काठमाडौं । उत्तर कोरिया सरकारले आफ्ना नागरिकलाई ‘चाहिने मात्रामा र थोरै खान’ आह्वान गरेको छ । यसमा एक त घरेलु रुपमा खाद्यान्नको संकट हुनु र दोस्रो कोभिड महामारीका कारण चीनसँगको सीमानाका नखुल्नु रहेका छन् ।
कम उर्वर भौगोलिक अवस्थितिका कारण उत्तर कोरिया हरेक वर्ष खाद्य संकटबाट नराम्रोसँग प्रभावित हुँदै आएको छ । खाद्यअभावका कारण पर्याप्त खाना नपाउँदा केही क्षेत्रका मानिस भोकमरीको चपेटामा परेका छन् ।
कोभिड महामारी फैलिएपछि उत्तर कोरियाले सन् २०२० को जनवरीदेखि चीनसँगको सीमा बन्द गर्दै आएको छ । सीमा बन्दपछि उत्तर कोरियाली अर्थतन्त्रमा गम्भीर असर पर्न गएको छ ।
खाद्य अभावका कारण उत्पादनभन्दा माग बढेकाले दैनिक उपभोग्य बस्तु महंगिन पुगेका छन् । महामारी सन् २०२५ भन्दा अगाडि साम्य हुने संभावना नदेखेपछि उत्तरकोरियाले अबका चार वर्षका लागि खाद्यान्नमा संयमता अपनाउने रणनीति बनाएको देखिन्छ ।
शायद सन् २०२५ पछि मात्र चीनसँगको सीमा खुल्ने सम्भावना भएकाले आगामी चारवर्षसम्म खाद्यान्नमा संयमता अपनाउन जनतालाई आह्वान गरिएको छ ।
स्थानीय जनताले उत्तर कोरियाली नेता किम जोङ उनले विश्वबाट एक्लिँदै जाँदा गएको देशलाई आत्मनिर्भर बनाउन जोड दिँदै आएको रुपमा लिएका छन् । कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको वैठकले सर्वसाधरणलाई जमिन खाली नराख्न र उत्पादन बृद्धि गर्न आग्रह गर्दै आएको छ ।
राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले उत्तर कोरियामा यस वर्ष ८ लाख ६० हजार टन खाद्यन्न आवश्यक रहेको जनाए पनि कोभिड महामारी संक्रमणका कारण आवश्यक खाद्यन्न पठाउन सकिरहेको छैन ।
(एजेन्सीको सहयोगमा)