(नेकपा एमालेको पार्टी महाधिवेशनको समय नजिकिँदै जाँदा पार्टीभित्र १०–बुँदेका आधारमा पार्टी एकता हुनु पर्ने कुरा उठाउन छाडेका छैनन् पार्टी उपाध्यक्ष भीम रावल । ‘बाटो बिराएकाहरु आउने र काम गर्ने भैहाल्यो नि’ भनेर पार्टी अध्यक्ष केपी शर्माओलीले सार्वजनिक अभिव्यक्ति दिइरहँदा एकताको वकालत गरिरहेका उपाध्यक्ष रावलसँग पार्टी एकताको विषयमा गोलखबर डटकमका संवाददाताले लिएको अन्तर्वार्ताको प्रमुख अंश प्रस्तुत गरिएको छ– सम्पादक ।)
१. तपाई एकता भन्नुहुन्छ, अध्यक्ष ओली यस्तो कुरा सुन्न चाहनु हुन्न । होला एकता ?
पार्टी एकताका लागि १०–बुँदे सहमति भएको छ । पार्टी स्थायी समिति र केन्द्रीय समितिले यो कुरा स्वीकार गरिसकेको पनि हो । यसलाई कार्यान्वयनमा लैजाने पनि भनिएको हो ।
यो कुनै एक व्यक्तिले गरेको एकताको कुरा होइन । दश–बुँदे सहमति त पार्टी एकताका लागि गरिएको हो । यो सिंगो पार्टी एकता र पार्टीको दीर्घकालीन हित रक्षाका लागि गरिएको हो ।
अहिले एकताविरुद्ध बोल्ने भनेको पार्टी केन्द्रीय समिति निर्णयविरुद्ध बोल्नुजस्तै हो । यसले उल्टै पार्टीलाई क्षति पुर्याउँछ ।
२. अझैं पनि १०–बुँदे कार्यान्वयन हुन्छ भन्ने विश्वासमा हुनुहुन्छ ?
पार्टी केन्द्रीय समितिले निर्णय गरेर अन्तरपार्टी निर्देशिका जारी गरी सिंगो पार्टी पंक्तिलाई अवगत गराइसकिएको छ । यसमा स्पष्टै भनिएको पनि छ कि १०–बुँदे पार्टी एकताको भावअनुसार सबै कुरा गर्ने, तयारी गर्ने र सबै तहका पार्टी कमिटीहरु तथा जनसंगठनहरुमा यो सबै कार्यान्वयन गर्ने गराउने भनिएको छ ।
पार्टीलाई पूर्व एमालेको स्थितिमा पुर्याउने भनिएको छ । यसका लागि एमाले र माओवादी केन्द्र दुवैलाई नेकपाबाट अलग्याएपछि एमालेमै रहनु भएका माओवादी केन्द्रका कमरेडहरु स्थायी समितिमा रहेकालाई स्थायी समितिमा र केन्द्रीय समितिमा रहेकालाई केन्द्रीय समितिमा राख्ने कुरा पनि १०–बुँदे सहमतिमा गरिएको छ ।
३. भनेपछि उहाँहरु विनाएकता एमालेमा रहनु हुन्छ त ?
एकता प्रक्रियामा सबैको भाव समेटिएको छ । त्यतिबेला नेकपामा रहँदा स्थायी कमिटिमा भएकालाई स्थायी र केन्द्रीय कमिटीमा रहेकालाई केन्द्रीय कमिटीमा राख्ने भनिएको छ ।
अन्य कमिटीमा रहेकाहरुलाई तत्तत् कमिटीमा राख्ने निर्णय पनि भैसकेको छ । यसले मात्र एकताको भाव समेट्दछ ।
४. पूर्व एमालेले टेकेको धरातलमा छैन हालको एमाले । पार्टी आकार नै ठूल्ठूलो बनाइएको छ ।
हो, एकताको सहमति र निर्णयमा जिल्ला कमिटीसम्म भंग गरी संगठनका आकार ठूला बनाइएका छन् । यिनैलाई पुरानो अवस्थामा फर्काएर एमालेको वास्तविक धरातलमा टेकी अघि बढ्ने निर्णय गरिएको छ ।
केन्द्रीय कमिटीले गरेको निर्णय कार्यान्वयन गर्ने भनेपछि त्यो त कार्यान्वयन गर्नु नै पर्यो । यो त निर्णय भएकै कुरा हो । यो पार्टीको हितमा छ र सबैको हितमा छ ।
पार्टीको दीर्घकालीन हितमा रहेका यी कुराहरु कार्यान्वयनमा आए सबैको हित हुन्छ । यदि यसो हुन सकेन भने यसको कुप्रभाव सबैक्षेत्रमा पर्ने देखिन्छ ।
५. तपाईहरुले कार्यान्वयन गर्ने भन्ने तर अध्यक्ष ओलीले नगर्ने भनेपछि यो त ‘इगोको टक्कर’ हुने पो देखिन्छ । एकताका कुरा सम्बोधन होला ?
इतिहासतिर फर्केर हेर्यौं भने एमालेमा फुटपछि एकताको राम्रो नजिर पनि भेटिन्छ । २०५२ सालमा फुटेको एमाले २०५८ सालमा आएर एकताबद्ध भएको थियो । एक भएपछि विभिन्न खेमामा रहेका नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढे । अहिले पनि यो एकताबद्ध हुनेमा आशंका छैन ।
तर पार्टी एकताका लागि पार्टी केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन हुन जरुरी छ । विगतमा पार्टी किन फुट्यो, के कस्ता घटना घटे, ककसले केके भूमिका निवार्चह गरे यी सबैको समीक्षा हुन सकिरहेको छैन, भएको पनि छैन ।
ती अन्तरविरोधहरुलाई बदला भावको रुपमा लिएर काम गर्नु राम्रो होइन । सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति आफैमा राम्रो होइन । कसैले बदला भाव राख्छ भने त्यो राजनीतिक संस्कार पनि होइन । बदलाको भावनाले प्रेरित भएर होइन, म देश र जनताको पक्षमा काम गर्छु भन्ने भावनाले प्रेरित भएर काम गर्नुपर्छ ।