काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली झन्डै ६ महिनापछि सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ ।
सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए। कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।
प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।
‘विगतमा जसरी ‘भिजिटिङ मिति’ तोकेर असीमित आवेदन लिदैँनौं,’ उनले भने,’दैनिक रुपमा कोटाअनुसार भोपल्टको भिजिट मिति दिन्छौं, पहिले आवेदन दिएका धेरै जना अहिले पनि परीक्षा कुरिरहनुभएकाले उहाँहरुलाई प्राथमिकता दिने योजना छ ।’
नयाँ निर्देशिकाअनुसार परीक्षा
नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।
नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।
कसरी भर्ने लाइसेन्स आवेदन
सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ।
अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।
पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।
नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।
त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने।