काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारको लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्। विवादमा फसेका प्रधानन्यायाधीश राणाले आफूसहित अन्य न्यायाधीशका लागि ११ इजलास तोकेका हुन्।
सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन।
मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए। उक्त छलफलमा राणाले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताएका थिए। कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने राणाको अडान सुनेपछि न्यायाधीशहरूले थप छलफल गरेका थिए।
उनीहरूले यसबारे आज पनि छलफल गर्दै छन्। न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश राणाले तोकेका इजलास बस्ने सम्भावना निकै कम छ।
यसअघि मंगलबार नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो। राणाले राजीनामा नदिए देशभरि आन्दोलन गर्ने बारले चेतावनी दिएको छ।