• मंसिर १० २०८१, सोमबार

प्रसारण लाइन निर्माणबाट विश्व बैंकले हात झिक्यो, यस्तो छ कारण

कार्तिक ११ २०७८, बिहीबार

काठमाडौं । समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ ।

विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन् ।

उक्त निकाय यही कात्तिक १४ गतेदेखि आयोजनाको ऋण लगानीकर्ताबाट बाहिरिन लागेको विद्युत प्राधिकरणका प्रसारणलाइन प्रमुख दीर्घायु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आयोजनाको पछिल्लो म्याद यही कात्तिक १४ गते सक्किने हुँदा उसले पुनः निरन्तरता नदिने भएको हो ।

विश्व बैंकले करिब १ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण दिएको थियो। यी दुई आयोजनाको कुल लागत करिब ८ अर्ब रुपैयाँ छ । सरकारको लगानी हालसम्म ४ अर्ब रुपैयाँ भइसकेको छ । आयोजनामा लगानी जुटाउने तयारी भइरहेको प्राधिकरण स्रोत बताउँछ ।

४०० केभी र २२०, १३२, ३३ केभी सबस्टेसनको प्रगति क्रमशः ६५ र ८५ प्रतिशत मात्रै छ । विश्व बैंकसँगको सम्झौता अनुसार ठेक्का लागेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपथ्र्यो । हेटौंडा–ढल्केवर–इनरुवा सन् २०११ मा र हेटौँडा–भरतपुर–बर्दघाट सन २००८ देखि ठेक्का लागेका आयोजना हुन् ।

तर, एक दशक बितिसक्दा पनि काम सक्नुको साटो अझै ढिलाइ भएको कारण देखाउँदै विश्व बैंकले हात झिकेको प्राधिकरण स्रोत बताउँछ । यो अवधिमा यी आयोजनामा दुई नयाँ ठेकेदार आइसकेका छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।