काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुगु, कास्की, अछामलगायत विभिन्न स्थानमा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको बताएका छन्। बुधवार एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले दशैँको मुखमा भएको दुर्घटनाको खबरले सबैलाई स्तब्ध बनाएको बताएका हुन्।
‘विजया दशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ। साथै, कास्की, अछामलगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको छ। दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, दुर्घटनामा परी घाइते हुनुभएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’प्रचण्ड द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको नि:शुल्क उपचारका लागि सरकारसँग आग्रहसमेत गरेका छन्।
उनले नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको देखिएको उल्लेख गर्दै घटना न्यूनीकरण गर्न सम्बन्धित निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन आग्रह गरेका छन्।