आरम्भ :
नटुट्ने नाता गाँसेर
दुई दिनको जिन्दगी बिताऔँ हाँसेर ।
गण्डकी अञ्चलको लोकलयमा आधारित गीतको यो एक टुक्कामा लोक जीवनलाई सहज, सरल तथा हार्दिकतापूर्ण ढंगले बिताउनु पर्छ भन्ने कुरा अभिव्यञ्जित भएको छ । जनताले यस्तै लोकगीतको स्वरहरुमा र शब्दहरुमा आफ्नो आनुभूतिहरु, समवेदनाहरु, निस्कपट, सरल र स्वभाविक ढंगले प्रस्तुत गरेका हुँदैनन् । यस्तो लोकगीत र संगीतहरुमा लोक जीवनको सोझो र गाथा परिचय हुन्छ ।
रामनारायण उपाध्याले भन्नु भए झैं ‘गीत मनुष्यको स्वभाविक स्वभाव हो ।’ साँच्चिकै हाम्रो जीवनमा एउटा पनि यस्तो कार्य छैन जो बिना गीत होस् । किसानले हलो जोत्छ गीतसँगै, मजदुरले माटो खन्छ गीतसँगै, मही पार्दा गीतसँगै र जाँतोका स्वरसँगै गीतका सुमधुर ध्वनीहरु पनि गुञ्जिरहन्छन् । हाम्रो जीवनको अभिन्न अंग बनिसकेको लोकगीत र संगीतको कुरा गर्दा हाम्रो समाजमा बच्चा जन्मँदा गाउने गीतहरु छन्, र जब मानिसको मृत्यु हुन्छ त्यसबेला पनि गाउँदै र बजाउँदै लैजाने प्रथा छ ।
गीत मानवीय भावना, इच्छा, आकांक्षा, आशा, सपना, कल्पना र अनुभूतिहरु पोख्ने र यसका साथै वास्तविक समस्याको पहिचान गरेर त्यसको सही समाधान गर्ने क्रममा उत्साह उमङ्ग जुटाउने एक लयदार प्रस्तुति हो भने संगीत भनेको वास्तवमा एउटा स्वर होताल हो । स्वर र ताल यी दुवैको मिश्रणबाट बनेको तय नै लय हो । यी दुवैलाई मानव समुदायले आदिम समाजदेखि कुनै न कुनै उपयोगितामा विभिन्न ढंगले प्रयोग गर्दै आएका छन् ।
गीत तथा संगीतको इतिहास निकै पुरानो छ । आझ भनौं मानव जातिको इतिहास जतिकै पुरानो छ । मानव समुदायले श्रम कार्यको क्रममा ऊ आफैले अभिव्यक्त गरेका विविध आवाज र अभिव्यक्तिहरु, त्यस्तै श्रम कार्यकै क्रममा दैनिक रुपमा निस्केका तालहरुबाटै गीत संगीतको जन्म भयो । उत्पादनका लागि प्रकृतिसँगको संघर्ष एवं जीवनका लागि सामुहिक श्रमको सन्दर्भमा निकालिएका समवेत स्वर तथा तालहरु नै शुरु अवस्थाको गीत र संगीतका प्रारूपहरु थिए । यसलाई मानव समुदायले भाषाको विकास सँगसँगै आफ्नो आवश्यकता अनुसार परिमार्जन र परिस्कृत पार्दै उत्पादनका गतिविधिसित विकसित र विस्तारित गर्दै लग्यो । अद्यवाधि यही प्रक्रिया रहेको छ ।
यो सानो लेखमा लोक जीवनको सुन्दरतम प्रतिविम्व प्रकट हुने लोकगीत र लोक संगीतको वर्तमान सन्दर्भमा रुपान्तरणका समस्या र आवश्यकता बारे संक्षिप्त रुपमा राख्ने प्रयास गरिएको छ । यद्यपी नेपाली लोकगीत र संगीतका बारेमा सही रुपबाट प्रयाप्त कलमहरु नचलेको र सन्दर्भहरु प्राप्त हुन नसकेको सन्दर्भमा प्रशस्त कमी कमजोरीहरु रहेका र हुनसक्ने वास्तविकता पाठक वर्गको ध्यानाकर्षण गर्नु पनि मनासिव लागेको छ ।
के हो लोक गीत र लोक संगीत ?
