दाङ । परापूर्व कालदेखि पुर्खाहरुले प्रयोग गर्दै आएका काठबाट बनाइएका कोलहरु आज बिस्थापित हुँदै गएका छन् । चिउरी पेलेर तेल निकाली दैनिकजसो तरकारी लगायतका उपभोगका वस्तुहरुमा प्रयोग गरिदै आएको छ ।
चिउरीको तेल निकाल्न प्रयोग गरिने काठबाट बनाइएका स्थानीय प्रविधिका मेसिनरुपी कोलहरु आज नेपालका ग्रामीण इलाकाबाट लोपहुँदै जान थालेका छन् । समयक्रमसँगै विकास भएका आधुनिक मेसिनबाट पेल्नेजस्ता कामहरु हुन थालेपछि काठका कोलहरु लोप हुन थालेका हुन् ।
यतिमात्र कारणले कोलहरु लोप भएका भने होइनन् । कोलहरु लोप हुनुका कारणहरु खोज्दै जाने हो भने अरु धेरै कारणहरु पनि पत्ता लगाउन सकिन्छ ।
नेपालको ग्रामीण इलाकाका सबै स्थानहरुमा आधुनिक मेसिनहरुको प्रयोग भइरहेको अवस्था छैन । उत्पादनका हिसाबले नेपालमा त्यति धेरै वस्तुको उत्पादन पनि भइरहेको पाइँदैन ।
किनकि नेपालीलाई आवश्यक पर्ने दैनिक अतिआवश्यकीय वस्तु नेपालबाट भन्दा बढि विदेशबाट आयात गरिएका हुन्छन् । यो हिसाबले पनि मेसिनको प्रयोगले भन्दा आवश्यक चिजहरु आयात गरिने भएकाले यस्ता काठबाट बनाइएका कोलजस्ता काष्ठमेसिन लोपहुँदै गएको मान्न सकिन्छ ।
जिर्न अवस्थामा रहेको कोल
कोलको प्रयोग कमहुँदै जानुमा नेपाली युवाहरु विदेशिनुलाई पनि एउटा कारण मान्न सकिन्छ । किनकि चिउरी लगायतका खाद्य वस्तुहरु वनपाखामा रहेका चिउरीका रुखहरुबाट टिप्न पाइने वस्तु हुन् । यस्ता काममा युवाहरुको सक्रियता बढी चाहिन्छ, तर युवाजति विदेशतिर जान थालेपछि वन र पाखाहरुमा चिउरी टिप्न जनशक्ति अभाव हुन गएको छ ।
विदेशबाट पठाइदिएको पैसाले बजारमा पाइने तेल र घीउ लगायतका चिजहरु प्रयोग गरिंदै जान थालेपछि चिउरीको प्रयोग कम हुन थाल्यो, जसका कारणले कोलको प्रयोगमा कमी ल्यायो । मध्यपश्चिमको दाङ, सल्यान, रोल्पा लगायतका जिल्लाहरुमा धेरै पहिलेदेखि चिउरीको तेल र घीउ प्रयोग गरिंदै आएको इतिहास छ ।
तर नेपालको पहाडी क्षेत्रका लगभग धेरै गाउँबस्तीहरुमा यसको प्रयोग गर्ने गरिन्छ । भित्रिमधेशका चेपाङ समुदायका मानिसहरुको लागि त चिउरी आयआर्जनको मुख्य पेशा नै मानिन्छ । रोल्पा, रुकुम, सल्यान, पश्चिमका जाजरकोट, अछाम र पूर्वका लिम्बुवान बस्तीहरुका मानिसहरुले चिउरीलाई तेल र घीउको रुपमा प्रयोग गर्दै आएका छन् ।
पछिल्लो चरणमा आधुनिक मेसिनको प्रयोग गर्न थालिएपछि ती स्थानमा पनि काठको कोलबाट तेल निकाल्ने प्रचलन बिस्तारै हराउँदै गएको छ । आज पनि नेपालका धेरै भागमा चिउरीको घीउ तथा तेलबाट धेरै परिकारहरु बनाइन्छ ।
तर ती ठाउँमा नै आज कोलहरु लोपहुँदै जान थालेका छन् । कोलको प्रयोग कमहुँदै जानुका कारणबारे छलफल गर्ने क्रममा सल्यानबाट बसाइसराइ गरी दाङ
आएका प्रेमबहादुर खत्रीले चिउरीको तेलको सट्टा तोरी र भटमास लगायतबाट बनेका तेल, डाल्डा घीउ र घीउको प्रयोग हुनुलाई पनि अर्को कारणको रुपमा पेश गरे ।
समयको मागअनुसार आविष्कार भइरहने नयाँ प्रविधिले पुरानो प्रविधिलाई पन्छाइदिने गरेको उनको तर्क रहेको छ । जसरी खद्दर र भाङबाट बनेका कपडालाई सुती र नयाँ किसिमका कपडाले विस्थापित गरिदिए, त्यसगरी चिउरी पेल्ने कोलहरुलाई पनि आधुनिक मिलहरूले बिस्थापित गरिदिएको खत्रीको तर्क रहेको छ ।
पछिल्लो पटक विश्वभर विकास भएको विज्ञान र प्रविधिको तिब्रताले पुराना प्रविधिलाई बिस्थापित गर्नसक्ने कुरालाई अनौठो मान्न सकिन्न र अनौठो मान्नु हुँदैन पनि । तर पुरानोको इतिहासलाई पनि बिर्सिहाल्नु भने हुँदैन, बरु त्यसलाई कसरी नयाँमा रुपान्तरण गर्न सकिन्छ भनेर सोच्नु पर्दछ ।
