जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा हुँदा देशभर साढे आठ अर्ब मूल्य बराबरको धानबाली नस्ट हुन गएको छ । बगेर, कुहेर र पुरिएर नस्ट हुन गएको धान बालीको क्षति नेपाली किसानका लागि ठूलो क्षति बनेको छ । यो वर्षभरि खाने खाद्य बालीमा परेको विनासकारी कुचक्रका रुपमा आएको छ ।
मनसुनी वायु सकिने र उघारीमास लाग्ने बेलामा अनायाशै परेको अबिरल वर्षाका कारण यस्तो अनपेक्षित क्षति बेहोर्न जनता विवश भएका छन् । देशभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नस्ट हुन जाँदा यस वर्ष खाद्यान्न संकट निम्तने देखिएको छ ।
पहाडी इलाकामा धानबाली पाकिसकेपछि पाकेको धान काटेर सुकाएको अवस्थामा यसले ठूलो क्षति पुर्याएको छ । तराइमा भने धानबाली डुबानमा परी नस्ट हुन गएको छ । यस अतिरिक्त बाढी तथा पहिरोले पनि ठूलो मात्रामा धानबाली नष्ट गरेको छ ।
वर्षदिनसम्म खाने खेती धान पाकेर पहेंल्पुरभै भित्र्याउने बेलामा अविरल वर्षाले निम्त्याउन पुगेको यो जोखिम अब किसानका लागि बाँकी रहेको राहत र क्षतिपूर्तिको आशा र अपेक्षा बनेर आएको छ । यसका लागि किसानले सरकार र सरकारी संयन्त्रहरुबाट केही आशा गरिएको पनि देखिएको छ ।
कतै आशा निराशामा परिणत हुने र वर्षभरि किसान भोकभोकै रहनुपर्ने अवस्था त सिर्जना हुँदैछैन भनेर आशंकाका पहाड पनि सँगसँगै उठिरहेका छन् । विश्वजलवायु परिवर्तनका कारण बेहोर्नु परेको यो अनपेक्षित क्षतिले देशमा मनाइरहेको यस वर्षको दसैंलाई समेत खल्लो महसुस गराएको छ ।
वर्षायाममा खेती गरिने धानबाली आफैमा नेपालको प्रमुख खाद्यान्नबाली हो । यसले वर्षदिनसम्म किसान र उनका परिवारका सदस्यहरुको पेटपाल्न सहयोग पुुर्याउँछ । यही प्रमुख खाद्यान्न बाली धान पहाडी इलाकामा बाढी पहिरोका कारण र तराइ इलाकामा डुबानका कारण नस्ट हुन गएपछि यसले खाद्यान्न संकट निम्त्याउने कुरामा दुविधा छैन ।
यही समस्यालाई मध्यनजर गरी सरकारले जनतालाई राहत तथा क्षतिपूर्ति दिने आश्वासन पनि दिएको छ । सरकारी आश्वासनसँगै जनताले लाखौंको क्षतिका अगाडि केही शय रुपैयाँको राहत र क्षतिपूर्तिले काम गर्दैन भन्दै उचित क्षतिपूर्तिको कुरा उठाइरहेका पनि छन् ।
सरकारले राहतस्वरुप किसानहरुलाई सहयोग गरोस् भन्ने मनशाय आमनेपाली जनतामा छ । । सरकारले क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति नै दिलाउनु पर्ने कुरा जोडदार रुपमा उठ्दै गैरहेको पनि छ । यसका साथै कृषिमैत्री कार्यक्रमहरुको अपेक्षामा जनता देखिन्छ । किनकि यो समस्या यो वर्षमात्र नभएर आउँदा वर्षमा पनि आइपर्न सक्छ ।
तयार भएको धान बाली क्षतिका कारण मर्माहत हुन गएका किसानले संकटका घडीहरुमा सरकारले सहयोग र संरक्षण दुवै गरोस् भन्ने चाहेका छन् । यसै कुरालाई मध्यनजर गरी सरकारले अहिलेदेखि नै क्षति बेहोरेका किसानको आर्थिक अवस्था, परिवार संख्या, आयको स्रोत, क्षति भएको धानबालीको विवरण तथा किसानको वैकल्पिक आर्थिक क्रियाकलापको विवरण इमान्दारिताका साथ संकलन गर्नसक्नुपर्छ ।
यही विवरणका आधारमा किसानहरु माझ क्षतिपूर्ति दिलाइनु पर्छ पनि । जनता उचित क्षतिपूर्तिको पक्षमा छन् । सरकारले गरेको सहयोगले जनतामा सकारात्मक र सिर्जनात्मक अवसर प्रदान गर्ने वातावरण सिर्जना गरोस् ।