काठमाडौँ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै नयाँ सामाजिक संजाल सार्वजनिक गर्ने घोषणा गरेका छन्। आफूले निर्माण गर्ने सो सामाजिक संजालको नाम ‘ट्रुथ सोशल’ राख्ने बताएका ट्रम्पले अहिलेका सामाजिक संजालका संचालकहरुले विद्रोही आवाजलाई स्थान उपलब्ध नगराएको आरोप लगाएका छन्।
‘ट्रुथ सोशल’ ठुला प्रविधी कम्पनीहरुको अत्याचार विरुद्ध उभिने उनले बताएका छन। उनले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रूप ‘टीएमटीजी’ले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने बताएको छ।
पूर्व राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरुको साथमा अमेरिकी संसद भवन कब्जा गर्न खोजेको घटनापछि उनलाई फेसबुक र ट्विटर लगायतका सामाजिक संजालहरुले निलम्बन गरेका थिए। त्यसरी निलम्बनमा परेपछि उनका सल्लाहकारले आफ्नो छुट्टै वैकल्पिक सामाजिक संजाल सुरु गर्ने संकेत गरेका थिए।
टीएमटीजीका अनुसार ‘ट्रूथ सोशल’ आगामी महिना केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ अनि त्यसपछि सन् २०२२ को पहिलो तीन महिनामा अमेरिकामा सर्वसाधारणको लागि उपलब्ध हुनेछ। ट्रम्पले लेखेका छन्, ‘सबैले मलाई सोध्छन्, किन कोही ठूलो प्रविधि कम्पनीविरुद्ध उठ्दैनन्? हामी चाँडै नै आउनेछौँ।’
टीएमटीजीका अनुसार उनिहरुले संचालन गर्ने सो संजालमा भिडियो सेवामा समाचार, पोडकाष्ट र अन्य सुविधा उपलब्ध हुनेछ। ट्रम्पको घोषणा उनको पूर्वसहयोगी जेसन मिलरले गेटर नामक अर्को सामाजिक सञ्जाल कम्पनी सुरु गरेको महिनापछि आएको हो।