वंश एक पहिचान :
विश्वमा आफ्नो पूर्खाको पहिचानका लागि वंशको खोजी गरिन्छ । यो पहिचानको कुरा पनि हो । सर्वसाधरण जनताको पनि आआफ्नो वंश हुन्छ ।
तर इतिहासमा वर्णन गरिएका वंशहरु केवल शासक वंशमात्र छन् । शासकको इतिहास लेखनमा यो जहाँ पनि पढ्न पाइन्छ । पश्चिमा तथा पूर्वीय दुवै सभ्यातामा यसको समान चर्चा र चासो रहेको पनि पाइन्छ ।
वंशहरुका साथै मानव जातिको अध्ययनका लागि महावंशको पनि पहिचान र सम्बोधन भैरहेको छ । यो पहिचान र सम्बोधन आफैमा स्वभाविक बन्दै आएको पनि छ ।
वंश बिस्तार :
वंश निर्माण र बिस्तारलाई प्राकृतिक रुपमा पनि लिइँदै आएको छ । महावंशभित्रका वंश बिस्तार हुन कैयौं युगहरु बितेका छन् । वैज्ञानिक चाल्र्स डार्बिनको ‘बाँच्नका लागि संघर्ष’ ले यसमा ठूलो भूमिका निर्वाह गरेको छ ।
तर विज्ञान र प्रविधिका कारण अबका दिनमा वंश निर्माण र बिस्तारको यो कार्य हजारौं वर्ष नलाग्ने देखिएको छ । छोटो समयमै वंश बिस्तारको काम सम्पन्न हुने पुष्टि भैसकेको छ ।
वीर्य शीत भण्डारण :
हालै मात्र बेलायतमा मानिसको डिम्ब, शुक्रकिट र भ्रुणलाई बढिमा ५५ वर्षसम्म शीत भण्डारण गर्न सकिने विश्वासका साथ कानून बनाउन थालिएको छ । दश वर्षसम्म भण्डारण गर्न मिल्ने अहिलेको बेलायती कानुनमा यो एक ठूलो परिमार्जन पनि हो ।
प्रस्तावित कानुनलाई संसदले अनुमोदन गरेपछि १० वर्षका लागि भनेर आमाबुवाले भण्डारण गरेको शुक्रकिट र भ्रुण अब ५५ वर्षसम्म भण्डारण गर्न पाउने छन् । हालको कानुनअनुसार यसरी शीत भण्डारण गरिएको डिम्ब, भ्रुण र शुक्रकिट १० वर्ष पूरा भएपछि प्रजनन प्रक्रिया अघि बढाउने वा नष्ट गर्ने भनी निर्णय लिनुपर्दथ्यो ।
प्रजनन स्वतन्त्रताका कुरा :
५५ वर्षसम्म वीर्य, डिम्ब र भ्रुण संरक्षण गर्न पाउने कानुन ल्याउने बहससँगै बेलायतमा ‘अब मानिसमा प्रजनन स्वतन्त्रता हुने’ वकालत बहसमा आएको छ । बेलायती फर्टिलिटी सोसाइटीसहित धेरैले यसको खुलेर स्वागत पनि गरिरहेका छन् ।
विज्ञहरुले चढ्दो उमेरमा डिम्ब शीतभण्डारण गर्ने महिलामा कृत्रिम गर्भाधान पूर्ण रुपमा सफल हुने सुझाव पनि दिएका छन् ।
वीर्यदाता एरी नगेल :
बेलायतमा वीर्य, डिम्ब तथा भ्रुण शीत भण्डारणको समयसीमा बढाउने कुरा चलिरहँदा यो भन्दा भिन्नै तरिकाले एरी नगेलले वीर्य दान गर्दै आएका छन् । ‘धेरैको बाबु हुन पाउँदा खुशी लाग्छ’, वीर्य दान गरेर चर्चामा आएका नगेलको स्वीकारोक्ति छ ।
