काठमाडौं । टोकियोस्थित एक बाइक कम्पनीले उड्ने मोटरसाइकल सफलतापूर्वक निर्माण गरेको छ । परीक्षण प्रयोग सफल भएपछि यसलाई बिक्रि बितरण गर्ने घोषणासहित सार्वजनिक पनि गरिएको छ ।
होभरबाइक नाम दिइएको उक्त उड्ने मोटरसाइकल अब विश्वभर बिक्रिका लागि पठाइने छ । एएलआई कम्पनीद्वारा उत्पादित उड्ने मोटरसाइकल एकपट चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटर आकाशमा उड्न सक्छ ।
होभरबाइकको मूल्य ६ लाख ८२ हजार डलर अर्थात् झण्डै आठ करोड पर्दछ । कम्पनीका अनुसार उक्त बाइकको तौल तीन सय किलो रहेको छ । उडानका बेला यसमा एकजना मात्र चढ्न मिल्छ ।
डिजाइनमा पुरानै आकारमा केही परिमार्जन गरिएको जस्तो देखिने यो बाइकमा परम्परागत इन्जिन र ब्याट्रीजडित चार मोटर राखिएका छन् । सार्वजनिक गरिएको दिनदेखि उक्त मोटर साइककलको अर्डर लिन थालिएको छ ।
तर यो बजारमा जान र यसको दीगोपनाको मापन हुन बाँकी नै छ । आगामी वर्षको मध्यसम्ममा सीमित ग्राहकलाई २०० मोटरबाइक उपलब्ध गराउन सकिने कम्पनीको दावा छ ।
यो प्रविधिको निर्माणमा इलेक्ट्रोनिक कम्पनी मित्सुबिसी र फुटबल खेलाडी केइसुके होन्डाले लगानी गरेका छन् । होभरबाइक निर्माता कम्पनीले अबको जमाना होभरबाइकको हुने दाबी गरेका छन् ।
(एजेन्सीको सहयोगमा)