स्वादे जिभ्रो हाम्रो दसैँ खल्लो नभएर मिठो हुनु पर्ने हो, तर भएन यस्तो । जसले जे भने पनि दसैँ खल्लै भयो । एक त बोका, खसी विदेशबाटै आए प्रयोगको झण्डै ७० प्रतिशत । माछा, मासुमा यहाँ आत्मनिर्भर भनियो । कृषि प्रधान देशमा वर्षेनी चामल अर्बाैं अर्बको विदेशबाटै आए झैँ, महँगा गाडी चढ्दै फलफूल पनि विदेशबाटै आएकाले खाद्यान्न मात्रै होइन, सबै वस्तुहरु छोइसक्नु भएन, हुने खानेलाई दसैँ मिठो भयो होला तर पनि हुँदा खानेलाई दसैँ बेस्वाद मात्रै भएन रिंगटा लाग्ने नै भयो, श्रीहरुका शुभकामनाले भरिएन पेट ।
जमरा राखे कसैले लाउन भ्याएनन्, लाए कसैले सेलाउन भ्याएनन्, सिँगै खसी काटेर जिभ्रो रसाउने इच्छा पूरा भएन, खसी मार हाने, जुठो पर्यो, कालले यति धेरैलाई उडायो, मान्छे यति धेरै मरे कि भ्याइ नभ्याइ नै भयो सागर जान । आफन्तको विदाइको छट्पटी हुँदा मरेका खसी बोका कसैले फ्रिजतिर राखे, कसैले फाले, फाल्न पनि सजिलो थिएन, खसी, बोकाको मूल्य सम्झँदा सागर गए जतिकै आँसु झर्ने थियो । दैव लिला कालले न दसैँ भन्दो रहेछ न तिहार ।
आशा गरौँ दसैँ खल्लो भए पनि तिहार गुलियै हुनु पर्ने हो । इष्टमित्र, आफन्त जम्मा नभई महान चाड पूरा नहुने, तिनमा जुठो, सूतक परिदिँदा नुन नहालेको बेस्वादको भइ दिने चाड, साँच्चै अघिपछिको भन्दा यसपालिको दसैँ बिछट्टै नरमाइलो भयो । नरमाइलो हुनुमा धेरै कारण थिए, कोरोना त छँदै थियो, यो प्राकृतिक थियो होला तर अप्राकृतिक, मानव निर्मित घटना र दूर्घटनाले यसपालिको दसौलाई बढी गिजल्योे । तुइन काटिएर जयसिंह धामी खोलामा खसे, दसैँमा लिङ्गे पिङ हाल्दा हाल्दै पिङैबाट खसेर एक जनाले मकवारपुरबाट विदा लिए, यो भयो असावधानी । असावधानीका दृष्टान्तहरु देशैभरि धेरै रहे ।
पहिले त दसैँको पूर्व सन्ध्यामै मानव निर्मित गोली चलिदियो रुपन्देहीमा, हुकुम्बासी बा सुकुकम्बासी के हुन् थाहा भएन तर मोतीपुर औद्योगिक क्षेत्रमा ४ जनाले एकै पटक विदा लिए । प्रहरी, नागरिक सामुदयिक अभियान, सत्य, सेवा, सुरक्षणको नारा खोक्रो भयो । लोकतन्त्रमा तातो गोली, अन्य विकल्प रहेनछ । फूलपाती नभित्याउँदै भएको यो घटना सेलाएको थिएन बीचका ३ दिनमा ठूला दूर्घटनाहरु घटे, सवारी दुर्घटनामा सप्तरीमा २ जनाले पानी पिउन पनि भ्याएनन् भने मुगुको कहालीलाग्दो बस दूर्घटनामा एकै पटक ३२ जना सोत्तर भए, मानौँ मानवको कुनै मूल्य नै रहेनछ, बोका, खसीको मूल्य महँगो भयौं हामीले तर तीभन्दा सस्ता देखिए मान्छेहरु, झण्डै सँगसँगै पोखरामा जीप दुर्घटना हुँदा ८ जना ठहरै भए ।
यता दसैँले चरम उत्कर्ष लिँदै थियो महानवमीकै दिन बुटवल तम्घास गुल्मी सडकमा जीप दुर्घटनामा ३ जनाले संसारबाट विदा लिए । विजययादशमीको टिका प्रसादको अवसर के हुँदै थियो ताप्लेजुङमा जीप दुर्घटना, एकादसी के चल्दै थियो काभ्रेमा माइक्रो बस दुर्घटना भइ दियो १८ जना घाइते, सुर्खेतमा अर्को बस दुर्घटना एक जना स्वाहा भए । टिकाको दोस्रो दिन बारामा ट्रक दुर्घटना २ जनाले विदा लिए संसारबाट ।
