ताप्लेजुङ। ताप्लेजुङमा जिप दुर्घटना हुँदा अठार जना घाइते भएका छन् । फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित १८ जना घाइते भएका हुन्।
सदरमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप बिहीबार दिउँसो १२ः३० बजेतिर ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राकेश यादवकाअनुसार घाइते हुनेमा बालबालिकासमेत छन् । घाइते सबैको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
गम्भीर घाइतेहरुलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ। क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेकफेल भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।