सल्यान। कुमाख गाउँपालिका-२ धावनखोलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सल्यानको मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नं को जिप बुधबार बिहान दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी कुमाख गाउँपालिका-२ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका र उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। अन्य घाइतेको भने सल्लीबजारमा उपचार भइरहेको छ।
जिप सडकबाट झन्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।