सामान्यत : लोक भन्नाले जनता र लोकगीत तथा संगीत भन्नाले जनताको गीत संगीत भन्ने बुझिन्छ । यस बारेमा महान साहित्यकार म्याकसिम गोर्की भन्नुहुन्छ,‘लोक गीत र संगीत भनेको श्रमिक मानवको त्यो अलिखित रचना हो जसमा सर्वाधिक विशिष्ट कलात्मक दृष्टिले परिपूर्ण नायकहरुको संरचना गरिन्छ…..त्यो सबै त्यस संरचनाका अंग हुन् जसमा तर्क र अनुभूति, विचार र भावनालाई एकाकार वा समिश्रित गरिन्छ ।’ यसरी के कुरा स्पष्ट हुन्छ भने लोकगीत र संगीत मानव समुदायले संघर्षशिल जीवन प्रकृयामा श्रम र संघर्षको क्रममा प्रस्फुटित आफ्नै अनुभव र मेहनतद्वारा सिर्जना गरेको विधा हो । यो जनताका आशा आकांक्षा, साहस स्फूर्ती, विरह, वेदना, जोश, जाँगर, हाँसो, खुशी,उमङ्ग रमाइलो सहितको सिंगो जीवनलाई शुरुमा भनिए झैँ सहज, सरल र हार्दिक ढंगमा व्यक्त गर्ने लोक साहित्यको एउटा शाखा हो । र यो प्रेरणा र सामूहिक चेतनाको संवाहक समूहगान हो ।
लोकगीत र संगीतको आफ्नै परम्परा छ र विशेषता छ । लोकगीत र संगीतमा लोक भावनाको मुक्त प्रवाह, सहज, सरल शब्द विन्यास र अभिव्यञ्जन हार्दिक स्वभाविक शिल्पविधा, तरलता तथा गेयात्मकता एउटा गाथाहरुले भरिभराउ हुन्छ । यो संक्षिप्त, सरल, स्पष्ट, स्वभाभिक, सुन्दर अनुभूतिमय र संगीतमय हुन्छ । यसमा लोक जीवनको प्रतिविम्ब हुन्छ, लोक जीवनको प्रत्यक्ष अनुभूति विचार, भावना र आवेगहरु बोल्छन् र यसमा लोक संस्कृतिको यथार्थ अनुहार दृष्टिगोचर हुन्छ । किन कि यी गीत र संगीतहरुमा जीवनका सामाजिक आर्थिक सांस्कृतिक पक्षहरुले आफूलाई अभिव्यत गर्दछन् । लोकगीत र संगीतहरुको आरम्भ र विकासका क्रमका प्रक्रियाहरूबाटै भएको हुनाले पनि त्यसो भनिएको हो ।
यदाकदा लिखित भए पनि प्रायः मौखिक र श्रुति परम्परामा प्रवाहित भएर समूह गानलाई प्रभावित गर्दै आएका लोकगीत र संगीतहरुले निश्चित समया र जनताका इच्छाहरु, भावहरु, जीवनका उद्देश्यहरु, जीवनका स्थितिहरू अर्थात् समस्या संघर्षहरु र समाधानका सम्बन्धमा यथार्थ विरण र धारणा अभिव्यक्त गर्न सकेका आधारमा लोकप्रियता प्राप्त गरेका हुन्छन् । जसलाई जनताले मुखाखर गरेका हुन्छन् र प्रत्यकले गुनगुनाई रहेका हुन्छन् । जनताकै सहभागितामा जनताकै मुटु एवं मर्मको स्वतःस्फूर्त अभिव्यक्ति हुनुको कारण लोकगीतहरु र संगीतहरु जनतामा अतिप्रिय र ग्राह्य हुनु स्वभाविक हो । ठीक त्यसरी नै जनताका आफ्नै गीतकार, गायककार र संगीतकारहरु र त्यसमा सहभागी जनताहरुको आपसी लगन सम्बन्ध तथा सहभागिताद्वारा माझिँदै उत्तोरोत्तर परिमार्जित हुँदै जनतामै प्रस्तुत हुने लोकगीत पद पदावली, लय अभिव्यक्तिको निखारपन, सुन्दर ललित, स्वर तालहरुले झंक्रित हुनु र विचारमा समेत सारपूर्ण हुनु स्वाभाविक छ ।
