• मंसिर १३ २०८१, बिहीबार

न्यायालयमा देखिएको समस्यामा कांग्रेस मुकदर्शक बनेर नजरअन्दाज गर्न मिल्दैन : गगन थापा

कार्तिक १२ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि आफ्नो पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् ।

गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन नमिल्ने उल्लेख गरेका छन् ।

‘यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको बिषय हो उसैले जानोस भनेर नजरअन्दाज गर्न मिल्छ ? कदापि मिल्दैन । किनकि यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले, आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन यस मामिलामा मौन बस्नै मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति जारी गर्नेहरूमा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाई, रामकृष्ण यादव र किरण यादव रहेका छन् ।

उनीहरुले अदालतको विषय अदालतले सुल्झाउनुपर्ने, थप टिप्पणी गर्न नहुने भनेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिमा पनि आपत्ति जनाएका छन् ।