• मंसिर ११ २०८१, मंगलवार

सडक स्तरोन्नती नहुँदा बिरामी बोक्न बाध्य कालिकोटबासी

कार्तिक १२ २०७८, शुक्रबार

कालिकोट । खाँडाचक्र नगरपालिका–११ बदालकोट अहिलेसम्म पनि स्थानीयहरु स्टेचरमै बिरामी बोक्न छन् । नगरपालिका घोषणा गरिएर पनि अहिलेसम्म सडकको स्तर उन्नती हुन सकेको छैन ।

नगरपालिका भएपछि विकास होला भनेर जग्गाको करदेखि सबै व्यवसायको कर बढी नै तिर्ने गरेका छन् । खै त कता गएको होला तीनै तहको सरकारलाई अहिलेसम्म जनताले तिरेको करबाट भएको विकास ? न त स्थानीय सरकारले, न त प्रदेश सरकारले, न त केन्द्रिय सरकारले नै स्थानीयका समस्या बुझ्यो । स्थानीय जनताको गुनासो छ,‘नेताको घर जाने बाटो बन्छ तर जनताको घर जाने र बिरामीलाई अस्पताल जाने बाटो बन्दैन ।’

सडक खोल्ने मात्र विकास होइन, जनताले उपयोग गर्न पाउनका लागि खोलेका सडकको स्तरोउन्नती पनि हुनुपर्छ । सडकको स्तरोउन्नती भएन भने दुर्घटना हुन्छ भन्ने नेताहरुलाई राम्रोसँग थाहा होला । बरातुको सडकको न इन्जिनिएरिङको मापदण्ड पुगेको छ, न प्राविधिक सल्लाह छ, न त डिपिआर नै छ । न त अवलोकन गर्ने निकाय नै छ । यो एउटा उदाहरण मात्र हो ।

यस्ता उदाहरणहरु धेरै नै दिन सकिन्छ । तर बाटो बनाउनका लागि गाउँका केही जग्गा र गाउँकै पहिलेका सडकहरु पनि बिगारिएको छ । आफ्नो जग्गा बचाउने सोचका कारण बाटोको बनावट नै बिगारिएको छ । यो त नेपाल भरका विभिन्न ठाउँका गरीब जनताको समस्या नै हो, जुन समस्या कालिकोटमा नहुने कुरै भएन ।

स्थानीयहरु भन्छन्,‘न त हाम्रा ठूला नेता छन्, न त हामीले ठूला नेता चिनेका छौं, चिनेका भएपनि हामीले भनेको कसले कसैले सुन्दैन र मान्दैन पनि ।’

यसरी विकासको नाममा बाटो बिगारिएको र जग्गा पनि बिगारिएको छ । बिगारेरै भएपनि राम्रो र सुविधा पाउने गरी स्तरोन्नती गरेर जनतालाई सुविधा दिनेतिर सरकारहरुले सोच्ने कि !