जनता न्यायिक संघर्ष र विजयका पक्षमा थिए र छन् । लोकगीत र संगीतहरुले पहिले देखिनै तिनै तथ्यहरुलाई अभिव्यक्त गर्दै आइरहेका छन् । यस कुरालाई म्याकसिस गोर्कीले यसरी भन्नु भएको छ,‘लोक संगीतमा निरासाका लागि कतै कुनै स्थान हुँदैन । कुनै कुनै प्रकारले समुदाय स्वार्थ आफ्नो अमरत्वको आत्माबोध तथा सबै विरोधी शक्तिहरुमाथि आफ्नो विजयको आशावादीताले ओतप्रोत हुन्छ । कहिले काँही लोक संगीतमा कतै निरासा या सन्देहको स्वर छ भने निश्चय नै यो त्यसमाथि इसाई प्रभाव हो । जसले दुई हजार वर्षदेखि निरासावादको प्रचार गर्दै आएको छ ।’
लोक साहित्यहरुको जीवित तथ्यहरुको आधारमा पनि के कुराको पुष्टि हुन्छ भने पश्चिमाहरुको प्रभाव नपर्दासम्म नेपाली जनताका आफ्ना गीतकार र कविहरु जनताका वीरता र संघर्षशक्तिका गीत, कविता, रचना गर्थे संगीत भर्थे । हुन त जनताका वीरहरूका बारेमा जनताले सिर्जना गरेका गीत तथा संगीतहरु ती संकलित छैनन् । जे जति संकलन गरिएका छन्, ती प्रायः शाषक तथा शोषक वर्गको नियन्त्रणमा लडेका योद्धाहरुको प्रशंसाले भरिएका सिर्जनाहरु छन्न् । तैपनि लोकगीत र संगीत आफ्नो प्रारम्भ कालदेखि नै जनताको विविध खाले समस्याका पहिचान तथा संघर्ष र उपलब्धिका प्रशंसामा रचित प्रेरणादायी गीत र संगीतको रुपमा परिचित हुँदै आएको छ ।
लोकगीत र संगीत माथिको आक्रमण र गलत धारणाहरु :
आफ्नो उद्गम कालदेखि नै जीवनका विभिन्न समस्याहरुसँग पौंठेजोरी खेलिरहेका संघर्षशक्ति जनताको बीचमा विकास परिमार्जन हुँदै आएको लोकगीत र संगीतले अहिलेसम्म लोकप्रियता र स्वत्व प्राप्त गरेको छ । त्यस संघर्षसँगै आफ्नो विकासको ऐतिहासिक प्रक्रियामा आक्रमणको मार पनि खेप्दै आइरहेको छ । हाम्रो मुलुकमा विभिन्न ठाउँ र माध्यमबाट डरलाग्दो रुपले छाडा पश्चिमा समाजवादी अथवा विकृत पुँजीवादी गीत संगीतले प्रवेश गरिरहेको र प्रवेश पाइरहेको वर्तमान समयमा झनै आक्रमणको यो क्रम तिव्र बनेको छ । यसले यसका पक्षपातिहरुलाई अत्यन्त चिन्तित र दुःखित तुल्याइरहेको छ । हाम्रो नेपाली लोकगीत र संगीतलाई क्षतविक्षत पार्दै समाप्त पार्ने दिर्घकालिन अभियान नै सञ्चचालन गरिरहेको यो देशका शोषक सामन्त तथा पुँजीवादीहरुका पक्षपाति एवं उनीहरुको रहनसहनमा रमिरहेका कवि कलाकारहरु र संगीतकारहरुले पश्चिमा छाडा र विकृति गीत र संगीतको जुन रुपमा हुबहु नक्कल गरिरहेका छन् त्यो भन्दा पनि तिव्र रुपमा