• मंसिर १३ २०८१, बिहीबार

नक्कली सहीछाप बनाई अर्कैको जग्गा बेचेको आरोप लागेका ३ जना जेल चलान

कार्तिक १३ २०७८, शनिबार

सुर्खेत । उच्च अदालत सुर्खेतले अर्कैको जग्गा बेचिदिने तीन जनालाई कारागार चलान गर्न आदेश दिएको छ । उच्च अदालतले वीरेन्द्रनगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर–२ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर–५ का निर्मल पुरी र वीरेन्द्रनगर–२ का गोर्खबहादुर भन्ने गणेश बुढालाई कारागार चलान गर्न आदेश दिएको हो । उनीहरूले जग्गाका मालिक सौगात रावतको नक्कली सहीछाप गरी उनको जग्गा अर्कैलाई बेचेका थिए । रावतको उक्त सहीछाप विधि विज्ञान प्रयोगशालाबाट नमिलेको प्रमाणित भएको थियो ।

रावतको नाममा दर्ता भएको वीरेन्द्रनगर–१२ रहेको कित्ता नं ३१११ को जग्गामध्ये २०७७ असार १० गतेपछि ६ कित्तामा अर्कैको नाममा नामसारी गरेको खुलेको थियो ।

२०७७ पुस २९ गते जग्गाको नक्सा निकाल्ने क्रममा रावतका नामको कित्ता नम्बर नभेटिएपछि जग्गा अर्कैको नाममा नामसारी भएको खुलेको हो ।

ठाकुरसहितले सहवीर कार्कीको नाममा राजीनामा लिखित पारित गरी लिएपछि मालपोतका कर्मचारीसहित यो प्रकरणमा मुछिएका थिए । यसअघि वैशाख १६ गते उनीहरूलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

ठाकुरबाट ५ लाख, पुरी र बुढाबाट ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो । उच्च अदालतले उक्त आदेशलाई बदर गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।