काठमाडौं जिल्लामा आजदेखि कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ। अष्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका १८ वर्ष माथिका नागरिकलाई आजदेखि दोस्रो मात्रा लगाइने भएको हो।
काठमाडौं महानगरपालिकाका आठवटै नगरपालिकामा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा आजदेखि अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका अन्तर्गत वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)बाट पनि खोप लगाउन सकिने छ ।यी अस्पतालहरुमा आज र भोलि दुई दिन खोप कार्यक्रम राखिएको छ ।
पालिकाले तोकेका खोप केन्द्रहरुमा भने आजबाट तीन दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको दोस्रो मात्रा लगाउन जाँदा पहिलो मात्रा खोप लगाउँदा दिइएको खोप कार्ड बोक्नुपर्ने हुन्छ ।
वैदेशिक रोजगार तथा भ्रमणमा जानेहरूका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ।