्छ । न्यायपालिका यो विषयमा हामीले अर्थात् राजनीतिक दलले हस्ताक्षेप गर्नु हुँदैन यो विषय न्यायापालिकालाई छाडिदिनुपर्छ । ‘अदालतको आन्तरिक मामिलामा हामीले हस्ताक्षेप गर्नुहुँदैन । यो विषयलाई अदालतले टुंग्याओस् । यसमा हाम्रो शुभकामना छ ।’

उप नेता नेम्वाङले अहिले अदालतमा देखिएको समस्या निकै दु:खद भएको बताए । ‘अदालतमा जे भएको छ त्यो एकदमै दुःखद छ । त्यसको निकास अदालतमा दिनुपर्छ,’ नेम्वाङले भने, ‘यो लामो समयमा जानु हुँदैन ।’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराप्रति असन्तुष्टि जनाउँदै अदालतका न्यायाधीशहरुले राजीनामाको माग गरिरहेका छन्।