तेस्रो, चौथो र पूर्णिमा भनौँ यो पंक्ति तयार गर्दा सम्म दुर्घटना र मृत्यु नभएका दिन नै भएनन् । नवरात्रीमै भूकम्पको २ मिस कल आएको थियो भने टिकापछि आएको वर्षाले पश्चिमक्षेत्रको बालीलाई त सलक्कै निलिदियो । साँच्चै दसैँमा बोका, खसीलाई मात्र दसा भएन अमूल्य मानव जीवन नफर्कने गरी विदा भयो । यो असावधानी कसको ? काठमाडौँको पिच सडकमा बसेर प्रहरीले सवारी साधनको लाइसेन्स, मादक पदार्थको चेक जाँच र कागजपत्रको बेहिसाव चेक गरिरह्यो तर उपत्यका बाहिर कस्ता गाडी, कसरी चले हेर्न भ्याएन ।
सडकको गुणस्तमा चोरी गर्ने ठेकेदार, आँखा चिम्लिएर बिल पास गर्ने प्राविधिक, कमिसन लुँड्याउने नेता, थोत्रा र पत्रु भएका गाडी सडकमा उतार्ने गाडी धनी, शिकारु चालक, अपरिपक्व र अझ पाएसम्म खलाँसीलाई चलाउन दिने चालकको कुकर्मले गर्दा मानव जीवन समाप्त भएकोमा शंका छैन । कर्णालीमा जब गाडी गयो, यस्ता ठूला दुर्घटना वर्षेनी भएको छ, हाम्रो भूगोल त्यस्तै छ । अचेल माटो छोप्ने विकास र वडा अध्यक्षका डोजरहरुले नेपालको अधिकांस भूगोललाई क्षतविक्षत पारेको छ । जति बेला यो पंक्तिकार जुम्ला गएको थियो ।
घोडा लडेर मर्यो भाग्यवश आफू बाँचियो, सबै खाद्यान्न, नुन आदि या त कुकुरले, खच्चरले, भेडा, घोडाले सामान ढुवानी गर्थे, मान्छे मरेको खबर केही मात्र आउँथ्यो त्यताको, केही घाँस काट्न जाँदा पखेराबाट चिप्लिएर मरेका, एकाध अन्य घटनाहरु मात्र । तर विगत केही वर्ष यतादेखि दुर्गमक्षेत्रमा गाडी गुडे । दुर्घटनाबाट मर्नेको संख्या कहालीलाग्दो छ । ठूला सवारी साधनबाट मात्र होइन ट्रयाक्टर दुर्घटनाबाट पनि मान्छे धेरै मरेका छन्, भनौँ दूर्गमक्षेत्रमा ढुंगाको थुप्रो बढी छ, त्यसो त सुगममै पनि दूर्घटना खास गरी सवारी साधनको फेहरिस्त तयार गरौँ भने कति छ कति ।
एकछिन् विदेशतिर हेरौँ ।
संसारमा नवोदित देशहरुले पनि उपल्लो विकास गरिसकेका छन् । गगनचुम्बी महल र सफा सडक तिनको विशेषता हो भने जमिन मुनि तिनले पानी जहाज कुदाएका छन् । जमिनमा एमआरटी अर्थात् मास र्यापिड ट्रान्सपोर्टेशन, जमिन माथि रेल हुइँक्याएका छन् र आकाशमा त हवाइजहाज हुँइकिइरहन्छन् । एकाध बाहेक सिष्टमले काम गर्छ विरलै दुर्घटनाहरु । टाढा नजाउँ हाम्रो इलाम पशुपतिनगर पारिको दार्जिलिङ जहाँको भूगोल हाम्रो भन्दा भिरालो छ, सडक नै ढल्केर बनेको छ । भिराला सडक नचिप्लने गरी बनाइएको छ प्रायः साना रेलहरु यस्तै साना बाटामा गुडिरहन्छन् ।
भनौँ यातायातको असुविधा छैन भन्नु पर्छ । विकसित देशका शहरहरु हेर्दा झण्डै स्वर्ग जस्तो लाग्छ, सडकका धाराहरुबाट पानी पिउन मिल्छ । हामीकहाँ मेलम्ची उठाउन ३० वर्ष लाग्यो, सबैजसोलाई यो दुहुनो गाइ भयो, त्यो पनि उद्घाटबाटै हरायो । देशमा उद्योहरु बेचियो । राजनैतिक उद्योग विदेशमा हुर्कियो, देशमा परिवर्तनको तानाबाना विदेशमै बुनियो, युवाहरुलाई खाडीमा खेदियो, यहाँ सपनाहरु बाँडियो, सपना पूरा हुने समय आएपछि सिष्टम फेर्ने गरियो, विगतदेखि भएको दसा यही हो । देशलाई लुछे सबैले मातृभूभि तड्पिएको छ अहिले, अयातित सरसामग्री, राजनैतिक विचारधारा, संस्कृति, धर्म सबै आयातित भयो ।