रेडियो नेपाल, नेपाल टीभी जस्ता सञ्चार मध्यमद्वारा यस्ता खाले गीत र संगीतहरु जबरजस्त प्रचार–प्रसार अभियानलाई घनिभूत बनाइरहेका छन् । यसले सामाजिक विकृतिसँग जुध्ने जनताको क्षमतालाई कमजोर पर्दै नेपाली समाजमा परम्परादेखि रहँदै आइराखेको श्रमको रचनाशिलता गौरव र आत्मस्वाभिमानको दरिलो परम्परालाई मूल्यहीन तुल्याएर नेपाली जनतालाई विदेशीको गुलामी बनाउने कार्य गरिरहेको छ ।
एकातिर छाडा साम्राज्यवाले तथा विकृति पुँजीवादी गीत र संगीतको नेपाली लोकगीत संगीतलाई नराम्ररी प्रभाव पारिरहेको यो बेला अर्कातिर अहिलेसम्म लोकगीत संगीतको जुन खाले लोकप्रियता छ, त्यसलाई देखेर व्यवसायिक फिल्मी गीतहरुलाई लोकगीत र संगीतको लय र शैलीमा ढालेर जनतालाई झुक्याउने प्रयास पनि भइरहेको छ । लोकगीत र संगीतको मौलिक सिर्जनात्मक पक्षहरुलाई पछाडि पारेर केवल वासनात्मक पक्षलाई उचाल्दै उन्मुक्त यौन अभिक्तिका रुपमा लोकगीत संगीतको प्रयोग गरेर विकृति, विसंगति र भ्रमहरुलाई प्रश्रय दिरहेका छन् र लोकगीत तथा संगीतको बारेमा गलत अवधारणाको सिर्जना गरिरहेका छन् । यसले युवा र युवतीहरुको प्राथमिक संवेगात्मक अभिव्यक्ति अथवा यौन उत्कण्ठा वा तत्परतालाई उन्मुक्त र गेयात्मक रुपमा व्यक्त गर्ने नितान्त छाडा गीतर संगीत नै लोकगीत र संगीत हो भन्ने गलत कुरालाई स्थापित गर्ने प्रयास गरिरहेको छ । यसबाट लोकगीत लोकसंगीतको मौलिकपन तथा सक्कलीपन विघटन तथा क्षीण हुँदै जाने र त्यसको स्थानमा छाडा र विकृति आलोकगीत संगीतहरु झाँगिदै मौलाउने जाने स्थितिको सिर्जना भइरहेको छ । वास्तवमा यो लोकगीत संगीत माथिको सुनियोजित आक्रमण हो । यसले जनसाँंकृतिक शब्दलयमा काफी प्रभाव परिरहेको छ ।
लोकगीत र संगीतको लोकप्रियता यसमाथिको आक्रमण सँगसँगै यसलाई बुझ्ने वा ग्रहण गर्ने सवालमा पनि केही गलत धारणाहरुको विकास भइरहेको छ । पुर्खाहरुबाट संरक्षण सम्वर्द्धन गरिएका लोकगीत र संगीतहरु जसका राम्रा र जीवन शक्ति पहलहरु छन्, तिनलाई उपेक्षा गर्ने प्रवृतको विकास भइरहेको छ ।
जसले जनताको विचारलाई स्वीकार गर्ने, समर्थन गर्नु र सुधार गर्नुको सट्टा नराम्ररी छोडेर जनताबाट अलग्गिने काम मात्रै गरिरहेको छ । यो कार्य आफूलाई आधुनिक जमाना यानी २१औँ शताब्दीको चेतनाको बताउँदै लोकगीत र संगीत पुरानो भएको यहाँसम्म कि यसको जमाना नै गइसकेको धारणा राख्नेहरुले गरिरहेको छ । पुरानामा केही छैन भन्दै सतहबाटै नाक चेप्राउने आफूलाई विद्धान र जान्ने बुझ्ने ठान्नेहरु हुन्, जो आयातित विकृति पुँजीवादी गीत संगीतलाई प्रस्रय दिइरहेका