काठमाडौँ। मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा घाइते भएका ४ सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुको सशस्त्र प्रहरी अस्पताल र नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंमा उपचारका लागि ल्याइएकाहरुमा नेपाल प्रहरीका जवानहरु जयकुमार थारु र गेहराजपुन मगर छन् भने सशस्त्र प्रहरीका साहयक हवल्दार खुशीराम चौधरी र हवल्दार तिलक धामी छन् ।
मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार मोतीपुरमा प्रहरी र औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ४ जनाको मृत्यु हुनुका साथै ४९ सुरक्षाकर्मी र १६ सर्वसाधारण घाइते भएका थिए । औद्योगिक क्षेत्रमा सुरक्षाकर्मी र प्रहरीबीच आइतबार दिउँसो करिब २ घण्टा झडप भएको थियो ।
स्थिति नियन्त्रण बाहिर जान नदिन झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको छ ।