• मंसिर १३ २०८१, बिहीबार

बैतडीको ढुंगाड बस्तीमा सेतीको बाढी पस्यो

कार्तिक २ २०७८, मंगलवार

बैतडी। बैतडीको सिगास गाउँपालिका-५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेको छ । बस्तीको दायाँबायाँबाट बाढी पसेर टापु बनाएको छ ।

१०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको हो। राति धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भएका छन् भने करिब ६० जना जति नदीले बनाएको टापुमा फसेका छन्।

उद्वारका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको र टापुमा फसेकाहरू अहिलेसम्म सुरक्षित रहेको वडाध्यक्ष रामबहादुर धामीले बताएका छन्। तर खतरामा भने रहेको उनको भनाइ छ ।
ढुंगाडमा अहिलेसम्म उद्धारका लागि सरकारी टोली पुग्नसकेको छैन । बढीमा फसेकाहरुको उद्धारको लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी भइरहेको छ। तर प्रतिकूल मौसमका कारण हेलिकप्टर उडान हुन नसकेको बताइएको छ।