उनले वीर्यदान गरेसँगै आफ्नो वंशको अमूर्तरुपमा दावा र अभिभावकत्व पनि ग्रहण गर्न खोजेका छन् । उनले दाबी गरेको धेरै सन्तानको बाबु हुनुमा आएको खुशीको अन्तर्यमा यही कुरा लुकेको छ ।
कोभिड महामारीमा नगेल :
कोभिड महामारीका बेला धेरै मानिस आआफ्नै तरिकाले समय व्यतित गरे । कामबाट बिदा पाए । फूर्सदमा बसे । घरमै बसेर समय बिताए ।
यो बेलामा पनि ४४ वर्षीय एरी नगेलले वीर्य दानको काम जारी नै राखे । निरन्तर निःशुल्क वीर्य दान गरिरहे । हाल न्युयोर्कमा बस्दै आएका नगेलको दान गरिएको बीर्यबाट दर्जनौं महिला आमा बनिसकेका छन् । उनको वीर्यबाट अहिलेसम्म एक सयजना सन्तान जन्मिइसकेका छन् ।
धृतराष्ट्रको हैसियतमा नगेल :
पेशाले गणितका प्राध्यापक एरी नगेल अहिले एक शय जना सन्तानको बाबु बनिसकेका छन् । महाभारत पल्टाएर हेर्यौं भने उनी अहिले एकशय सन्तानका पिता धृतराष्ट्रको हैसियतमा छन् ।
उनी त्यतिमा मात्र सिमित रहने छैनन् । उनका सन्तान हजारौंको संख्यामा हुने छन् । वीर्य दाताका रुपमा उनको चर्चासँगै उनलाई बीर्य दान गर्न विश्वभरबाट निम्तो आइरहेको छ ।
भोलिन्टियर हुन् एरी नगेल :
‘स्पर्मिनेटर’ भनेर चिनिदै गएका नगेल भोलिन्टिएर वीर्यदाता हुन् । वीर्यदान गरेवापत् उनले अहिलेसम्म कुनै पनि महिलाबाट शुल्क लिएका छैनन् ।
उनको खुशी यसैमा छ कि उनी ‘यति धेरै बालबालिकाको बाबु बन्न पाएका छन्’ । नगेल आफूले दान गरेको वीर्य कुन कुन महिलाले लिए भनी उत्तिको ख्याल गर्दैनन् । तर तीमध्ये केहीलाई भने दैनिक देखिरहन्छन् ।
संसारभर बढ्दै छन् नगेलका सन्तान :
नगेलका हरेक वर्ष सन्तानले जन्म लिइरहन्छन् । यो वर्ष थप ३० जना सन्तान जन्मदै गरेको उनले थाह पाएका छन् । यस अतिरिक्त उनको परिवारमा आफ्नै सन्तान पनि छन् ।
नगेल टार्गेट रेस्टरुम, अमेरिकन म्युजियम अफ नेचलर हिस्ट्री र कैयौं होटेलमा वीर्यदान गर्दै आएका छन् । वीर्यदान गर्नकै लागि उनी अफ्रिकादेखि जर्जियासम्मको यात्रा पूरा गरिसकेका छन् ।
विश्वमा वीर्यदान गर्ने मानिसको अभाव :
विश्वमा अझै पनि वीर्यदान गर्ने मानिसको अभाव छ । मानिस वीर्यदान गर्नमा त्यति इच्छुक पनि देखिदैनन् । तर नगेल भने वीर्यदान गर्ने कार्यमा निरन्तर लागिरहेका छन् ।
महिला र त्यसमा पनि विशेषगरी समलिङ्गी बिहे गरेका महिलालाई सहयोग गर्ने चाहना नगेलको रहेको छ । यो सोचले नगेललाई वीर्यदान गर्न उत्साहित बनाइरहेको उनको स्वीकारोक्ति छ ।