र सही दृष्टिकोण बिनाका नकारवादी धारणा राख्नेहरु हुन् । ठिक विपरित लोकगीत र संगीतको नाममा तयार परिएका आलोकगीतहरु जुन केवल सर्जकको व्यक्तिगत मानसिक कुण्ठालाई प्रतिविम्वित गर्ने गीतहरु छन् तिनलाई पनि लोकगीत र संगीतको रुपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नेहरु पनि छ । यो धारणा वास्तवमा गलत दृष्टिकोणको अभिव्यक्ति त हुँदै हो, यसको साथै यो धारणा दुःखद खतरा पूर्ण र डरलाग्दो धारणा हो ।
लोकगीत र संगीत माथिको गलत धारणाको कुरा गरिरहँदा केही मान्छेहरुको झनै गम्भीर षड्यन्त्र पूर्ण र डरलाग्दो धारणा छ। जसलाई निकै सचेततापूर्वक गम्भीरताका साथ लिन जरुरी छ । जान वा अन्जान रुपमा आफ्ना धारणा राख्ने ती मान्छेहरु गीत र संगीत सबैको साझा हुन्छ । यो वर्गीय हुँदैन, यो केवल मान्छेहरुलाई मनोरञ्जन दिलाउने एउटा साधन मात्र हो भन्दछन् । उनीहरु भन्छन्, ‘गीत र संगीतलाई राजनीतिक गतिविधिबाट पर राख्न पर्छ यसको सम्बन्ध राजनीतिसँग हुनु हुँदैन ।’ यो खाले धारणाले जनताले आफ्नो लामो अनुभव र मेहनतले सिर्जना गरेको चिज वा वस्तुलाई मानव इतिहासमा त्यसको भूमिका नै नरहेको देखाउने कार्यको पुष्टि गर्दछ । जनताको लागि र सचेत नागरिकको लागि यो स्वीकार्य छैन । मानव विकासको इतिहासमा श्रम र नियमित संघर्षको ऐतिहासिक कालक्रममा सिर्जना भएर मानव समुदायको जीवन पद्धतिलाई एकपछि अर्को प्रभावित गर्दै आएको वस्तु महत्वहीन नहुने कुरा एवं सर्वस्वीकार्य हो । जब हामी यो स्वीकार गर्छौं गीत र संगीत केवल मनोञ्जनको साधन मात्र हुन सक्तैन ।
लोकगीत र संगीतमा जनताले आफ्ना वेदना, दुःख र खुसीहरू प्रकट गर्दछन्, यो हामी स्वीकार गर्छौं भने यो कसरी निवर्गीय हुन सक्तछ ? जब कि शोषित र उत्पीडित जनताको दुःख, कष्ट, पसिना र आँशुबाट नै शोषक वर्गका सुख, आनन्द, मस्ती र हाँसोहरु रंगिएका हुन्छन् । यसरी नै समाज वर्गीय रहेको कुरा स्वीकार गर्छौं भने वर्गीय समाज भित्रै महत्वपूर्ण स्थान ओगटेर लोक संस्कृति अन्तर्गत लोक साहित्यको लोकगीत र संगीत कसरी राजनीतिक भन्दा बाहिर हुन सक्छ ? किनकी यो समाजमा भएका कुनै पनि क्रियाकलापसँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै न कुनै रुपमा राजनीतिको सम्बन्ध गाँसिएकै हुन्छ । शोषक वर्ग आफै वा उनका चाकरीदारहरुबाट या वास्तविक इतिहास नबुझेकाहरुद्वारा प्रकट गरिने यी धारणाहरु आफैमा बल, धुर्त्याइँपूर्ण र षड्यन्त्रपूर्ण छन् । यो सबैको बेलैमा चिरफार गर्दै अघि बढ्नु पर्दछ ।
लोकगीत र संगीत : जनवादी गीत–संगीतमा रुपान्तरणको आवश्यकता :
