• असार २३ २०८१, शनिबार

दैनिकी चलाउन गिट्टी कुट्दै दलित जनप्रतिनिधि

कार्तिक ९ २०७८, मंगलवार

दाङ, ९ कार्तिक ।
जनप्रतिनिधिले के काम गर्छन् ? उनको दैनिकी कसरी बित्छ होला ? भन्दा सबैले दिने उत्तर भनेको नागरिकको सेवा नै हो । जनप्रतिनिधि हुनुभन्दा अघि र पछिको दैनिकी पनि हामीले नियाली रहेका छौं । निर्वाचित हुनुभन्दा पहिले र निर्वाचित भैसकेपछिको दैनिकी धेरै फरक देखिन्छ । तर घोराही उपमहानगरपालिका वडा नम्बर १४ की जनप्रतिनिधि फुलमती नेपालीको दैनिकी भने उस्तै छ ।

२०७४ सालमा भएको स्थानीय तहको चुनावबाट दलित महिला वडा सदस्यमा निवार्चित भएकी फुलमती नेपाली अहिले पनि गिट्टी कुट्दै र जनताको सेवा गर्दै आफ्नो दैनिकी चलाईरहेकी छिन् । उनी १० बजे वडा कार्यालय जान्छिन् र वडाबासीको काममा लाग्छिन् । त्यसबाहेक बचेको समयमा उनले बिहानको समयमा गिट्टी कुट्छिन् भने कहिलेकाहीँ उनी सडक पेटीमा तरकारी तथा फलफूल बेच्न पनि आइपुग्छिन् । हातमा हथौडा र छेक्कन, ढुंगा र गिट्टी माथि बसेर गट्टी कुट्दै गरेको अवस्थामा घोराही उपमहानगरपालिका वडा नम्बर १४ की वडा सदस्य फुलमती नेपाली प्राय भेटिन्छिन् ।

घोराही उपमहानगरपालिका १३ को सेवारखोलामा उनले गिट्टी कुट्छिन् भने मौसम अनुसारका फलफूल तथा तरकारी बेच्नका लागि घोराही बजारका विभिन्न चोकमा पनि उनी भेटिन्छिन् । “मेरो खेतबारी अरु केही पनि छैन्, पहिलेदेखि नै गिट्टी कुटेर घरको दैनिकी चलाउँदै आएको छु, वडामा जनताको सेवा गरेर बचेको समयमा मैले गिट्टी कुटेर केही पैसा कमाउने गर्ने गरेको छु” नेपालीले भनिन् । अहिले साँझ बिहानको समय मिलाएर आफूले कुटेको गिट्टी नबिकेर उनलाई चिन्ता भएको छ । “एक बेल्चाको ५ रुपैयाँ मूल्य छ, त्यही पनि बेच्न पाइयो भने कमाई हुन्थ्यो” उनले भनिन् । जनताको सेवासँगै दैनिकी चलाउनका लागि गिट्टी कुट्ने र सडक पेटीमा फलफूल तथा तरकारी बेच्ने गरेको उनले बताइन् ।

२०२२ सालमा जन्मिएकी नेपाली मजदुरी गर्दै गर्दा नेकपा माओवादी पार्टीमा जोडिएकी हुन् । पार्टीले वडा सदस्यका लागि चुनावमा उठाएपछि खुशी भएकी नेपाली चुनाव जितेर निर्वाचित भैसकेपछि विगत ४ वर्षदेखि जनताको सेवा गर्दै आइरहेकी छिन् । ४ वर्षको समयमा जनताको गुनासो सुन्नेदेखि लिएर ती गुनासोलाई समाधान गर्नका लागि आफूले काम गर्न प्रयास गरेको र त्यसको सही मूल्याङ्कन जनताले गर्ने उनले बताइन् । “हिजोको दिनमा गिट्टी कुट्ने मजदुरहरुका लागि सचिव भएर काम गर्दै आएकाले पनि मलाई जनप्रतिनिधि भएर काम गर्न केही सहज भएको छ” उनले भनिन् । गिट्टी कुट्दै मजदुरहरुको नेतृत्व गर्ने अवसर पाएकी उनले जनप्रतिनिधि भएपछि पनि जनताको सेवासँगै आफ्नो मजदुरीलाई पनि निरन्तरता दिएकी छिन् ।

“पहिले मैले महिनामा ४ गाडीसम्म गिट्टी कुट्थे अहिले महिनामा २ गाडीसम्म कुट्छु, जसले मलाई घरखर्च चलाउन पनि केही सहज भएको छ” उनले भनिन् । मजदुर नै जनप्रतिनिधि भएकोले अहिले सडक पेटीमा व्यवसाय गर्नेहरुलाई घोराही उपमहानगरपालिकाको नगरप्रहरीले बेला बेलामा उठाउँदै आएको उनलाई मन परेको छैन् । उपमहानगरकै जनप्रतिनिधिको सडक पेटीमा व्यवसाय गर्नुपर्ने बाध्यता छ । यसलाई व्यवस्थित बनाउन अहिले उपमहानगरले सडक पेटीका व्यवपारीलाई तरकारी बजारभित्र व्यवस्थित गर्न थालेको उनले बताईन् ।

जनप्रतिनिधि भएको सुरुका दिनहरुमा दलित तथा महिला भएको हुँदा जनताको विश्वास केही कम देखिए पनि विस्तारै आफूलाई जनताले विश्वास गर्न थालेको उनले बताईन् । “अझै पनि कहीँ कतै दलित भएकै कारण भेदभाव हुने गरेको छ, त्यस्ता नकारात्मक तत्वहरुलाई सबैले मनबाट हटाउनुपर्छ भन्ने मेरो आग्रह छ” उनले भनिन् । आउने निर्वाचनमा पनि वडाबासीले कामलाई हेरेर जनताले जिताउनु हुन्छ भन्ने उनलाई विश्वास छ ।