जन्मदेखि मृत्युसम्मको करले नेपालीहरु थला परेका छन् । ४६ साल अघिसम्म रु ५० तिरो तिर्न नपर्ने जग्गामा मनपरि कर असुली हजारौँ होइन लाखौँ पुर्याइएको छ । विकासका नाममा अनावश्यक र भद्धा संरचनाहरु तयार गरेर दलको भर्तिकेन्द्र बनाइएको छ । झण्डै साँढे आठ हजार महाराजाहरु छन्, तिनको पालन पोषण गर्न सिंगो नेपालीले सकेको छैन । तिनको उपचार विदेशमा गराउनु पर्ने लूटको धनमा फुपूको श्राद्ध भइरहेको छ । छिमेकमा २३ करोड जनसंख्या भएको एउटा प्रान्तमा एक प्रदेश छ, यहाँ ३ करोड जनतामाथि राज गर्न ७ प्रदेश । सँधैजसो सरकार बनाउने र ढाल्ने काम भइरहन्छ र मानौँ देशमा अरु काम केही छैन । देशमा राजाहरु नै ८, सभामुख ८, उपसभामुख ८, मन्त्रीहरु १२ दर्जन, सांसदहरु झण्डै ९००, असुलेको कर दलको प्रचार प्रसारमा, आलिसान महल, महंगा गाडी, कार्पेट, शौचालयमा सकाइन्छ ।
भाषण भने वेदवेदान्त भन्दा कम हुन्न । वर्षको २ पटक संसद कोमामा जाने, जनताको सार्वभौमिकता भनिन्छ, भोट हाल्दा सूर्य हुन्छ, मौलिक हक । केही वर्षपछि सूर्य बदलिएर कलम भइदिन्छ, नागरिकको स्वीकृति बिना नै । अचम्म त के छ भने सूर्य एकैचोटि रुखमुनि आइदिन्छ, रुख माथि कहिले हँसिया हथौडा झुण्डिन्छ कहिले कलम, कहिले गाई । कसको आदर्श र एजेण्डा के हो अत्तो पत्तै छैन । स्वदेशी एजेण्डा भन्दा विदेशी एजेण्डा धेरै हुन्छ । विदेशीको इशारामा चल्दा, विदेशमै अनेकानेक सम्झौता गराइ स्वदेशीपन बिर्सियो । आन्दोलनको अभिष्ट एउटा थियो परिणाम अर्कै आएको छ, किन हजारौँले यहाँ रगत बगाए त्यसको जवाफ छैन ।
आन्दोलनमा धर्म निरपेक्षको एजेण्डा थिएन, न संघियता नै । राजसंस्था निरंकुश भनियो, संविधानभित्र राख्न सकिन्थ्यो, विकेन्द्रीकरणको साँच्चै प्रयोग गरेर स्थानीय तहमा अधिकार प्रत्योयोजन गरेर सबैक्षेत्रलाई एक साथ विकास गर्न सकिन्थ्यो, बीचका बोधार्थ संस्थाहरुको काम भएन समिक्षा गर्न ढिलो भइसकेको छ, अहिले । अब झुठको आश्वासन दिएर भएन, नेपालीलाई विदेशी ऋणको बोझ, बढी भयो । मन्त्री भएको तेस्रो दिन राजीनामा, न्ययालय पनि चोखो बस्न नसकेको, ९० दिन सम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसक्ने, यो अचम्मको खेल खेलियो देशमा ।
नेपालीहरु अहिले सपनाबाट ब्यूँझिए जस्तो भएका छन् । एमसीसीको रडाको गर्नु भन्दा राजनैतिक दलहरुको खर्च घटाउनु वेश हुन्छ । चुनाब महँगो भएकाले बजार महँगियो र जनताको ओठ मुख सुक्यो, रोजगारी छैन, देशमा उत्पादन छैन, मेरो दल १ नं को हुन्छ भनियो तर मेरो देश १ नं को हुन्छ भन्ने आँट कसैले गरेन । भागबण्डा र स्वार्थका कारण देश दल दलमा फसेको छ दसैँको खसी काटेर बाँडे जस्तो भएको छ देश ।
देशको कहालिलाग्दो अवस्था बताइसाध्य छैन, जसो तसो दसैँ गयो नुन नहालेको सागसब्जी भएर, तिहार त सेल रोटीले गुलियै होस् भन्ने कामना गरौँ । राजनैतिक दल नै बनाउने हो भने स्वदेशी दल बनाऔँ, कहिले बाराणसीबाट, कहिले कोलकत्ताबाट ल्याएर भएन । वीपीको आदर्श किन छोडेको काँग्रेसले ? पुष्पालाल, मदन भण्डारी, मनमोहनहरुको आदर्श किन छोडेको कम्युनिष्टले ? यो देशको विगतलाई बिर्सेर आज सामाजिक संरचना किन ध्वस्त पारेको ? सबै मिलेर बसेको देशमा विखण्डनको कालो बादल कसले ल्याएको ? देश भक्ति गर्ने बेला कहिलेलाई छुट्याएको ? झुक्याएर कति दिन चोखो हुन खोजेको ?
र अन्त्यमा एउटा भनाइ : न खेल्नु जूवा र तास धनको नाश जीवनको बनिबास : दसैँ, तिहार र छठ समेतको शुभ कामना सबैलाई ।