• असार १७ २०८१, आईतवार

चनाचटपट बेचेरै मासिक ३० हजार कमाउने बाल उद्यमी अर्जुन

कार्तिक १० २०७८, बुधबार

काठमाडौँ । नेपाल भारतको सीमा नजिकैको नेपाली गाउँ प्रसौनी भाटा, हाल विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ मा रहेको प्रसौनी भाटा गाउँ साविक प्रसौनी भाटा गाविस हो । वीरगञ्जबाट प्रसौनी भाटा जानेहरुले प्रसौनी भाटाको पुल पार गर्न बित्तिकै भेटिने बजार त्यही गाउँको बजार प्रसौनी भाटा बजार हो ।

‘लाटो देशको गाँडो तन्नेरी’ भन्ने उखान जस्तै प्रायः गरेर साना साना झुपडीमा रहेका पसलहरुको बाहुल्यता भएको प्रसौनी भाटा बजार एउटा गाउँले बजार हो । गाउँले बजार हुनुको नाताले बजारमा पाइने सबै माल वस्तुहरु यहाँ नपाइन सक्छ । तर पनि सिङ्गै वडाको बजार यसैले धानेको छ भन्दा फरक नपर्ला । यही बजारमा रहेका छन् एउटा बाल उद्यमी ।

तीनजना ग्राहक गएर उनको पसलमा केही समान अर्डर गरे । उनले फटाफट चनाको पिठो तौलिएर त्यसलाई मनतातो पानी हाली घोलेर चलाएर त्यसमा आवश्यक अरु सामान मिलाएर आफ्ना ग्राहकलाई सुम्पिए । तीन गिलास चनाको पिठो घोलिएको पानी खाएर ग्राहकहरुले त्यसको मोल सोधे, कति भयो ? साहुजीको जवाफ आयो, १५० । कसरी भन्ने ग्राहकको जिज्ञासा मेटाउँदै साहुजीले भने, ‘सय ग्राम पिठोको ५० रुपैयाँ हो तपाईंहरुले ३ सय ग्राम खानु भयो ।’ ग्राहक पैसा दिएर गए, उनले आफ्नो व्यापारको पैसा राखे ।

यसरी खानुलाई त्यो गाउँमा मात्रै नभएर पूर्वी तराईमा सातुखाने भन्दा रहेछन् । यसरी सातु लगायत पसलमा भएका समान दिनभरी बेचेर आफ्नो जीवन गुजारा गर्ने मानिस उमेरमा कुनै परिपक्व नभएर १३ वर्षीय बालक रहेका छन् । जसको नाम अर्जुनकुमार दास हो । हरेक दिन आफ्नो यस्तै सातु लगायत चना चटपटे, पुरी लगायतका समानको उपभोग गर्ने ग्राहकहरुलाई सेवा गर्दै उनको दैनिकी बित्ने गरेको छ । उनी अर्थात् १३ वर्षीय उद्यमी बालक अर्जुन कुमार ।

एउटा बालकले ग्राहकले अर्डर गर्न साथ सातु तौलेर त्यसमा चाहिने हरियो खुर्सानी, प्याजका टुक्रा, कागतीको रस, धनिया, जीरा, बिरेनुन र सादा नुन मिसाएर गज्जवले डिल गरेर व्यापार गरेको देख्दा पंक्तिकारको ध्यान तानियो । उनी रहेछन्, सोही गाउँका त्रिवेणी दास र मिनादेवी दासका कान्छा छोरा । उनको एउटा दिदीको विवाह भैसकेको रहेछ भने दाई राजधानी काठमाडौँ आएर ज्यालादारी काम गरेर जीवीकोपार्जन गर्दा रहेछन् । आफूभन्दा पछाडी रहेकी बहिनीलाई विद्यालय पठाउँदा रहेछन् तर आफूले भने ३ कक्षा पढेर छोडेर रहेछन् । विगत ५ वर्षदेखि आफ्ना बाबुको साथमा पसलमा आउने र काम हर्ने गरेका उनले गतवर्ष देखि बुवा नहुदा र यो वर्षदेखि पुरै दिन व्यापार सम्हाल्न थालेका रहेछन् ।


सीमापारीबाट ल्याएर वारी समान बेच्ने

बाल उद्यमी अर्जुनकुमार दास, आफ्नो पसललाई बेच्न चाहिने सरसमान लिन प्रसौनी भाटा गाउँ पारी भारतपट्टी रहेको भेलाही बजारमा गएर किनेर आउदा रहेछन् । आफै भारत गएर पसलमा बेच्न चाहिने समान उनी ल्याउँदा रहेछन् । व्यापारको अनुपातमा कहिले हप्ताको एकचोटी त कहिले हप्ताको दुईचोटी सामना लिन भेलाही बजार जानुपर्ने उनले बताए । प्रसौनी भाटा बजारमा रहेको उनको त्यो पसल गत वर्षसम्म उनका बुवाले सञ्चालन गर्ने गर्थे भने यो वर्षबाट उनी आफै सो पसल चलाउन कस्सिएका छन् ।

मासिक ३० हजार आम्दानी

सातु बाहेक भुजा, चना चटपट, समोसा पुरी, लिटी लगायतका समान बेचेर उनले महिनामा ३० हजारसम्म आम्दानी हुने गोलखबर डटकमलाई जानकारी दिए । समय र सिजन हेरेर उनको पसलमा दैनिक २ हजारदेखि ४ हजार सम्मको व्यापार हुने गरेको छ भने राम्ररी व्यापार भएको दिनमा एकदिनमै उनलाई हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।

सडक किनारामा अरु कसैको बारीमा नै बनेको छाप्रोलाई भाडामा लिएर व्यापार गर्ने उनले सो छाप्रोको भाडा स्वरुप महिनामा हजार रुपैयाँ बुझाउने गर्दा रहेछन् । तीन कक्षासम्म विद्यालय गएर छोडेका उनलाई पढाई छोडेकोमा अलिअलि पछुतो भएपनि त्यस्तो भारी भर्कम दुखेसो भने देखिएन । ‘जसरी भएपनि पैसा कमाएर जीवन चलाउने त हो नि सर’ भन्दै उनले जति पढेपनि आखिरीमा चाहिने पैसा नै हो क्यारे समेत भनेर भन्न भ्याए । कान्छी बहिनीको बिहे गरेपछि मात्रै आफ्नो विहे गर्ने सोच बनाएर उनको चाहना भने आफूले भनेको मान्ने र पढेकी सोझी केटी खोजेर बिहे गर्ने रहेको बताए ।

प्रसौनी भाटाबाट फर्केपछि ।