• मंसिर १३ २०८१, बिहीबार

भारतद्वारा जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

कार्तिक ५ २०७८, शुक्रबार

काठमाडौं । भारतले जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण गरेको छ ।

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज (शुक्रबार)नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्रालगायतको सहभागिता रहेको कार्यक्रममा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो ।

भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैँयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो ।

यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो । जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ।