• मंसिर १३ २०८१, बिहीबार

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने र राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल भएको छैन : डीला संग्रौला

कार्तिक १२ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छिन् ।शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन । लोकतन्त्रको मूलभूत मान्यता भनेको स्वतन्त्र न्यायापालिका पनि हो । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा कांग्रेसले कहिल्यै पनि हस्तक्षेप गर्दैन । यो विषयमा गठबन्धन दलभित्र छिनोफानो गर्नुपर्छ । पार्टीले संस्थागत रुपमा यो विषयमा छलफल गरेको छैन । ‘संसदीय दलमा पनि यो कुरा छलफल भएको छैन । व्यक्तिगत रुपमा भन्दा यो कुरा अदालतबाट टुंगो लगाउने वा संसद्बाट टुँगो लगाउने हो ? गठबन्धनमा छलफल होस ।’

त्यस्तै उनले न्यायापालिका जनताको आत्माको केन्द्रविन्दू भएको बताइन् । उनले भनिन्, ‘न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका शक्ति पृथकीरणअनुसार चल्नुपर्छ । हेर्नुहोस्, सबै नेपाली जनताको आस्थाको केन्द्र सर्वोच्च अदालत नै हो । अहिले नेपाली जनतामा निराशा पैदा भएको छ ।’

उनले सर्वोच्च अदालत स्वतन्त्र रहेको सुनाउँदै यसको दायराभित्र हस्तक्षेप गर्न नहुने पनि बताइन् । उनले भनिन्, ‘विद्यमान समस्याको निरुपण त्यही क्षेत्रमा, त्यही मातहतमा बसेर खोजी गर्दा राम्रो हुन्छ । हरेक कुरामा राजनीति छिरायो भने राम्रो हुँदैन । सबै पार्टीका नेतागणहरुले मुलुकको निकासको लागि खासगरी उहाँहरु राष्ट्रिय ईस्युको बारेमा एकमत हुनुपर्छ ।’

उनले फेरि भनिन्, ‘छिटो गठबन्धन दलभित्र अहिलेको न्यायालयको निकासबारे छलफल हुनुपर्छ । यसको निरुपण संसदले गर्ने कि न्यायालयले ? भनेर छलफल हुनुपर्छ । यो समस्या यथास्थितिमा यथावत राख्दा ठूलो संकट आउँदैछ भनेर विज्ञहरु भनिरहेका छन् ।’

सांसद संग्रौलाले जनताको आवाज बुलन्द पार्ने थलो संसद्को अधिवेशन भएको बताइन् । उनले भनिन्, ‘जनताका यावत समस्या छन, त्यसको बारेमा हामीले आफ्ना कुरा राख्न पाएनौं । संसद् प्रतिपक्षीको हो । समाधानको लागि सभामुखले पहल पनि गर्नुभयो । समाधानको उपाय खोज्नुभयो । तर, प्रतिपक्षले विरोध गरिरह्यो । जनताका मुख बन्द भए । हाम्रा आवाज बन्द भए । हामीले केही नबोली यो संसद् अधिवेशन अन्त्य भयो ।’

त्यस्तै उनले देशभरि हालै आएको बेमौसमी वर्षाको कारण किसानहरु ठूलो मारमा परेको र अरबौंको बाली/नाली क्षति भएको उल्लेख गर्दै उनीहरुलाई मल्हम लगाउनेगरी सरकारले ५ अर्ब राहत दिने निर्णय गरेकोमा स्वागत गरिन् ।