अर्कोतिर, ग्रामीण इलाकामा पाइने चिउरीजस्ता वनस्पतिबाट मानिस र पशुप्राणीहरुलाई फाइदा हुने वस्तु उत्पादन कसरी गर्न सकिन्छ ? भन्नेतिर राज्यस्तरबाट सोचेर त्यही अनुसारको योजना बनाई यस्ता वनस्पतिहरुको उपयोग, संरक्षण र विकास तथा बिस्तारका लागि आजैबाट लाग्नु जरुरी छ ।
यसैबीच दाङको साबिक पुरन्धारा गाविस, हालको बबई गाउँपालिका वार्ड न ३ सुन्दरखालमा रहेको चिउरी पेल्नका लागि बनाइएको काठको कोल पनि लोप हुने अवस्थामा रहेको छ । २०४८–४९ सालतिर स्थानीय अगुवाको सक्रियतामा बनाइएको सो कोल चिउरीको तेल र घीउको प्रयोगको अभावमा लोप हुने अवस्थामा पुगेको हो ।
चिउरीको तेल र घीउको सट्टा बजारमा पाइने तेलको बढ्दो प्रयोगले कोल लोप हुन थालेको र अब चिउरीको नाम लिन छोडिएको स्थानीय पूर्णबहादुर हमालको बुझाइ रहेको छ ।
बहुदलीय व्यवस्था आएपछि वनमा पाइने सालको काठबाट आफूहरुले नै बनाएर धेरै वर्ष चिउरी पेलेर प्रयोगमा ल्याएको कोल आज भोलि प्रयोग बिहीन अवस्थामा फालिएको उनको भनाइ रहेको छ । चिउरी टिप्न छोडेपछि कोल धमिराले खाएको छ ।
त्यसका सरसामान पनि लथालिङ्ग अवस्थामा कता छन् कता ! आश्चर्य प्रकट गरे । विज्ञान र प्रविधिको तीव्र विकास भइनसकेको त्यो पिछडिएको समयमा पनि काठबाट भएपनि त्यसरी चिउरीको गेडा निचोरी तेल निकालेर जीवन चलाउने र मानव विकासलाई वैज्ञानिक युगसम्म ल्याइपुराउने अग्रजलाई सम्मान गर्नुपर्दछ ।
इतिहासलाई बिर्सनु वा त्याग्नु हुँदैन । पुरानो प्रविधिलाई नयाँले विस्थापित गर्नु वैज्ञानिक नियम हो । यसलाई स्विकार्नु पर्दछ । नयाँलाई स्विकार्नु पर्दछ, पुरानोलाई सम्मान गर्नुपर्दछ । पुरानोको इतिहास भटाउनु हुँदैन, कम्तिमा संग्रहालयमा भएपनि सुरक्षित राख्नु पर्दछ ।
के हो बहुउपयोगी चिउरी ?
समुद्र सतहबाट २०० देखि १,५०० मिटर सम्मका भीरपाखा, नदीका किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटरसम्म अग्लो हुन्छ ।
नेपालमा पूर्वदेखि पश्चिमसम्म पाइएपनि मध्य तथा सुदुरपश्चिम क्षेत्रमा चिउरी बढी पाइन्छ । घमाइलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धाइरो, सल्लो, टुनी भएका ठाउँमा यो राम्ररी हुर्किएको पाइन्छ ।
चिउरीको फूल
चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्रामसम्म बिजुला (बीजदाना) निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा पनि लिइन्छ । हल्का पहेलो–सेतो रंगको फूल हुने चिउरी असोज कार्तिकदेखि माघसम्म फुल्छ ।
अनि फागुनदेखि असारसम्म फल लाग्छ । यसको फल काँचोमा हरियो हुन्छ भने पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटासम्म बिजुला हुन्छन् । चिउरीको पात गाईवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । चिउरी फलेको
यसको घीउ खान, तरकारी पकाउन र सेल रोटी पकाउन र औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ । चिउरीको घीउ साबुन र मैनबत्ति बनाउन उपयोगी हुन्छ ।
पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधि बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खाए पनि हुन्छ र यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन पनि सकिन्छ ।
(स्थलगत रिपोर्ट, दाङबाट फर्केपछि) ।