काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते शनिबार देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले वडा अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
कात्तिक ६ गते बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका ६ हजार ७ सय ४५ वडाहरुमध्ये सबै स्थानमा इन्टरनेटको पहुँच नभएका कारण झण्डै पाँच हजारभन्दा बढी वडाहरुलाई जुममा जोडेर भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। यसैलाई नै औपचारिक उद्घाटन मानिनेछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत असोज १५ देखि १७ गतेसम्म सम्पन्न भएको विधान महाधिवेशनले यो मिति तय गरेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका रहेको छ ।