चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो लडाइँ हुँदै गरेको बताएका छन् । उनले आउँदो चुनाव पनि आफूले चितवनबाटै लड्ने बताए।
शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले अब चुनावमा महाभारत नै पर्ने बताए ।‘चुनाव आउँदैछ, यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठानिएको छ भने सही हुँदैन । यहाँ ठूलो लडाइँ हुँदैछ, महाभारत हुँदैछ । यो भूमि कुरुक्षेत्र हुन लागेको छ, कौरवले कि पाण्डवले कसल् जित्ने हो, हेर्नु छ ।’उनले भने,
उनले केही तत्वहरुले माओवादीलाई सखाप पार्ने ध्वास दिइरहेको भन्दै त्यसो हुनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्र नै सखाप पार्ने षड्यन्त्र रहेको बताए । उनले उत्पीडित वर्ग समुदायले पाएको सीमित अधिकार पनि खोस्ने काम हुनसक्ने भन्दै चिन्ता जाहेर गरे ।
अर्को प्रसंगमा प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट प्रयोग गरेको भनेर आलोचना गरिएको बताए । तर उनले ओली प्रधानमन्त्री हुँदा भने विदेशबाट महँगा सामान झिकाएर बालुवाटारको सरकारी निवासलाई दरबारजस्तो बनाइएको आरोप लगाए ।