साधारण अर्थमा लोक गीत र संगीत र जनवादी गीत संगीतको एउटा अर्थ जनताको गीत संगीत भन्ने बुझिए पनि लोकगीत संगीत र जनवादी गीत संगीतले भिन्न–भिन्न अर्थ राख्दछन् । लोकगीत र संगीत स्वरतःफूर्तवादी, सामुहिक परम्परा बोकेको हुन्छ । यस परम्परा अन्तर्गत मान्छेको दुःख, पीडा, हर्ष, रोदन, आशा निराशा, जस्ता मानवीय भावना, सम्वेदना र अनुभतीका विभिन्न प्रश्नहरु अभिव्यक्त भएका हुन्छन् भने जनवादी गीत संगीतको पछाडि एउटा निश्चित मूल्य, श्रम, चेतना, एउटा सुसंगत योजनावद्ध र संगठित परम्परा रहेको हुन्छ र यस परम्पराको पछाडि एउटा निश्चित सैद्धान्तिक मूल्य पनि क्रियाशिल हुन्छ । यस परम्परा अन्तरगत समाजमा विद्यमान शोषण, अन्याय, अत्याचार, थिचोमिचो, अन्धविस्वास कुरीति आदिको विरोध र एउटा सुसंस्कृत एवम सभ्य समाजका निर्माण गर्ने कुरामा रचित गीतहरु पर्दछन् ।
आफ्ना कतिपय निजि मुल्य मान्यता परम्पराहरुका वावजुद पनि एक अर्काबिच गाँसिएर रहेका यो दुई मध्ये लोकगीत संगीतलाई जनवादी गीत संगीतमा रुपान्तरणको निकै आवश्यकता बढेर गएको छ । पश्चगामी मृत संस्कृतिकका बाहेक तथा जनविरोधी बेग्लै आफ्ना विचार र जीवन मुल्यलाई जनताको भाषा शैलीमा टप्पक्कै टिपेर कलात्मक रुपमा प्रस्तुत गर्ने र जनतालाई झुक्याउने खेल खेल्दै आएको र छाडा एवम विकृत पुँजिवादी संस्कृतिले लोकगीत संगीत माथि तीव्र हस्तक्षेप गरिरहेको वर्तमान सन्दर्भमा रुपान्तरण यो आवश्यकता टड्कारो रुपमा उपस्थित छ । यो कुरा निश्चित हो कि मानव समुदायले आफ्नो उत्पति कालदेखि नै आफ्ना आवश्यकताहरुको परिपूर्तीको लागि विविध खाले गतिविधि वस्तुहरुको निर्माण गर्दै आएको छ ।
उसका आवश्यकताहरु युगहरु फेरिँदै जानेक्रममा यिनी आफ्नो विकास क्रममा बदलिएको परिस्थिति अनुरुप नयाँ र भिन्न उचाइबाट फेरिँदै आएकाबाट बदलिँदै एका छन् र उसले आफना गतिविधि तथा सिर्जनाहरुमा बदलिएको आवश्यकता र हित अनुरुप विकास रुपान्तरण समृद्धिकरण गर्दै आएको छ । यसरी हेर्दा गीत तथा संगीतहरु मानव समुदायको तात्कालिक सामाजिक आर्थिक र सांस्कृतिक आवश्यकताका उपज हुन् । यो जनताको आवश्यकता र हित अनुकूल विकास परिमार्जन रुपान्तरण र समृद्धिकरण हुँदै आएका छन् । त्यसकारण लोकगीत र संगीत श्रमजीवी जनताले आफ्नै अनुभव र परिश्रमद्वारा आफ्नो हित अनुकूल हुर्काउन संघर्ष गर्दै आएको र तिनै लोकगीत संगीतका सर्जक श्रमजीवि जनता तमाम खाले शोषण उत्पीडनको जाँतोमुनि पिसिइरहेको, त्यसका विरुद्ध विद्रोह बोलि रहेको र उन्मुक्त धर्ती र आकाशक बन्न गइरहेको वर्तमान परिप्रेक्षमा त्यही जनताको विद्रोह मुक्ति, प्रगति र परिवर्तनका निम्ति लेखिने र रचिने जनवादी गति संगीतहरुमा परम्परागत किसिमका लोकगीत–संगीतका भाषा शैली र लयको प्रयोग गरिनु आवश्यक छ ।
