• मंसिर १३ २०८१, बिहीबार

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीको सन्देश- राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस्

आश्विन २८ २०७८, बिहीबार

काठमाडौँ। मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालीबीचको एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

विजया दशमीको अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै पूर्व प्रधान न्यायाधीश समेत रहेका रेग्मीले सो कामना गरेका हुन्। “सांस्कृतिक रुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमा मनाइँदै आएको महान् पर्व विजया दशमीको सुखद उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु” उनले भनेका छन् ।

संविधान सभाबाट संविधान निर्माण भए पश्चात्को साझा एजेन्डा विकास र समृद्धि भएको बताउँदै उनले कोभिडका कारणले विकास निर्माणको काममा बाधा पुगेको बताएका छन् । “कोरोनाकैबीच राजनीतिले स्थिरतामा अस्थिरता थप्यो र मुलुकको एजेन्डा कता पुग्यो कता” उनले भनेका छन्,“जस्तोसुकै अवस्थामा पनि व्यवस्थापकीय कौशल राज्यव्यवस्थामा देखाउनुपर्ने हुन्छ ।’

उनले जानअपेक्षा अनुसार राजनीतिक स्थायित्व र गतिशीलता हुनुपर्नेमा कताकता रुमल्लिएको जस्तो अवस्था रहेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्।

सामाजिक रुपान्तरण र समृद्धि त्यसै टुप्लुक्क आइपुग्ने चिज नभएको चर्चा गर्दै पूर्व अधयक्ष रेग्मीले विकास निर्माणको काम आकाशबाट खस्ने र भाग्योदय चिट्ठा नभएको बताएका छन्। अहिलेको राजनीतिक अवस्था र संवैधानिक अभ्यासले कामचलाउ प्रकृतिको झल्को दिइरहेको चर्चा गर्दै उनले भनेका छन् “नेपालमा लामो समयदेखि राजनीतिक व्यवस्थापनमै समय बित्यो । हाल पनि राजनीतिमै अल्झी रही अन्य कुरा गौण हुन पुग्दा संविधानतः केही भएर पनि केही भएजस्तो नदेखिनु सुखद पक्ष होइन ।”