• मंसिर १३ २०८१, बिहीबार

नर्वेमा तीर आक्रमण : ५ जनाको मृत्यु, २ घाइते

आश्विन २८ २०७८, बिहीबार

एजेन्सी। नर्वेमा एक व्यक्तिले अन्धाधुन्ध तीर आक्रमण गरी ५ जनाको हत्या गरेका छन् । आक्रमणमा अन्य दुई जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार ती व्यक्तिले बुधबार साँझ राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सबर्गमा अन्धाधुन्ध तीर आक्रमण गरेका थिए। उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्।

ती व्यक्तिले किन आक्रमण गरे भन्ने अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। आक्रमणमा परी मृत्यु भएका व्यक्तिको शव स्थानीय सुपरमार्केटमा भेटिएको थियो।ड्युटीमा नभएका एक जना प्रहरी अधिकारी पनि आक्रमणमा घाइते भएको र उपचार भइरहेको जनाइएको छ।

नर्वेकी प्रधानमन्त्री अर्ना सोल्बर्गले घटना बीभत्स भएको बताएकी छन्। आक्रमणबाट धेरै जना त्रसित भए पनि अहिले अवस्था नियन्त्रणमा आएको उनको भनाइ छ।