लोकगीतकै भाषाशैली र प्रभावकारिता टिपेर जनवादी गीतहरु रच्ने र जनताको आजको आर्थिक राजनीतिक सामाजिक साँस्कृतिक अवस्था फेर्न सामाजिक न्यायपूर्ण सुव्यवस्थाको जनवादी स्थिति निर्माण गर्न जनतालाई जागरुक र क्रियाशिल बनाउने काममा लोकगीत र संगीतलाई युगान्तकारी गीत संगीतमा बदल्नु वास्तवमा उपयोगी र वान्छनीय कुरा हो । लोक साहित्य र लोक कलाले धनि हाम्रो देश नेपालका विविध जातिका भाषाभाषीका लोकगीत तथा संगीतहरुलाई संरक्षण र सम्बद्र्धन गर्ने दायित्वलाई नेपालको स्थितिप्रति सचेत जनताले बुझ्दै आइरहेको सन्दर्भमा पल्टनका पल्टनको रुपमा सक्रियतापूर्वक क्रियाशील गीतकार, गायककार र संगीतकारहरुले लोकगीत र संगीतलाई लोकगीत हित र प्रगतिसँग जोडेर सचेतनाका साथ मुक्ति गीतका रुपमा यानी जनवादी गीतमा रुपान्तरण गर्दै गाउँदै जानु पर्दछ । विगत २० को दशकदेखि हुँदै आएको रुपान्तरणको प्रयासलाई वर्तमानमा अझ तिब्रता दिनु पर्दछ ।
लोकगीत र संगीतलाई जनवादी गीत संगीतमा रुपान्तरण गर्ने कुरा गर्दा एउटा स्वभाविक तर महत्वपूर्ण कुरा उठ्छ, रुपान्तरणको यो काम सहज र सरल छैन । निश्चित नै जनताको प्रचलित सहज र सरल शब्दावलीको प्रयोग स्वाभाविक भाव प्रभहित गर्नु सजिलो काम हुँदै होइन । राजनीतिक र दर्शकका कठिन पारिभाषिक शब्दावलीलाई प्रयोग नगरी गाउँ बस्तीका भाषामा भावको सहज अभिव्यक्ति गर्न लेखक कलाकारहरुले लगातार र कठोर परिश्रम गर्नु पर्ने हुन्छ । स्तरीय चिन्तनलाई सरलीकरण गर्न भाषा र भाव अभिव्यक्तिका क्षेत्रमा गरिने यो परिश्रम एक किसिमको कठोर तपस्या नै हो भन्नु पर्छ । वर्तमानमा हाम्रा कतिपय रचनाहरुमा भाषिक तथा विम्वात्मक त्रुटीहरु हुन् । अथवा सर्वसाधारण जनताले बुझ्न नसक्ने शब्दहरु र विम्बहरुको प्रयोगले गीतहरु विचारले उच्चकोटीका भएर पनि जनतालाई बुझ्न गाह्रो भइरहेको कुराप्रति विशेष सचेत हुनै पर्दछ ।
यस खाले त्रुटीहरुलाई सच्याउँदै र परिमजित गर्दै जानु पर्ने हुन्छ । लोकगीत र संगीत भनेको असल तथा जीवन उपयोगी पक्षलाई संरक्षण सम्बद्र्धन एवम रुपान्तरणको दायित्वलाई बुझ्दै र बहन गर्दै क्रमसः पुराना पिढीका गोकुल जोशी, रामेश, रायन, मणि थापा, जीवन शर्मा र खुशीराम पाख्रिनसम्मका सर्जकहरुले ठूलो योगदान दिएका छन्, जसको सम्मान गर्नै पर्छ । यसरी नै नयाँ पुस्तामा माइला लामा, कुलमान बुढामगर, प्रज्वल, मोहित श्रेष्ठ र झंकार बुढामगरसम्मका परिचित र नयाँ प्रतिभाहरुलाई अझ प्रोत्साहन दिनै पर्छ । किन कि यिनीहरुले परम्परागत लोकगीत संगीतलाई युगान्तकारी क्रान्ति गीतमा रुपान्तरण गरेर गाउँदै आएका छन् ।
