• चैत्र २८ २०८१, शुक्रबार

घिमिरेको ‘खोजी’ मुक्तक संग्रह बजारमा

कार्तिक ११ २०७८, बिहीबार

काठमाडौँ । नवोदित मुक्तककार निश्चल घिमिरेको मुक्तक संग्रह ‘खोजी’ सार्वजनिक भएको छ । नुवाकोटे युवा साहित्यकार घिमिरेद्वारा सिर्जना गरिएको पहिलो पुस्तकको रुपमा ‘खोजी’ मुक्तक संग्रह हालै काठमाडौँमा सार्वजनिक भएको हो ।

खोजी मुक्तक संग्रहमा १३० वटा मुक्तक संग्रहित छन् । विद्यालय शिक्षा पूरा गरेपछि साहित्यतिर झुकाव बढेका घिमिरेले मुक्तक लेख्न भने ५/६ वर्ष अघि मात्र सुरु गरेका थिए । हाल चार्टड एकाउण्टेडको पढाइ जारी राखेका मुक्तककार घिमिरेले २२ वर्षको उमेरमै मुक्तक संग्रह निकाल्न सफल भएका हुन् ।

६५+६ पेजको ‘खोजी’ मुक्तक संग्रहको पुस्तकको आवरण स्वयं घिमिरेले नै सिर्जना गरेका छन् भने ले-आउट रामकृष्ण महर्जनले बनाएका छन्। आकर्षक आवरणमा प्रकाशित सो मुक्तक संग्रहमा माटोको माया, प्रणयभाव, सम्बन्ध जोडिनु र विच्छेद हुनु लगायत पौरख, विभन्न प्रवृत्ति र अनुभवको संवाहकजस्ता लाग्ने मुक्तकहरु समेटिएका छन् ।

यसको अलावा घिमिरेका मुक्तकमा माया र प्रेमलाई रमाइलो राजनीतिक रंग भरिएको पाइन्छ भने आफ्नो कला, संस्कृति र धर्मलाई समेत मुक्तकमा समेटेको पाइन्छ । खोजी मुक्तक संग्रहमा युवा मुक्तककार घिमिरे कुनै स्थानमा प्रेमिल युवाको रुपमा प्रस्तुत भएका छन् भने कतै उत्साहित मन लिएर प्रस्तुत भएका छन् । मुक्तकमा कतै विद्रोही युवाको रुपमा पनि उनी देखिएका छन् भने कतै दिक्दारी पनि व्यक्त गरेका छन् । एउटै मान्छेका विभिन्न रंग र भाव देखिने मुक्तक संग्रहमा घिमिरेको कतै कोमल बालहृदय छाम्न सकिन्छ भने कतै जोसिलो युवाको उर्लंदो छाल ।

साहित्यकार रविना घिमिरे ‘जिज्ञाशु’ र डा. शैलेन्द्रप्रकाश नेपालले पुस्तकमा घिमरेलाई शुभकामना दिएका छन् भने साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठले पुस्तकको छोटो भूमिका लेखेका छन् ।

पढौं उनको मुक्तक संग्रहमा संग्रहित केही मुक्तकहरु
(१)
कसैको मायामा ठक्कर खाएर त हेर
कहिल्यै नसोचेको परिमाण पाएर त हेर
आगोको ताप त फिक्का जस्तै ठान्नेछौ
मेरो जलेको मुटु अगाडि आएर त हेर ।
(१०)
आफ्नै कमाइले जब घर थपिन्छ
कसैलाई गुमाउने जब डर थपिन्छ
यो मन मा शान्ति त्यति बेला मिल्नेछ
तिम्रो नाममा जब थर थपिन्छ ।
(१२)
अलिपरबाट आँधीहुरी चलेको देख्छु
यता कसैको चुरीफुरी चलेको देख्छु
मुटुमा सजाएको त्यै मान्छेबाट किन
सपनामा ममाथि खुकुरी चलेको देख्छु ।
(८१)
तिमी ढुंगालाई पूजा गर्छौ, मन्दिरमा राख्छौ
वृद्धाश्रम पठाउँछौ बाआमालाई, पिरमा राख्छौ
दक्ष युवा खाडीमा खटिदै छन् दिनरात
नेताज्यू आफ्नो मान्छे मात्रै किन जागिरमा राख्छौ ।