यतिबेला हामी के कुरा निसंकोच र निसन्देह भन्न सक्छौं भने जनताको आफ्नो समय र जीवनका गम्भीर समस्याहरुसित सरोकार राख्ने गीत संगीत हुनुका नाताले लोकगीत र संगीत स्थायी प्रभावकारी र धेरैले कण्ठ गर्ने र गुन्गुनाउन मन पराइने गुणले विभुषित होऊन्, ठिक त्यसरी नै लोक भाषा शैलीमा रचिएका र संगीत भरिएका जनवादी गीत संगीतहरु पनि लोक मष्तिष्क स्पर्शी, धारिलो र कलात्मक हतियारको रुपमा स्थापित हुनु स्वाभाविक छ । सिर्जना व्यक्तिगत रुपमा भएको देखिए पनि क.माओको शब्दमा ‘जनताबाट लिएर जनतालाई नै दिने’ नीतिमा आधारित त्यस्ता गीत संगीतहरु जनताको सामूहिक अभिव्यक्तिको रुपमा अनिवार्य हुन्छन् र जनताका मुटुको ढुकढुकी बन्न सफल हुन्छन् ।
निचोड :
आजसम्म मानवजातिले विचार कर्म र आचरणको क्षेत्रमा जे जति उपलब्धि आर्जन गरेको छ, त्यही आर्जित श्रेष्ठतम उपलब्धि नै मानव संस्कृति हो । यही संस्कृति भित्रको लोकसाहित्य र लोककला अन्तर्गतको लोकगीत र संगीत जो मानव समुदायकै जीवन पद्धती बनेको छ । यो वास्तवमा जनतामा जन्मे र हुर्केको जनताको साँस्कृतिक विरासत हो । यदि हामी विविधतामा पनि एक भई आफूलाई स्वाभिमानी नेपाली भई विश्वमा छुट्टै परिचान दिन सक्ने गौरव प्राप्त गर्न चाहन्छौं भने हामीले हाम्रा लोक संस्कृति अथवा हाम्रा लोकगीत र संगीतलाई संरक्षण गर्नुका साथै रुपान्तरित परिष्कृत र उन्नत बनाउँदै लैजानु आवश्यक छ ।
लोकगीत संगीत र जनवादी गीत संगीत एउटा श्रृंखलाका कडी हुन् र पहिलोको अभावमा दोस्रो हुनै सक्तैन । प्रतिगामी गीत संगीतहरु लोक शैली भावना र रुचीबाट धेरै कटेका छन् । विशाल ग्रामिण क्षेत्रहरु जहाँ नयाँ र उन्नन संस्कृतिको अधारशिला निर्माण भइरहेको अवस्था र जनताका ज्यानी दुश्मनहरुले लोक भाषा र शैलीमा जनता झुक्याउने खेल खेलिरहेको सन्दर्भमा लोकका भावना र रुचि अनुसार परिमार्जन गर्दै क्रान्तिको अवस्यक्ता अनुरुप नयाँ नयाँ उचाईबाट जनतालाई गोलबन्द गर्न र एउटा निश्चित दिशामा गतिमान बनाउने काममा रुपान्तरीत जनवादी गीत संगीतहरु प्रभावकारी साधन नै कुरामा द्विविधा छैन । बरु आफैमा यो अक्करे भिरको बाटो भए पनि खटिएका लेखक कलाकारदेखि हजारौँ नयाँ प्रतिभाहरुले यतातिरको यात्रालाई तेज बनाउन होस्टेमा हैंसेको समवेत स्वरका साथ गतिलो गोडा चाल्ने हो कि ?
२०६१ भाद्र २१ ।